भ्लादिमिर इल्यिच लेनिन, लेनिन, Vladimir Ilyich Lenin, लेलिन
 

भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन तत्कालीन सोभियत संघमा कार्ल मार्क्सफ्रेडरिक एङ्गेल्सको मार्क्सवादी दर्शनको पहिलो व्यवहारिक प्रयोग गर्दै समाजवादी क्रान्ति गर्ने महान् क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनीतिक सिद्धान्तकार हुन् । मार्क्सवादी दर्शन विश्वका सर्वाहारा मजदुर किसान तथा गरिवहरुको मुक्ति र संघर्षको कार्यक्रम हो र यसबाट मात्रै हामी वैज्ञानिक समाजवाद प्राप्त गर्न सक्दछौँ भन्ने कुरा लेनिनले सिद्ध गरे । मार्क्सवादी विचारधाराको व्यवहारिक र सृजनात्मक प्रयोग गर्ने क्रममा उनले मार्क्सवादमा थुप्रै आयामहरु विकास गरे र मार्क्सवादलाई समृद्ध गर्ने क्रममा थप विचार अघि सारे जसलाई हामी लेनिनवादको रुपमा चिन्दछौँ ।

जन्म र परिवार

लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क भन्ने स्थानमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ र आमाको नाम मारिया अलेक्सान्द्रोभ्ना हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । लेनिनका आमा र बुबा दुवै शिक्षित थिए ।

लेनिनका पिता त्यस समयका प्रगतिशील विचार राख्ने व्यक्ति थिए र उनले रुसी सर्वसाधारणका बिचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्त्वपूर्ण योगदान गरेका थिए । विभिन्न भाषाको ज्ञाता रहेकी उनकी आमा समेत उनको प्रेरणा र शिक्षाको महत्त्वपूर्ण स्रोत थिइन् । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए (८ मध्ये दुईको सानैमा मृत्यु)।

बाल्यकाल र शिक्षा

Pramesh Pokharel, प्रमेश पोखरेल
लेखक

उल्यानोभ दम्पतिले आफ्ना सन्तानहरुलाई राम्रो शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई अन्याय, अत्याचार, विभेद र शोषणको विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने प्रतगीशील भावना जगाउन महत्वपूर्ण योगदान गरे । संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतिका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने । ६ वर्षको उमेरमा बाप्टिज्म वा धार्मिक संस्कार गरेका लेनिन परिवारका तेस्रो सन्तान थिए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो । उनी १५ वर्षको हुँदा उनको बाबुको मृत्यु भयो । तर आफ्नो दाजुको सहयोग र आफ्नो प्रतिभाका कारण लेनिनले राम्रो शिक्षा हासिल गर्न सफल भए ।

आफ्नो प्रतिभा र घरको वातावरणका कारण लेनिनले विद्यालय अघि नै पढ्न थालिसकेका थिए । पछि स्कुल सुरु गरेपछि कक्षामा सधैँ प्रथम हुन्थे । लेनिनले विद्यालयका साथै अन्य बाह्य कृतिहरु समेत अध्ययन गर्दथे । उनले विद्यालय उमेरमै प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा विरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।

क्रान्तिमा लाग्ने प्रेरणा र सुरुवात्‌

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र लेनिनको जीवनमा प्रेरेणाको हिसाबले समानता छ । जसरी गंगालालको हत्याले पुष्पलाललाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो, त्यसैगरी लेनिनको दाजुको हत्याले उनलाई प्रेरित गर्‍यो ।

लेनिन आफ्ना दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको विद्यार्थी छँदा जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले मार्क्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।

लेनिनका पिताको निधनपछि परिवारले त्यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्स्वर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लामा फाँसी दिइयो । त्यसले लेनिनलाई ठूलो चोट पुर्‍यायो । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरे ।

क्रान्तिकारी कामका लागि आफूलाई तयार गर्दै किशोर लेनिनले सामाजिक विज्ञानहरुको गम्भीरतापूर्वक अध्ययन गरे । स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए ।

विश्वविद्यालय र देश छोड्नुपर्ने वाध्यता

डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गिरफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । तर एक वर्षको निर्वासनलाई उनले अध्ययनमा विताए ।

काजान बसाइकै क्रममा उनी रुसी मार्क्सवादी क्रान्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । उनीबाटै प्रभावित भई लेनिनले पनि काजानमा मार्क्सवादको अध्ययन सुरु गरे ।

मे १८८९ तिर लेनिन आफ्नो परिवारसहित काजानबाट सामरा गुवेर्निया आए । उनले मार्क्सवादको साथै ल्याटिन ग्रीक, जर्मन, फ्रेन्च र अंग्रेजी भाषाको पनि अध्ययन गरे । यसै समयमा उनले मार्क्स र एंङ्गेल्सले संयुक्त रुपमा लेखेको महत्त्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।

