अमेरिकी नाकाबन्दी, UN, resolution, lift, US Embargo, blockade on Cuba, क्युबा
 

यतिबेला क्युबाका सडकमा खाना, औषधी र बिजुलीको माग गर्दै गरेका मानिसहरूको भीड देखेर कतिपय मानिसहरू हतप्रभ भएका हुनसक्छन् । तर विश्वमा अन्य देशका सरकारका विपरीत समाजवादी क्युबाको सरकारले सडकमै उपस्थित भएर आफ्ना जनताको त्यो आवाज मानेको र स्वीकारेको छ ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज केनेल तुरुन्तै सडकमा निस्केका आफ्ना जनताका बिच पुगे र उनीहरूका समस्याका बारेमा विचार विमर्श गरे । क्युबाको कम्युनिस्ट पार्टीले आफ्ना सबै कार्यकर्ताहरूलाई तत्कालै के आह्वान गर्‍यो भने उनीहरू सबैले जनताका कुरा सुनुन् र जनताका यी समस्याका जे-जे कारणहरू छन्, तिनको बारेमा स्पष्ट पारून् ।

यस सम्बन्धमा कुरा गर्दा अमेरिकाले झण्डै ६० वर्षदेखि क्युबामाथि थोपर्दै आएको नाकाबन्दी को चर्चा नगरीकन क्युबामा आज जे कुरा भइराखेको छ त्यसलाई सही अर्थमा बुझ्न सकिँदैन । सर्सरी र सतहीरूपमा बुझे पनि वास्तवमा क्युबाका समस्याहरूको सही तस्वीर आउन सक्तैन । अनि क्युबाली जनताका अहिले देखिएका समस्याहरूलाई पनि सही अर्थमा बुझ्न सकिने छैन । गहिराइपूर्वक केलाउँदा अमेरिकाले क्युबामाथि निरन्तर थोपरेको आर्थिक नाकाबन्दी नै क्युबाली समस्याको जड हो भन्ने कुरा प्रष्ट देख्न र बुझ्न सकिन्छ ।

वास्तवमा क्युबाको कम्युनिस्ट पार्टी र त्यहाँको सरकारले हल्म्स–बर्टन कानुनको धारा – ३ र तत्कालीन ट्रम्प प्रशासनद्वारा २४३ का अतिरिक्त कदम चालेर क्युबामाथिको आर्थिक नाकाबन्दीलाई अझबढी कस्ने विनाशकारी प्रभावका बारेमा चेतावनी पनि दिदै आएको थियो ।

क्युबाका नेता डियाज केनेलले स्मरण गराएका छन् कि “हामी इमानदार छौँ, हामीले आफ्नो मन मस्तिष्क खुल्ला राखेका छौँ, हामी सफा र स्पष्ट छौँ र हामीले सधैँ नै हाम्रा जनताका जटीलता, कठिनाइँ र समस्याहरूका बारेमा बताउँदै आएका पनि छौँ । मलाई सम्झना छ कि झण्डै डेढ वर्षजति पहिला जतिबेला २०१९ को दोस्रो ६ महिना सुरु भइरहेको थियो, त्यतिबेला अमेरिकी ट्रम्प प्रशासनले लागु गर्न थालेका नीतिहरूका कारणले हामी एउटा निकै कठिन संकटतिर बढिरहेका छौँ” ।

ती अमेरिकी नीतिहरूका कारणले ती सबै देश र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाउने अनेक धम्कीहरू पनि दियो जसले क्युबासँग बन्द–व्यापार गर्न चाहन्थे र आर्थिक सम्बन्ध कायम गर्न चाहन्थे । विदेशमा रहिरहेको क्युबालीहरूले पनि जुन रकम स्वेदशमा पठाउन चाहन्थे, त्यसमाथि पनि अमेरिकी प्रतिबन्ध लाग्यो ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

यस क्रममा क्युबाका लागि हवाई उडानहरू पनि कटौती गरियो । यी सबै कदमका अतिरिक्त अमेरिकाले क्युबामाथि ‘आतंकवाद प्रायोजित गर्ने देश’ को कल्की पनि भिराइदियो । क्युबाको मेडिकल बिग्रेडलाई बद्नाम गर्ने एउटा लामो अभियान पनि अमेरिकाले छेडिदियो ।

