काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संघको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नु भएको छ ।
परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उहाँले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवाहरु अन्ततः सबै फोहोरको थुप्रोमा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्क्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’
अध्यक्ष प्रचण्डले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिस्ट एकता गरिएको स्पष्ट पार्नुभयो । उनले पुराना सोच, संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष प्रचण्डले मुलुकको समग्र शिक्षा प्रणाली समाजवाद उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका हुने भन्दै त्यसका लागि प्रभावकारी भूमिका निर्वाहका गर्नका लागि आग्रह समेत गर्नुभयो ।