सन् १८९१ मा उनले पिटर्सवर्ग विश्वविद्यालयको कानुनमा प्रथम श्रेणीमा उत्तीर्ण भए । त्यही क्रममा सन् १८९२ बाट लेनिनले सामराको जिल्ला अदालतमा वकालत गर्न सुरु गरे । उनी गरिब किसानहरुको पक्षमा वकालत गर्थे ।

सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डल खोले । युवा उमेरमै बोल्न प्रखर लेनिनमा अरुलाई आकर्षित गर्ने र नेतृत्व गर्ने क्षमता थियो र जब उनले मार्क्सवादको अध्ययन गरे र वकिल बने, उनको त्यो क्षमतामा निखारता आयो ।

पिटर्सबर्ग बसाइका क्रममा ठूलो स्फूर्ति र अभिलाषासहित लेनिन क्रान्तिकारी कार्यमा संलग्न भए । उनी क्रान्तिकारी मजदुरहरुको राजनीतिक पार्टी खोल्नतिर लागे ।

त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका मार्क्सवादी अध्ययन मण्डलहरुलाई एउटै राजनीतिक संस्थाको रुपमा संगठित गरे । सन् १८९५ मा त्यस संघले पिटर्सबर्गका कपडा कारखानाहरुका मजदुरहरुको विख्यात हड्तालको नेतृत्व गर्यो । उक्त हड्तालमा ३० हजारभन्दा बढी मिल मजदुरहरुले भाग लिएका थिए । आन्दोलनका कारण भयभित भएको जारशाही सरकारले डिसेम्बर १८९५ मा लेनिनसहित संघका बहुसंख्यक कार्यककर्ताहरुलाइ गिरफ्तार गर्‍यो ।

लेनिनले पिटर्सवर्गको जेलको एकान्त कोठामा चौध महिनाको कठोर जीवन बिताए । जेलमा रहँदै उनले मार्क्सवादी पार्टीको पहिलो कार्यक्रमको मस्यौदा तयार पारे र यस कार्यक्रमको व्याख्या गरे । रोचक तथ्य यो छ कि लेनिन आफ्ना क्रान्तिकारी लेखहरु, किताब र पत्रिकाहरुका हरफहरुको बिचमा दुधले लेख्थे । यसरी लेखिएका अक्षरहरु देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरु पढ्न सकिन्थ्यो ।

जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ लेख्न सुरु गरे । लेनिन जेलमा अनुशासनको कडा पालना, कडा परिश्रम र सुत्नुअगाडि नियमित रुपमा व्यायाम गर्थे । पिटर्सबर्गमा लेनिन मजदुरवर्गका नेता र संगठनकर्ताको रुपमा देखापरे । उनले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गरे र रुसमा सर्वहारा पार्टी गठन गर्न जग तयार गरे ।

साइबेरियाको निर्वासन

लेनिनको क्रान्तिकारी क्रियाकलापद्वारा त्रसित जारशाही सरकारले लेनिनलाई १३ फ्रेबुअरी १८९७ मा तीन वर्षका लागि पूर्वी साइबेरियामा गई बसोबास गर्नुपर्ने निर्वासनको सजायँ दियो । साइबेरियामा निर्वासीत जीवन बिताउँदै गर्दा पनि कडा अध्ययनका साथै लेनिनले जनतालाई संगठित र प्रशिक्षित गर्ने कार्यमा लागे । यसै समय रुसको क्रान्तिकारी आन्दोलनकी नेतृ क्रुप्स्कायासँग भेट भयो । उनीसँग आन्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सबर्गमा भेटघाट, चिनापर्ची र प्रेमसम्बन्ध भइसकको थियो । उनीहरुले साइबेरियामै विवाह पनि गरे  ।

निर्वासनमै लेनिनले सन् १८९९ मा आफ्नो पुस्तक ‘रुसमा पुँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रुसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र मजदुर अध्ययन मण्डलहरुमा फैलियो । त्यसै बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।

सन् १९०० मा उनी साइबेरियाबाट मुक्त भएपछि युरोप पुगे । जहाँ उनले लगभग १७ वर्ष बिताए । उनले त्यहाँ स्पार्क (ज्वाला) भन्ने रुसको प्रमुख पत्रिकाको सम्पादक मण्डलको रुपमा काम गरे । उनको प्रमुख कार्य समाजवादको वकालत गर्नु थियो । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरुलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्नेबारे लेखहरु प्रकाशित गरे ।

सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाले । ‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए । सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा मार्क्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए । त्यस्तै किसानहरुलाई पार्टी कार्यक्रम कसरी बुझाउने बारेमा सन् १९०३ मा ‘गाउँका गरिबहरुलाई’ शीर्षकको लेख लेखे ।

लेनिनले तत्कालिन समयको बढ्दो उद्योग, शहर र श्रमिक वर्गको मात्र होइन रुसको ग्रामीण क्षेत्र र किसान समुदायमा कसरी  मार्क्सवादलाई प्रयोग गर्न सकिन्छ भन्ने वैचारिक कार्यमा समेत लागे । उनको मूल उद्देश्य रुसमा कसरी प्रजातान्तिक गणतन्त्र स्थापना गर्न सकिन्छ भन्ने थियो ।

सन् १९०२ मा “के गर्ने” (ह्वाट सुड बी डन) भन्ने मतमा उनको विचार अन्य साथीहरुसँग सहमत भएन । त्यसले तत्कालीन मार्क्सवादीहरुमा दुई समूहको जन्म भयो । बोल्सेविक र मेन्सेविक । उनीहरु बिच कसरी संगठित गर्ने भन्नेमा मात्र होइन राजनीतिक समस्याको समाधान गर्ने कुरामा समेत विवाद रह्यो ।

सन् १९०५ मा रुसमा क्रान्तिको पहिलो उभार देखियो । स्वतस्फूर्त रुपमा श्रमिक, किसान, सैनिक आदीको प्रदर्शन र विरोधले स्वयम् बोल्सेविकलाई पनि चकित बनायो । यसले संवैधानिक सुधार गर्न सफल भयो । यसले रसियन समाजवादी प्रजातान्त्रिक पार्टीमा बोल्सेविक समूहलाई स्वतन्त्र पार्टीको रुपमा विकास गर्न सफल भयो । त्यसकारण लेनीनले १९०५ को क्रान्तिलाई अक्टोवर क्रान्तिको रिहर्सल भनेका छन् ।

सोभियत क्रान्तिको जग र सफलता

सन् १९१४ देखि सुरु भएको प्रथम विश्वयुद्धले बोल्सेविक आन्दोलनलाई मजबुत बनायो । शान्ति, जमिन र खाद्यान्न (पिस, ल्याण्ड र ब्रेड) को नारा लोकप्रिय बन्दै गयो । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत क्रान्तिले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने ।

उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे । यसै बिच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेविकबाट कम्युनिस्ट पार्टी बनाए । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।

लेनिनको नेतृत्वमा रुसी बोल्सेभिक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।

२४ अक्टोवरको दिन बेलुकिपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्रादका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे ।

त्यसपछि कम्युनिस्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्‍यो । र, लगत्तै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासका लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्‍यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रुपमा विश्वप्रसिद्ध छ ।

लेनिनको हत्या प्रयास

सन् १९१९ मा अमेरिकी, बेलायती र फ्रान्सेली सेनाहरुले मुर्मन्सर्क कब्जा गरे । यस प्रकारले साम्राज्यवादीहरुले सोभियत राष्ट्रविरुद्ध युद्ध सुरु गरे । अपदस्थ बिर्तावाल तथा पुँजीपति वर्गले विदेशी आक्रमणकारीहरुको सहायताद्वारा गृहयुद्ध सुरु गरे । कम्युनिस्ट पार्टी र सोभियत जनताले छाती फर्काएर मातृभूमिको रक्षा गरे । यसै क्रममा लेनिनको गोली हानी हत्या गर्ने प्रयास भयो ।

लेनिनको निधन

सन् १९१८ मा गोली लागेर भएको घाउ बल्झिन थालेकोले सन् १९२१ को जाडोदेखि डाक्टरहरुले उनलाई आराम र उपचारका लागि अनुरोध गरेका थिए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । आराम नलिई निरन्तर परिश्रममा लागेका कारणले उनको घाउ बल्झियो ।

सन् १९२४ जनवरी २१ मा बेलुकि छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो । त्यसै दिन राति सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आकस्मिक प्लेनम बस्यो । केन्द्रीय समतिले जनताको नाममा एक अपिल जारी गर्यो ।

कम्युनिस्ट इन्टरनेसनलका संस्थापक, विश्व साम्यवादका नेता, अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रेम र गौरव, रुसी सर्वहारा अधिनायकवादका अगुवाको चारदिनसम्म लाखौँ मजदुर तथा किसानहरुको भावपूर्ण श्रद्धाञ्जलीपछि २७ जनवरीको दिन दिउँसो ४ बजे अन्त्येष्टी जुलुस निस्क्यो । लेनिनको शव लालमैदानमा विशेष रुपमा बनाइएको समाधिमा राखियो । उनको मृत शरिर आज पनि लेनिनग्रादमा सुरक्षित छ ।

(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)