यसरी अझ सघन तुल्याइएको क्युबामाथिको नाकाबन्दी र विश्वभरि फैलिएको कोरोना महामारीका कारणले समेत क्युबाली अर्थतन्त्रमा बितेको वर्ष ११ प्रतिशतले गिरावट आयो । यस अवस्थामा क्युबाली कम्युनिस्ट पार्टी र त्यहाँको सरकारले खस्कँदो अर्थतन्त्रलाई सही बाटोमा ल्याउन केही कदमहरू पनि चाल्यो । सरकारको त्यस प्रकारको हस्तक्षेपकारी सकारात्मक भूमिकाले गर्दा अर्थतन्त्रमा बिस्तारै बिस्तारै नयाँ रक्त सञ्चार पनि हुन सुरु गर्दै थियो । क्युबा एउटा टापू देश हो । अनि यसका प्राकृतिक संसाधनहरू पनि निकै नै सीमित रहेका छन् । क्युबा वास्तवमा खाद्य पदार्थ तथा तेल आयातमा नराम्रोसँग परनिर्भर रहेको देश हो ।

वर्षौंदेखि क्युबा केवल ऊखु खेती गर्दै आएको देश हो । त्यसैले उसले अन्य तमाम खाद्य पदार्थहरूको आयात नै गर्ने गर्दछ । त्यसमा पनि सोभियत संघको पतनपछि यता क्युबाले आफ्नो कृषिको विविधीकरणको आरम्भ गर्‍यो । अनि हालैका दिनहरूमा त्यसमा पनि खासगरी अमेरिकाको ट्रम्प प्रशासनले ‘हल्म्स बर्टन’ कानुनको धारा – ३ लागु गरिसकेपछि यी प्रयासहरूले अझ तीव्रता पाए । तर समस्या अझै पनि जारी नै रहेको छ ।

क्युबामा पेट्रोलियम उत्पादनहरूको आयात अर्को एउटा प्रमुख चिन्ताको विषय बनिरहेको छ । अमेरिकी नाकाबन्दीका कारण विभिन्न पानीजहाज एजेन्सीहरूले क्युबाका लागि तेल ल्याउन नै मानेनन् । त्यसले गर्दा अर्को ठुलो समस्या खडा हुन पुग्यो । फलत: विद्युत उत्पादनमा ठुलो नकारातमक प्रभाव पर्न गयो । कैयौँ ठाउँहरूमा विद्युत कटौती गर्नुपर्ने स्थिति आयो ।

यस्तो बेलामा जब क्युबामा कोरोना महामारीले प्रवेश गर्न थाल्यो, सरकारले यो समस्यासँग जुध्न जहाँ जहाँ अस्पतालहरू छन्, त्यहाँ त्यहाँ थप विद्युत प्रसार केन्द्रित गर्न थाल्यो र निर्बाध आपूर्ति सुनिश्चित गर्न थाल्यो । त्यसले गर्दा अन्य क्षेत्रमा विद्युत कटौतीको स्थिति बढ्न थाल्यो ।

त्यसरी नै तेलको सीमित उपलब्धताका कारणले क्युबाभित्र परिवहन गतिविधि प्रभावित हुन पुग्यो, जसले गर्दा जनताको आवतजावत पनि सीमित हुन थाल्यो र यसरी जनताका कठिनाइहरू पनि अझ बढ्न थाले ।

विश्वमा जहाँसुकै पनि अमेरिका या अमेरिकी स्वामित्वका कुनै पनि कम्पनीहरूले त्यहाँ बनेका उपकरणहरूका कुनै ससाना पूर्जाहरू नै किन प्रयोग गरेका नहुन्, ती सबैले अमेरिकालाई के वचन दिनुपरेको छ भने उनीहरूले क्युबासँग व्यापार गर्ने छैनन् । डलर र अमेरिकाको अगुवाइमा चल्ने वित्तीय संस्थाहरूको प्रभूत्वका कारणले गर्दा त्यस्ता धेरै कम्पनीहरूले अमेरिकाका सामु घुँटा टेक्न बाध्य हुने गरेका छन् ।

क्युबाको अर्थव्यवस्था अत्याधिक मात्रमा पर्यटनमाथि भर परेको छ । त्यसैले अमेरिकाले हवाई उडान र उड्डयन क्रुज अपरेटरहरूलाई के धम्की दिएको छ भने यदि उनीहरूले क्युबाका लागि उडान भरे भने तिनीमाथि पनि प्रतिबन्ध लगाइने छ । फलत: तिनले आफ्ना उडानहरू सञ्चालन गर्न कटौती गर्नुपर्ने या रोक्न बाध्य हुनुपर्ने स्थिति सिर्जना भएको छ ।

