राष्ट्रिय जनगणना २०७८, national census 2021
 

ग्रेगोरियन क्यालेन्डर अनुसार वर्षको अन्तिम अंक १ आएमा त्यो वर्ष जनगणना वर्ष मान्ने चलन छ । जस्तो २००१, २०११, २०२१ आदि । नेपालमा अहिले जनगणना जारी छ । जेठमा गरिनुपर्ने काम कोभिडका कारण विलम्ब भयो ।

नेपालमा असार ८ जनगणना दिवस मनाइन्छ । सन् १९११ देखि नेपालमा जनगणना सुरु भयो । यो नेपालको १२औँ जनगणना हो । सन् २०११ को जनगणनामा ५० प्रश्न थिए भने यसपटक ८० प्रश्न रहेका छन् । अघिल्लो जनगणनामा रू. १ अरब २० करोड खर्च भएको थियो । यसपटक ५४,२७,३०२ घरपरिवार विवरण संकलनका लागि खर्च रू. ५ अरब अनुमान गरिएको छ । यो खर्च एक घरपरिवारका लागि रू. ९२१ पर्छ ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

केही मुद्दामा मानिसहरूको निकै चासो देखियो । जातजाति, भाषा र धर्मबारे चर्चा र बहस निकै चले । भारतमा जातीय जनगणना हुँदैन । अमेरिकामा चार समुदायको जनगणना हुन्छ: काला, गोरा, एसियाली र हिस्पानिक । युरोपमा जातीय जनगणना हुँदैन । नेपालमा २०११ को जनगणनाले १२६ जातजातिको पहिचान गरेको थियो । बढी जनसंख्या हुनेमा खस क्षेत्री १६.६०, पहाडे बाहुन १२.१८, मगर ७.१२, थारू ६.५६, तामाङ ५.८१ प्रतिशत छन् भने १८ जातजातिको एक प्रतिशतसम्मको जनसंख्या रहेको देखिन्छ ।

संसारमा ५,१०० भाषाहरू रहेको आँकलन छ । एसिया, अफ्रिका, प्यासिफिक र अमेरिकामा ९९ प्रतिशत भाषा छन् भने युरोपमा ४५ भाषा, मात्र एक प्रतिशत । संसारमा सबैभन्दा बढी भाषा बोलिने देश पपुआ न्यु गिनी हो, जहाँ एक करोड हाराहारीको जनसंख्याले ८३९ भाषा बोल्छन् । दोस्रो भारतमा सन २०१० भाषा सर्भेअनुसार ७८० भाषा बोलिन्छन् । भारतमा हिन्दी बोल्ने ४३.६३ प्रतिशत छन् । त्यहाँ ५० वर्षमा २२० भाषाहरू लोप भए । भारतमा मैथिली बोल्ने ४ करोड छन् भने भोजपुरी बोल्ने १५ करोड । इन्डोनेसियामा ६७०, फिलिपिन्स ३७४, ब्राजिल २१० भाषाहरू बोलिन्छ्न् । चीनमा ८ भाषा मात्र बोलिन्छ्न् । नेपालमा १२३ भाषा छन् । नेपाली ४४.६०, मैथिली ११.६७, भोजपुरी ५.९८, थारू ५.७७ र तामाङ ५.११ प्रतिशतले बोल्दछन् । नेपालमा एक प्रतिशतसम्मको जनसंख्याले १४ भाषा बोल्दछ्न् ।

अमेरिका र केही अपवाद बाहेक युरोपमा धार्मिक जनगणना हुँदैन । नेपालमा सुचीकृत ८ धर्ममा हिन्दु ८१.३, बौद्ध ९.०, इस्लाम ४.४, किराँत ३.०, क्रिश्चियन १.४ आदि रहेका छन् । विश्वको धार्मिक स्थिति हेर्ने हो भने क्रिश्चियन ३१.५, इस्लाम २३.२, धर्म नमान्ने १६.३, हिन्दु १५.० र अन्य १४.० प्रतिशत रहेका छन् । संघीय गणतन्त्र नेपालमा पहिलोपटक भएको जनगणनामा आय असमानता, गरिबी, शिक्षा, बाल मृत्युदर, मातृ मृत्युदर, औसत आयु, महिलाको सम्पत्तिमा स्वामित्व, युवाहरू विदेश पलायन जस्ता विषयमा बहस चल्नुपर्थ्यो तर सत्ताधारी दलहरूले आफ्ना कार्यकर्ताहरूलाई समाज विभाजनको विषयतिर मोडिदिए । यो जनगणना नेपालको वास्तविक ऐना बनोस् शुभकामना ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)