डा. राजेन्द्रप्रसाद रेग्मीद्वारा लिखित ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा इमानदार र आदर्शवान नेताको छवी बनाउन सफल भएका र कुनै समय रूपलाल विश्वकर्माका समेत नेता रहेका क. स्वनाम साथीले एक कार्यक्रमका बिच सो पुस्तकको विमोचन गरेसँगै जीवित छउञ्जेल विभिन्न आरोपहरूको भारी बोकेका र मरेपछि धेरैजसोले झण्डै बिर्सिएका पुराना कम्युनिस्ट नेता तथा दलित मुक्ति आन्दोलनका एक अविछिन्न योद्धा क. रूपलाल विश्वकर्मा र उहाँका योगदानहरूको बारेमा विभिन्न कोणबाट नयाँ बहस र छलफलको सुरुवात भएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपाली समाजको यो चरित्र नेपालको कम्युनिस्ट आन्दोलनमा राम्ररी प्रतिबिम्बित भएको देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलन पनि विभिन्न रूप, चरित्र र सोच भएका सयौँ कम्युनिस्ट नेताहरूको जन्मभूमि र कर्मभूमि हो ।
परन्तु नेपाली कम्युनिस्ट आन्दोलनमा आएको विभाजनसँगै नेताहरूका आ–आफ्ना पार्टीहरू, गुट र समूहहरू स्थापित हुँदै गए । हरेक पार्टीहरूले आफू र आफ्ना नेताहरूलाई सही र अरु पार्टी, समूह र तिनका नेताहरूलाई गलत साबित गर्न दिलोज्यानले समर्पित हुने स्थिति बन्यो । यो संक्रामक प्रवृत्तिको रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा आजसम्म विद्यमान छ । यस्तो प्रवृत्तिको संक्रमणबाट शिकार भएकाहरू आफूले कुनै क्रान्तिकारी वा देशभक्तिपूर्ण काम गरेर आफूलाई क्रान्तिकारी, देशभक्त, जनवादी, असल र सही साबित गर्नुभन्दा पनि अर्को पार्टी र त्यसका नेताहरूलाई चोर, डाँका, फटाहा, भ्रष्ट, देशघाती, जनघाती, राष्ट्रघाती, क्रान्तिविरोधी, दक्षिणपन्थी, विसर्जनवादी, उग्रवामपन्थी, जडसुत्रवादी, जडसुत्रीय संशोधनवादी सिद्ध गर्नका लागी पर्ने, त्यसका लागि तथानाम गालीगलौज र आरोपहरूको वर्षा गरेको पाइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरूले एकअर्कालाई गर्ने गालीगलौजको यस्तो मुसलधारे वर्षा २०१९ सालपछि निरन्तर चलिरहेको छ ।
यस्तै मानिसहरूको बिचमा देशी-विदेशी प्रतिक्रियावादीहरू घुस्ने र वास्तवमा पद, प्रतिष्ठा र शक्तिको लोभलालच पूरा नभएपछि पार्टी फोर्न उद्दत हुनेहरू सबैभन्दा धेरै क्रान्तिकारी देखिने वा आफूलाई सबैभन्दा क्रान्तिकारी घोषित गर्ने गरेको तथ्य सबैसामु प्रष्ट छ । यस्तै लोभी-पापीहरूको माध्यमबाट ‘लालका विरुद्ध लाल’ प्रयोग गर्ने गरेको उदाहरण आजसम्म पनि प्रष्ट देखिएको छ । एकथरी मानिसहरू कम्युनिस्ट पार्टीको सत्तालाई असफल बनाउन विस्तारवाद तथा साम्राज्यवादको मतियार बन्ने र अर्काथरीले सत्तामा बसेर न्यूनतम राजनीतिक विवेक समेत प्रयोग नगरी दम्भ, अहंकार र घमण्ड प्रदर्शन गर्ने प्रवृति आजसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलनमा छ्यापछ्याप्ति देखिन्छ ।
यस्तै आरोपहरूका शिकार भएका, जीवन रहेसम्म आफूले आफ्नै पर्यत्नहरूद्वारा आफूलाई जबरजस्त नेपाली राजनीतिको केन्द्रमा आफ्नो स्थान बनाउन सफल भए पनि मृत्यूपश्चात धेरैजसोले बिर्सेका वा बिर्सन खोजेका पात्र हुन् – क. रूपलाल विश्वकर्मा । जीवनमा एक सेकेण्डका लागि पनि काँग्रेस नबनेका तर काँग्रेस बनेको आरोप खेपेका पात्र हुन् उनी । बृद्ध र बिरामी अवस्थामा पार्टीबाट कुनै मतलब नगरिएका र मतलब गर्न नपरोस् भन्नका खाँतिर रूपलाललाई काँग्रेस प्रवेश गरेको हल्ला चलाइएको बताउँछन्, उनलाई नजिकबाट चिन्नेहरू ।
तिनै योद्धाको बारेमा लिखित पुस्तक हो – ‘नेपाली राजनीतिमा रूपलाल विश्वकर्मा’ । पुस्तक जम्मा १७६ पृष्ठको छ, जसलाई ११ वटा अध्यायहरू र परिशिष्टहरूमा विजाजित गरी संगठित गरिएको छ । पुस्तकको नामसँग मिल्दो ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ शीर्षक दिइएको अध्याय १ मा रूपलाल विश्वकर्माको जन्मदेखि राजनीतिक जीवनको सुरुवात लगायतका विवरणहरू दिइएको छ ।
