नेकपा माओवादी केन्द्र, पुष्पकमल दाहाल 'प्रचण्ड', prachanda, pushpakamal dahal
 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ ।

पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण गर्नेछौँ । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्नेछ । एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ । अहिले विकास भएका प्रवृति र राम्रा नराम्रा कामको समीक्षा गर्दै जानु पर्छ ।’

अध्यक्ष प्रचण्डले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गर्दै पहिलो पार्टी बनाउने घोषणा गर्नुभयो । उहाँले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको पनि जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिस्ट पार्टीको नाममा विभिन्न गतिविधि गरिरहेका राजनीतिक दलहरूप्रति इङ्गित गर्दै उहाँले अगाडि भन्नुभयो, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौँ । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिस मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौँ । ती तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरामा सबै पार्टी कमिटीमा एकरूपता ल्याउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिँदै अध्यक्ष प्रचण्डले आउँदा दिनमा विचार संश्लेषणमा एकरूपता ल्याउनुपर्ने रआत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने औँल्याउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौँ ।’ पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उहाँले केही महिनाभित्र माओवादी एक नम्बर पार्टी बन्ने बताउनुभयो ।

‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुबै हाम्रासामु खडा छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी एकताबद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ। यसमा हामी सबै एकजुट भएर लागौँ ।’

अध्यक्ष प्रचण्डले अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताउनुभयो । उहाँले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गर्नुभयो ।