फलत: क्युबामा पर्यटकहरूको आवागमन पनि एकदमै घटेर गएको छ । त्यसले पर्यटनसँग सम्बन्धित व्यावसायीहरू र रोजगारी गर्ने मानिसहरूको आय पनि धेरै नै घटेर गएको छ र पर्यटन उद्योग व्यवसायमा अत्यन्तै प्रतिकूल असर पुगेको छ ।

यी सबै समस्यामाथि थप कोरोना महामारी फैलिन जाँदा विश्वभरि नै माल सामानको आवतजावतमा ठुलो असर पर्न गयो र त्यसको थप मार क्युबाले पनि बेहर्नु परेको हो । आवतजावतको कडा प्रतिबन्धले क्युबा आउने पर्यटहरूको संख्यामा ठुलो कमी आयो नै । माल सामान ढुवानी गर्ने परिबहनमा पनि ठुलो कमी आयो, जुन महामारी फैलिनुभन्दा पहिलादेखि नै धेरै सीमित मात्रामा चलिरहेका थिए र कतिपय त्यस्ता परिबहनहरू क्युबामा प्रतिबन्धको पर्बाह नगरीकन चलिरहेका थिए ।

यसरी अमेरिकी प्रतिबन्ध र कोरोना महामारीको चपेटामा परेर क्युबाले आज ठुलो कठिनाइको सामना गर्नुपरिहेको छ । जसले गर्दा औषधी, खोपहरू र चिकित्सा उपकरणहरूको उत्पादनको क्युबाको क्षमतामा ठुलो नकारात्मक प्रभाव पर्न गएको छ ।

औषधी उत्पादनका लागि कच्चा मालको कमी हुन गयो । त्यसले गर्दा झण्डै झण्डै २ अर्ब डलर क्युबालाई प्राप्त हुने रकम पनि रोकियो । जुन चिकित्सा उपकरण आपूर्ति तथा अन्य आवश्यक उपकरण आयातका लागि जरुरी थियो । जुन चिकित्सा सामाग्री र उपकरणहरू गम्भीर बिमारीहरूको उपचारका लागि एकदमै आवश्यक मानवीय कुरा थिए । उदाहरणकै रूपमा भन्ने हो भने क्युबामा भेण्टिलेटरको आयातमा पनि रोक लगाइएको थियो, छ ।

यी सबै बिघ्नबाधा र कठिनाइहरू हुँदाहुदै पनि जतिबेला कोरोना महामारी फैलियो, त्यतिबेला विभिन्न देशहरूका लागि आफ्नो देशबाट चिकित्साकर्मीहरू सेवा गर्ने मनसुवा देखायो । ल्याटिन अमेरिकी र अफ्रिकी देशहरूको त कुरै छौडौँ, इटाली लगायत कैयौँ युरोपेली देशहरूसमेत क्युबाली चिकित्साकर्मीहरूको सेवाबाट लाभान्वित हुन पाए ।

जतिबेला कोरोना भाइरस संक्रमित भएका बिमारीहरू रहेको एउटा क्रुज लाइनर जाहाजका लागि अमेरिकाले आफ्नो बन्दरगाहहरू बन्द गरेको थियो, त्यतिबेला क्युबा नै त्यस्तो देश थियो जसले त्यस क्रुज लाइनरलाई स्वागत गरेको थियो । अनि जतिबेला अमेरिका आधारित औषधी कम्पनीहरू पेटेण्ट अधिकारहरूमाथि जोड दिँदै थिए, त्यतिबेला पनि क्युबा नै त्यस्तो देश थियो, जसले विश्वभरि नै आवश्यक परेका बिरामीहरूलाई खोप आपूर्ति गर्ने घोषण गरेको थियो ।

अनि विश्वका विभिन्न देशहरूमा व्यापक जनसमुदायका तप्कामा क्युबाको यो मानवीय सेवा गर्ने प्रतिबद्धताप्रति सम्मान र प्रशंसा पनि गरिएको थियो । त्यति मात्रै होइन, कतिपयले त क्युबालाई यो मानवीय सेवाको तत्परता र सहयोगका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने प्रस्ताव समेत गरेका थिए ।

तर क्युबालाई मद्दत गर्नुका साटो अमेरिकाले ती विभिन्न देशहरूलाई धम्की दियो, जो क्युबाका चिकित्साकर्मीहरूबाट लाभान्वित भइरहेका थिए । वास्तवमा अमेरिकाले जानी बुझिकन कुत्सित प्रचार गरेको थियो र ती देशहरूलाई ती खोपहरू विकसित गर्ने दौडमा सामेल र गरिब तथा पिछडिएका देशका जनसमुदायसँग उनीहरु संलग्न नहुन् । त्यसैले गर्दा क्युबाको सरकारले आफ्ना सबै वैज्ञानिक चिकित्सकहरूलाई के आह्वान गरेको थियो भने उनीहरूले आफ्ना सबै प्रयत्नहरू जारी राखेर खोप विकसित गर्नमा ध्यान केन्द्रित गरुन् ।

