प्रचण्ड, chairman prachanda, pushpa kamal dahal
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वर्षे महान जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

बिहिबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

दस वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डले  भन्नुभयो, “अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौँ, त्यो गरिदिन्छौँ, यहाँ जानपर्‍यो, त्यहाँ जानपर्‍यो, भन्यो भने त्यसको पछि नलाग्नु होला।’

उहाँले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको समेत बताउनुभयो । उहाँले प्रमुख दलहरू बिच सहमति हुन नसक्दा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सात्तो जाने गरी उजुरी परेको बताउनु भयो ।

“सत्य निरूपण आयोगमा ६६ हजार उजुरी परेका छन्,” उहाँले भन्नुभयो, “दलहरू बिच कुरा नमिल्दा त्यति धेरै उजुरी परेका हुन्, खासमा २-३ हजारभन्दा बढी उजुरी नै आवश्यक थिएन।” संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउन अहिले नेकपा र कांग्रेसलगायतका बिचमा सहमति भएकाले समस्या नहुने उनले बताउनुभयो ।

“अहिले नेकपा र कांग्रेसका बिचमा द्वन्द्वकालीन मुद्दालाई लिएर सहमति भएको छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मिलेरै कानुन बनाउँदैछौँ, मिलेर नेतृत्त्व चयन गरेका छौँ । एउटै निर्णयबाट धेरै काम गर्न सक्छौं।’

“अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको भन्दै उहाँले कतिपयलाई शान्ति प्रक्रियाका बाँकी काम २०/२५ वर्ष नटुंगिओस्, खेल खेल्न पाइराखियोस् र केही मान्छेलाई लाभ दिने उद्योग चलाइराख्न पाइयोस् भन्ने लागेको बताउनुभयो ।

‘घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने । तपाईंहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, पियाइदियो । मोटो रकम चाहिँ चलखेल गर्ने आइएनजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ” अध्यक्ष प्रचण्डले भन्नुभयो ।

“घाइते तथा अपाङ्गहरुलाई जे गर्नुपर्ने हो दलहरु र सरकारले गर्नुपर्ने भन्दै उहाँले छिट्टै परिचयपत्र, राहत प्याकेज दिइने आश्वासन दिनुभयो । अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौँ भनेर आएको र केहीले करिब एक हजार घाइते तथाअपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाउनुभयो । २०० जतिलाई तुरुन्तै लैजान्छौँ भनेको भन्दै उहाँले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो ।