should we eat meat? book भ्याकलाभ स्मिल
 

भ्याकलाभ स्मिल वर्तमान विश्वका सेलिब्रेटी लेखक हुन् । स्मिलका पुस्तकहरूसँग विश्वका धेरै पाठकहरू परिचित छन् । स्मिल बिल गेट्सका सबैभन्दा मनपर्ने लेखक हुन् । धेरै पुस्तकका लेखक स्मिलको सन २०१३ मा प्रकाशित एउटा पुस्तक हो “सुड वी इट मिट ?”

यो पुस्तकमा स्मिलले शाकाहारी (भेज) र मांसाहारी (ननभेज) बारे मानव इतिहासमा मासु उपभोग तथ्यगतरूपमा प्रस्तुत गरेका छन् । पुस्तकमा लेखक भेज र ननभेजबारे तटस्थ छन् । मानव विकासको क्रममा घुमन्ते युगमा शिकार नै मानिसको भोजनको प्रमुख स्रोत थियो । मानव विकास क्रममा कृषिले मानिसको बसोबासलाई स्थायी बनायो र मासु बाहेक अन्न पनि उपभोगको अंश बन्यो । पछि फलफूल, दुधदहीले मासुको विकल्प तयार भयो र भेज (शाकाहारी)-ननभेज (मांसाहारी) अवधारणा प्रचलनमा आयो ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

विश्वमा चार प्रकारका शाकाहारी मानिसहरू छन् : पहिलो भेगन शाकाहारी – जीवजन्य मासु, दुग्धपदार्थ, अन्डा र सी फुड नखानेहरू । माछामासु, अन्डा, दुधदही, घिउ, केही नखाने वनस्पतिजन्य फलफूल, सागपात, र अन्न मात्र खाने मानिसहरू जसलाई भेगन भनिन्छ । यिनीहरूको विचार भेगनिज्म मानिन्छ । मुटु र क्यान्सर रोगबाट बच्ने एउटा उपाय भेगनिज्म भन्ने उनीहरूको विश्वास छ । विश्वका केही टीनएजर बालाहरू शारीरिक सौन्दर्यप्रतिको सजगता (फिगर कन्ससनेस) का लागि पनि भेगन भएका छन् । केही अप्राकृतिकरूपले खानाको रूचि घटाउन चुरोट सेवन गर्छन् । मोटोपनबाट बच्न स्लिम रहने उनीहरूको चाहना हुन्छ । सम्पन्न देशमा अति उपभोक्तावादले ल्याएको लहड हो भेगनिज्म । हिप्पीवाद, फाटेका लुगा लाउने फेसन, ट्याटुको जथाभावी प्रदर्शनकै कडीको रूपमा जोडिन्छ भेगनिज्म ।

दोस्रो ल्याक्टो शाकाहारी – उनीहरू दुग्धजन्य पदार्थ उपभोग गर्छन् । जस्तो दुधदही, घिउ, क्रिम, चिज आदि । एक समय दक्षिण एसियाली देशहरूमा विवाहित महिलाहरू सिउँदोको सिंदुरले पहिचानिनथे । त्यसैगरी गलामा कण्ठीले शाकाहारीहरूको पहिचान हुनथ्यो । अब त्यो जमाना रहेन ।

तेस्रो ल्याक्टो ओभो शाकाहारी – उनीहरूले डेरी उत्पादन र अन्डा उपभोग गर्छन् ।

चौथो ल्याक्टो ओभो पिस्की शाकाहारी – उनीहरूले डेरी उत्पादन, अन्डा र समुन्द्र- नदीखोलाबाट पाइने माछा, सर्प, कछुवा, गँगटो, घुँगी, सीफुड आदि उपभोग गर्छन् । युरोप र उत्तरी अमेरिकामा २-४ प्रतिशत मानिसहरू मात्र शाकाहारी छन् । शाकाहारीको ठुलो संख्या भारतमा रहेको छ । विश्वमा शाकाहारीको संख्या न्यून छ ।