हुन पनि क्युबाली वैज्ञानिकहरूले यो चुनौतीलाई स्वीकार गरेर सबै विघ्न वाधाहरूलाई पार गर्दै एउटा मात्रै होइन, पाँचवटा खोप विकसित गरेका थिए । तीमध्ये दुइटा खोप – ‘सोवरेना ०२’ र ‘अब्दाला’ नामका खोपको प्रभाव दर करिब ९० प्रतिशत रहेको बताइएको थियो । त्यसको केही साताभित्रै झण्डै २० प्रतिशत क्युबालीहरूलाई खोप पनि लगाइसकिएको थियो ।

हुन पनि क्युबा आफ्ना क्रान्तिकारी आदर्शप्रति साँच्चो किसिमले खरो उत्रिँदै विभिन्न ल्याटिन अमेरिकी देशहरूको साथमा ती खोप र तिनको उत्पादनमा साझेदारी पनि गरिरहेको छ । यी सबै क्युबाली गतिविधिले प्रष्ट पार्दछन् कि क्युबा विश्वमा कति ठुलो छ र अमेरिका कत्रो देखिँदैछ ।

वास्तवमा विश्वमा यस्तो एउटा असल र निस्वार्थ देशमाथि अमेरिकाले हमला गरिरहेको छ र उसलाई अस्थितर तुल्याउन जोडबलका साथ लागिपरेको छ, जो वाइडेनले राष्ट्रपति पदको चुनावका बेला यो प्रतिबद्धता जनाएका थिए कि उनले क्युबाप्रति पूर्व राष्ट्रपति ट्रम्पले अघिसारेका नीतिहरू बदल्ने छन् तर त्यसो गर्न उनी असफल भएका छन् । वास्तवमा उनले डोनाल्ड ट्रम्पकै नीतिलाई जारी राखेका छन्, जुन पूर्व राष्ट्रपतिले अघि सारेका र लागु गरेका थिए ।

हुन पनि दशकौँ दशकदेखि के साबित हुँदै आएको छ भने अमेरिकी प्रशासनको जो अगुवा भए पनि क्युबाप्रति त्यसको नीतिका सम्बन्धमा कुनै नयाँ परिवर्तन आउँदैन ।

दशकौँ पहिला सन् १९६० मा जारी गरिएको अमेरिकी मेमोरेण्डम नं. ४९९ ले के भन्दछ भने ‘क्युबाको आर्थिक जीवनलाई कमजोर तुल्याउनका लागि सबै सम्भव उपायहरू तुरुन्त अपनाइनु पर्दछ’। त्यसले थप के पनि भनेको छ भने ‘क्युबाका लागि धन तथा आपूर्तिलाई नकार्ने’ नीति लागु गरिनु पर्दछ, जसले गर्दा त्यहाँ ‘भोक र बञ्चना ल्याउन सकियोस् र त्यहाँको सरकारलाई उखेलेर फाल्न सकियोस्’ ।
वास्तवमा अहिलेसम्म सबै अमेरिकी प्रशासनका लागि यही नीति निर्देशन कायम रहेको देखिन्छ । त्यस प्रशासनको नेतृत्व जो सुकैले गरेको किन नहोस् । बितेका ६० वर्षदेखि अमेरिकी प्रशासकहरू ‘आर्थिक असन्तुष्टि र कठिनाइहरूमा आधारित असन्तोष’ पैदा गरेर त्यसको माध्यमबाट क्युबामा क्रान्तिकाी सरकारका लागि ‘आन्तरिक समर्थनलाई अलगथलग तुल्याउने’ कार्यमा ज्यान फालेर लागेका छन् । अहिलेको जो वाइडेको ताजा कोशिस पनि त्यसै कोटीको देखिएको छ ।

हुन पनि ‘शासन सत्ता बदल्ने’ आफ्नो एजेण्डालाई अगाडि बढाउनका लागि अमेरिकी प्रशासनले महामारीको चपेटामा परेको बेलाको समयलाई समेत आफ्ना लागि ‘उचित समय’ मानेको देखिन्छ । यो मनसुवालाई पूरा गर्नका लागि उसले इण्टरनेट तथा सामाजिक सञ्जालहरूको प्लेटफर्मको माध्यमबाट पनि आधारहीन झुठा कुरा फलाउँदै कुत्सित प्रचार गरिहेको विश्लेषकहरू औँल्याउँदछन् ।

त्यस्तो भ्रामक कुरा फैलाउनका लागि ‘अटोमेटेड साइटहरू’ बाट हजारौँ हजारौँ हजार ट्विट गरिँदै आएको छ भने बोट्सको पनि उपयोग गरिएको बताइन्छ । अनि क्युबाली क्रान्तिको रक्षाका लागि आयोजित क्युबालीहरूको प्रदर्शनलाई पनि प्रतिक्रान्तिकारी प्रदर्शनकोरूपमा प्रस्तुत गरिँदै गरेको औँल्याइन्छ । यसरी साइबर झुठ फैलाइएको आजको स्थितिलाई क्युबाका विरुद्ध गैरपरम्परागत युद्धको संज्ञा दिँदै क्युबाली नेता डियाज केनेलले के जोड दिएर भनेका छन् भने ‘क्युबाली क्रान्ति ती मानिसहरूलाई कुनै अर्को बाटो अख्तियार गर्न गइरहेको छैन, जसले वास्तवमा त्यसमाथि हमला गरिरहेको छ’ ।

विभिन्न सफ्टवेयर प्रोफेसनल तथा इण्टरनेट विशेषज्ञहरूले सजिलैसँग के साबित गरिदिएका छन् भने कसरी असत्य फैलाउनका लागि र मानिसहरूलाई भड्काउनका लागि हजारौँ नक्कली (फेक) एकाउण्ट बनाइएका र चलाइएका छन् ।

क्युबाली कम्युनिस्ट पार्टी र क्युबाली सरकारले यी घटना विकासको जबाफ दिएको छ र क्रान्तिको रक्षाको पक्षमा नागरिकहरूलाई पंक्तिबद्ध तुल्याएको छ । नागरिकहरूले पनि ती मानिसहरूलाई प्रतिक्रान्तिकारी करार गरेका छैनन्, जसले सरकारसँग प्रश्न उठाइरहेका छन् । उनीहरूको के भनाइ छ भने नागरिकहरूको एउटा हिस्साले आफ्ना जायज गुनासो गरिरहेका छन् । तिनीहरूसँग कुराकानी र संवाद गरेर समस्या सुल्झाइनु पर्दछ ।

अर्कोतिर केही क्युबालीहरू भने विद्रोहको अमेरिकी परियोजनालाई पूर्णता दिन र त्यसलाई अघि बढाउन लागिपरेका छन् । ती प्रतिक्रान्तिकारी हुन् र तिनीहरूमाथि कडा दृष्टि राखिनुपर्ने सचेत क्युबाली नागरिकहरू औँल्याइरहेका छन् । डियाज केनेलले यसबारे भनेका छन् कि ‘क्रान्ति एउटा साँचो संवाद हो र त्यसले सत्यता र नैतिकतालाई अश्लिलता र विकृतिभन्दा अगाडि र पहिला राख्दछ । क्रान्तिले आफ्नो अस्तित्वसँग सम्झौता गर्दैन र उसले भाडाका लडाकुहरूलाई वैधता दिँदैन । अनि उसले आफ्नो सुरक्षा तथा दृढताकासाथ काम गर्दछ’।

यस सम्बन्धमा चीन, रुस, भेनेजुएला, बोलिभिया, निकारागुआ तथा दक्षिण अफ्रिका ती प्रमुख देशहरूमा सामेल भएका छन्, जसले क्युबासँग ऐक्यबद्धता जनाएका छन् र क्युबाका विरुद्ध उक्साइएको कथित विद्रोहको निन्दा गरेका छन् ।

यतिबेला क्युबाली अधिकारीहरूले महामारीलाई नियन्त्रण गर्नमा भेण्टिलेटर, औषधीहरू, पीपीई किट्स, मास्क लगायत अन्य सम्बन्धित औषधीहरूको आपूर्तिका लागि चीनद्वारा दिएको मद्दतको स्मरण गरेका छन् । त्यसमा अझ महत्त्वपूर्ण कुरा के छ भने चीन सरकार, चीनको कम्युनिस्ट पार्टी र चिनियाँ जनताले क्युबाली जनताका लागि टनौँटन चामल पनि पठाएर सहयोग गरेका छन् । विश्वका अरु विभिन्न जनवर्गीय संगठन र संस्थाहरू तथा प्रख्यात हस्तीहरूले समेत क्युबासँग यो कठिन घडीका बेला एकजुटता दर्शाएका छन् । यो आजको मानवीय र न्यायोचित कार्य नै हो ।

(लेखक नेकपाका सहसंयोजक हुनुहुन्छ।)