प्रचण्ड, Pushpa kamal Dahal 'Prachanda', Chairman of the Communist Party of Nepal (NCP)
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै क. प्रकाश दाहाल (हेर्नुहोस् संक्षिप्त जीवनी) को नाम जोडेर अध्यक्ष प्रचण्डको विरुद्ध गरिएको गलत प्रचारको खण्डन गरेको छ।

मंगलबार प्रमुख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको खण्डन गर्नुभएको हो । विज्ञप्तिमा अध्यक्ष प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा दुबईमा २१ अरब सम्पत्ति रहेको भन्ने प्रचारको निन्दा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष, विगत ३ दशकभन्दा धेरै समयदेखि पार्टी प्रमुखको रूपमा नेपाली कम्युनिस्ट आन्दोलनका प्रत्यक्ष नेतृत्त्वकर्ता, दश वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर,  नेपाली जनताको आफ्नो सेनाको रूपमा रहेको जनमुक्ति सेनाका निर्माता, संविधान सभा र जनताको संविधानका द्रष्टा, गणतन्त्र नेपालका स्वप्नद्रष्टा तथा प्रथम प्रधानमन्त्री, राष्ट्रिय एकता तथा नेपाली जनताको आस्थाका धरोहरको रूपमा रहेका अध्यक्ष प्रचण्डको विरूद्ध देशी-विदेशी प्रतिक्रियावादीहरू, साम्राज्यवाद तथा विस्तारवादका दलालहरू, प्रतिक्रान्तिका सेवकहरू र राजतन्त्र फिर्ता गरेर त्यसैको जुठो-पुरोमा रमाउने दिवासपना देखिरहेका सामन्तवादका दासहरूले  निरन्तर प्रहार गर्दै आएका छन् । विदेशी शक्तिहरूको मिलोमतोमा राजावादीहरू तथा नेकपाविरोधी शक्तिहरूले पछिल्लो केही समयदेखि सो प्रहारमा तीब्रता ल्याएका छन् ।

नेपाली जनताले आफैले निर्वाचित गरेको संविधान सभाबाट संविधान जारी गर्दा आफूलाई आश्वस्त गराइएको प्रधानमन्त्री पद छाडेर विस्तारवादसँग सिधासिधा भिडेका अध्यक्ष प्रचण्ड पछिल्लो समय पूर्वराजपरिवार र राजावादीहरूको सक्रियता पश्चात पुनः क्रान्तिका उपलब्धिहरूलाई रक्षा गर्न  अग्रिम मोर्चामा खटेको  कारण प्रतिक्रियावादीहरूले अध्यक्ष प्रचण्डमाथि प्रहारलाई तीब्रता दिएका हुन् ।

अध्यक्ष प्रचण्ड नेपाली राजनीतिमा कम्युनिस्ट क्रान्ति तथा गणतन्त्रप्रति इमान्दार एवम् सक्कली राष्ट्रवादका प्रणेता भएको कारण देशी-विदेशी प्रतिक्रियावादीहरू, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूले उहाँलाई प्रहारको मुख्य निशाना बनाएका हुन् ।

अरू प्रभावशाली नेताहरू समेत सत्ता र शक्तिको पछि लाग्ने र तिनीहरूलाई पद र पैसाले सजिलै किन्न सकिने तर अध्यक्ष प्रचण्ड पटक पटक आफूलाई प्राफ्त पद तथा अवसरहरूलाई पाखा लगाउँदै राष्ट्र, क्रान्ति, कम्युनिस्ट एकता र जनताप्रति समर्पित भएकोले त्यस्ता शक्तिहरूले सत्तामा बसेको वा नबसेको अवस्ठामा पनि अध्यक्ष प्रचण्डप्रतिनै कठोर प्रहार गर्दछन् । यसरी प्रहार गर्नेहरूले पछिल्लो समय पार्टी भित्रकै कतिपय शक्तिलाई समेत प्रयोग गरिरहेको विश्लेषण गरिएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिको पूर्णपाठः

आदरणीय जनसमुदाय,

यतिबेला जनक्रान्तिका उपलब्धि विरुद्ध प्रतिगामी तत्त्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्त्वहरु क्रान्तिकारी पार्टी र नेतृत्त्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।

यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्त्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।

२८ साउन, २०७६

जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय

Press Statement by Prachanda Secretariat Jokh Bahadur Mahara 'Pratap'