पुस्तकका अध्यायहरूलाई क. रूपलाल विश्वकर्माको राजनीतिक जीवनको समयक्रमसँग र विशेष गरेर संगठनात्मक जीवनसँग तादात्मयता मिलाइएको छ । त्यसअनुरूप अध्याय दुईमा उहाँले दलित विकास परिषद् नेपाल खोलेर अघि बढ्दाका घटनाक्रमहरू समेटिएको छ । अध्याय ३ मा क. रूपलाल विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल समूह)मा आबद्ध भई कम्युनिस्ट राजीति सुरु गर्दाका घटनाक्रमहरू र पुष्पलालँगका वैचारिक मतभेदहरूलाई केलाइएको छ ।
अध्याय ४, ५ र ६ मा उहाँ पुष्पलाल समूहबाट अलग भएपछि किसान संघर्ष समूह, नेपाल मजदुर किसान संगठन हुँदै सर्वहारा श्रमिक संगठन निर्माण गर्ने र तिनलाई परिचालन गर्ने विषयहरू समेटिएको छ । त्यससँगै अध्याय ४ मा जुगेडी किसान संघर्ष, अध्याय ५ मा जुटपानी किसान संघर्ष तथा जनकारबाही र अध्याय ६ मा पुर्तीघाट बैंक कब्जाका घटनाहरूको विस्तृत विवरण प्रस्तुत गरेर किसान संघर्षको इतिहासलाई समृद्ध बनाउने काम भएको छ ।
अध्याय ६ को पृष्ठ नं. ७८ मा पार्टी एकताबाट सर्वहारा श्रमिक संगठन, नेपाल गठन गर्ने दिनलाई २०३८ साल कार्तिक २१–२२ तद्अनुसार नोभेम्बर ७–८मा नोभेम्बर क्रान्ति (लेनिनको जन्म जयन्ती) को दिन भनिएको छ । यसमा रुसको पुरानो क्यालेण्डर अनुसार सो मिति अक्टोबरमा पर्ने हुनाले त्यसलाई संसारभरी नै अक्टोबर क्रान्ति भनिन्छ र सो मितिमा लेनिनको जन्म जयन्ती पर्दैन । लेनिनको जन्म जयन्ती अप्रिल २२ मा पर्छ । यसलाई लेखकले आगामी संस्करणमा सच्चाउनु हुनेछ भन्ने आशा छ ।
अध्याय ७ मा रूपलाल र उहाँको संगठनको २०४६ सालको जनआन्दोलनमा भएको सहभागिता र त्यससम्बन्धी विभिन्न मतभेदहरू बारे चर्चा गरिएको छ भने अध्याय ९ मा नेकपा (मशाल) सहित विभिन्न राजनीतिक दलहरूसँग सर्वहारा श्रमिक संगठनको एकता भएर नेकपा (एकता केन्द्र)को निर्माण, पार्टी विभाजन र त्यसपछिको उहाँको राजनीतिक जीवनबारे चर्चा गरिएको छ भने अध्याय ९ मा नेकपा (एकता केन्द्र) परित्याग गरेर उहाँले पुनः दलित श्रमिक मोर्चा गठन गरेर आफ्नो राजनीतिक जीवनलाई नयाँ मोड दिएका घटनाहरूको विवरण प्रस्तुत गरिएको छ ।
अध्याय १० मा उहाँलाई अन्य विभिन्न नेताहरूसँग तुलना गर्ने कोशिस गरिएको छ । सम्पूर्ण पुस्तक जुन सुन्दरताका साथ लेखिएको छ, जसरी विषयहरूलाई प्रस्तुत गरिएको छ, लेखक यो अध्यायमा भने थोरै चुकेको वा क. रूपलाल विश्वकर्मालाई उचाईबाट प्रस्तुत गर्न खोज्दा केही सन्दर्भमा ढंग नपुगेको देखिन्छ ।
अध्याय ११ मा निष्कर्षको रूपमा क. रूपलालको समग्र राजनीतिक जीवनका आरोह अवरोहहरूलाई संक्षिप्तमा प्रस्तुत गर्न खोजेको देखिएको छ ।
परिशिष्ठमा २०३८ सालमा पार्टी एकताका सन्दर्भमा जारी गरिएको विज्ञप्ति र २०३८ सालमा जारी गरिएको सर्वहारा श्रमिक संगठनको विधान समावेश गरिएको छ भने प्रस्तुत पुस्तक तयार गर्दा उपयोग गरिएका अनेकौँ पुस्तकहरू, दस्तावेजहरू र अन्य सामग्रीहरूलाई सन्दर्भ सामग्रीको रूपमा प्रस्तुत गरिएको छ ।
रूपलाल विश्वकर्मा प्रतिष्ठानद्वारा प्रकाशित यो पुस्तक बिके नरबहादुरको सुन्दर आवरणमा सजिएको छ । बजार मूल्य रू २५०/- मात्र तोकिएको यो पुस्तक जागरण बुक हाउस, अद्वैतमार्ग लगायतका विभिन्न पुस्तक पसलहरूमा पाइने बताइएको छ ।
समग्रमा पुस्तक राम्रो छ । क. रूपलाल विश्वकर्माको बारेमा मात्रै नभएर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालको दलित आन्दोलन, नेपाल मजदुर किसान पार्टी र सर्वहारा श्रमिक पार्टीको इतिहास, जुगेडी र जुटपानी संघर्ष, पुर्तीघाट बैंक कब्जा घटना लगायतका विषयहरूमा चासो राख्ने सबैले यो पुस्तक किनेर पढ्नुपर्ने देखिन्छ । मार्क्सवादी विचारधारा र त्यसमा आबद्ध नेताहरूलाई सम्मान गर्ने संस्था वा अभियन्ताहरूबाट सञ्चालन गरिएका पुस्तकालयहरूको संग्रहमा पनि यो एउटा गहना साबित हुनेछ भन्ने मेरो विश्वास छ ।