काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ।
दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको डाँडाकटेरीमा तत्कालीन १९ जना माओवादी नेता तथा कार्यकर्ता र शिक्षक परिवार २ जनाको सालिक स्थापना गरिएको हो ।
प्रदेश ३ सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाले सालिक स्थापना गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले बताए ।
२०६० साल साउन ३२ गते रामेछाप जिल्लाको साविकको डडुवा गाविसको डाँडाकटेरीमा भएको सो घटनामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का निशस्त्र कार्यकर्तालाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी हत्या गरेको थियो ।
दोरम्बा हत्याकाण्डमा शहादत प्राप्त गरेका २२ जना लालयोद्धाहरूमध्ये रामेछाप जिल्ला जनसरकारका प्रमुख क. बाबुराम तामाङ ‘पुष्प’ हुनुहुन्थ्यो । वि.सं. २०१६ सालमा रामेछाप जिल्लाको बेथान गाविसस्थित भलवाडीमा जन्मेका बाबुराम २०३६ सालदेखि नै निरन्तर कम्युनिस्ट आन्दोलनमा लागी जनयुद्धको पहलकदमीदेखि नै सक्रियतापूर्वक युद्धमा होमिएका लोकप्रिय नेता हुनुहुन्थ्यो ।
दोरम्बा घटनामा शहादत प्राप्त गर्ने अरु वीर योद्धाहरूमा क. अम्बिका दाहाल ‘ललिका’, क. प्रदीप दोङ ‘रक्तिम’, क. उमा कार्की ‘सहारा’, क. ठूलोराम तामाङ ‘छोप्पा’, क. युवराज मोक्तान, क. लिला मोक्तान, क. चतुरमान थामी, क. सोमई थामी ‘संगीता’, क. टेकबहादुर थापामगर ‘रक्तिम’, क. विष्णु थापामगर ‘विमा’, क. श्याम तामाङ ‘इन्क्लाव’, क. हर्क घिसिङ ‘यथार्थ’, क. रवि चौहान ‘समीर’, क. उषा, क. हर्कलक्ष्मी राई ‘विमला’, क. लछुमन तामाङ र क. जमिन लगायत हुन् ।
जनताले दोरम्बा हत्याकाण्डमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न अपराधीहरूलाई सख्त कारबाहीको माग गरिरहेको स्थितिमा हत्याकाण्डको नेतृत्व गर्ने तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेल हाल अमेरिकामा मोजमस्तीपूर्ण जीवन बिताइरहेका छन् । कूटनीतिक पहलमार्फत् उनलाई तत्काल नेपाल झिकाई मुद्दा चलाउन विभिन्न मानवअधिकारवादी संघ–संस्थाले सरकारलाई बारम्बार आग्रह गरे तापनि कुनै कारबाही हुन नसकेकोमा शही परिवार आक्रोशित एवम् दुःखित छन् ।
यो पनि पढ्नुहोस्ः
दोरम्बा घटनाः प्रत्यक्षदर्शी तथा नेकपाका नेता हरि दाहाल ‘ललित’को मुखबाट