मासु खानु स्वास्थ्यका लागि हानिकारक छैन । विश्वमा धेरै माछामासु खाने जापानीहरूको उमेर सबैभन्दा बढी छ । जापानीहरूको खुराकीमा औसत ४० प्रतिशत सीफुड, ३० प्रतिशत मासु र ३० प्रतिशत अन्न, फलफूल, तरकारी, दुधदही रहेको छ । युरोपमा सबैभन्दा बढी उमेर भएका तीन देशहरू स्वीडेन, नर्वे र आइसल्यान्ड बढी मासुखाने देशमा पर्छन् । उनीहरूको मासु उपभोग प्रतिव्यक्ति वार्षिक १५० केजी रहेको छ । संसारमा सबैभन्दा बढी मासु उपभोग गर्ने अमेरिकी नौसेनाका जवानहरू हुन्, जसले वार्षिक १६५ केजीभन्दा बढी मासु उपभोग गर्छन् । अमेरिकाको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले दिनको ७० ग्राम, हप्ताको ५०० ग्राम तथा वार्षिक २५ केजी मासु खानु स्वास्थ्यका लागि राम्रो हुने निष्कर्ष निकालेको छ । मांसाहारीमा शाकाहारीभन्दा बिर्सने रोग (डिमेन्सिया) कम पाइएको छ ।

कुनै पनि युद्धपछि मासुको खपत बढेको इतिहास छ । दोस्रो विश्व युद्धपछि मासुको उपभोगमा उछाल आयो । केन्टुकी फ्राइड चिकेन (केएफसी) ले ब्रान्ड बनायो । सन् २०१० मा केएफसीको अमेरिकामा ५,२०० शाखा र १०९ देशहरूमा १५,००० शाखाहरू संचालित छन् । म्याकडोनाल्डको अमेरिकामा १४,००० शाखा, क्यानाडा, बेलायत र जर्मनी प्रत्येकमा १,१०० शाखाहरू छन् । सन १९३५ मा ११३ दिनमा तयार हुने कुखुरा विकसित प्रविधिले २०१० मा ४२ दिनमा तयार हुन थाल्यो । विश्व खाद्य संस्थाका अनुसार सन २०१० मा विश्वमा ३० करोड गाईभैंसी, १.४ अर्ब सुँगुर, १ अर्ब खसीभेडा, ५० लाख घोडा, २० लाख ऊँट, ५५ अर्ब कुखुरा, ३ अर्ब हाँस र टर्कीको मासु खपत भयो । विश्वमा वार्षिक प्रतिव्यक्ति औसत ६३ केजी मासु उपभोग रहेको छ । एक अमेरिकीले वार्षिक १५१ केजी, चिनियाँले १०२ केजी, बेलायतीले ९७ केजी, जापानीले ९७ केजी, नेपालीले १८ केजी, र भारतीयले १२ केजी मासु प्रतिव्यक्ति वार्षिक उपभोग गरेका छन् । फ्रान्समा चाहिँ प्रतिव्यक्ति वार्षिक ५४ केजीबाट ४३ केजीमा मासुको उपयोग घटेको छ ।

मासु मानिसका लागि अनिवार्य हो त ? होइन । एक केजी मासु बराबर एक केजी फलफूल, ताजा तरकारी बनाउन सकियो भने मासु अनिवार्य छैन । विश्वमा मासुको उपयोगिता बढेकाले उपभोग पनि बढ्दै छ । अमेरिकामा शुद्ध आयको खाना खर्च ९.४ प्रतिशतले पुग्छ, चीनमा २५ प्रतिशतले पुग्छ तर नेपालमा ५० प्रतिशतभन्दा बढी खानामा खर्च हुन्छ । केएफसी, म्याक डोनाल्ड, टाकोबेल, नान्डु जस्ता मासुको परिकारै परिकार पस्कने प्रलोभनले विश्वमा मासुको खपत बढिरहेको छ । अहिले दसैंको बेला नेपालमा मासुको बजार फ्रान्सेली अर्थशास्त्री जेबी से को सिद्धान्त आपूर्तिले माग आफै सिर्जना गर्छ जस्तो भएको छ । सबैलाई दसैँको शुभकामना ।

(लेखक त्रिभुवन विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ ।)