agni sapkota, sworning, oath, bidya bhandari
 

काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

आइतबार सम्पन्न सभामुख पदका लागि निर्वाचनमा सापकोटाको विरुद्धमा कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

स्वागत तथा पदभार ग्रहण

agni prasad sapkota, taking office,
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पदभार ग्रहण गर्दै

सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथ ग्रहणपछि उहाँ सीधै सिंहदरबारस्थित संघीय संसदको सचिवालय पुगेर पदभार ग्रहण गर्नुभयो ।

उहाँलाई संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले फूलमाला लगाएर स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा संसद सचिवालयका सदस्य तथा कर्मचारीहरू पनि स्वागत कार्यक्रममा सहभागिता थियो ।

प्रतिनिधिसभामा दर्ता भएको ‘कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक’लाई सदनमा पठाउन हस्ताक्षर गरेर सापकोटाले सभामुख पदको पदभार ग्रहण गर्नुभएको हो ।

नेकपाबाट राजीनामा

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजीनामा दिनुभएको छ ।

सभामुख सापकोटाले सोमबार प्रतिनिधि सभाको सभामुख पदको शपथ लिई पदभार ग्रहण गरेसँगै सभामुख सापकोटाले आफू आबद्ध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट  अलग रहेको घोषणा गर्नुभएको छ ।

agni sapkota, resignation, ncp, press release
सभामुख अग्निप्रसाद सापकोटाद्वारा नेकपाबाट अलग भएको घोषणा

आज एक विज्ञप्ति जारी गर्दै उहाँले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गर्नुभएको हो । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु’,सभामुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।’

आफ्नो विरोध र एमसीसीबारे सभामुख

पदभार ग्रहण गर्ने क्रममा सभामुख सापकोटाले आफ्नो विरोध हुनुलाई स्वभाविक रूपमा लिँदै त्यसलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताउनुभयो । नागरिक समाजका नाममा आफू विरूद्ध भइरहेको विरोधबारे उहाँले शालीन तरिकाले भन्नुभयो, ‘लोकतन्त्रमा विरोध भइरहन्छ, यसलाई अन्यथा लिएको छैन।’

सभामुख सापकोटालाई सभामुखको उमेदवार बनाउने निर्णय भएपछि स्वघोषित नागरिक समाजका नाममा विदेशी दातृ निकायको सहयोगमा चल्ने युद्धका पक्षधर, शान्ति विरोधीहरू र नेकपालाई विभाजित गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न लागिपरेका तत्त्वहरूबाट उहाँको निरन्तर विरोध हुँदै आएको छ ।

सार्वजनिक महत्त्वका विषयलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने पनि सभामुख सापकोटाले प्रतिबद्धता जनाउँदै सदनमा दर्ता भएका विधेयकहरु अध्ययन गरेर प्राथमिकताका आधारमा अघि अघि बढ्ने पनि बताउनुभयो ।

यतिबेला नेपाली राजनीतिमा सरगर्मी ल्याइएको एमसीसीबारे उल्लेख गर्दै सभामुख सापकोटाले एमसीसीका बारेमा बहस छेडिएकाले यसलाई अनुमोदन गर्न हतार गर्न नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीबारे बहस छेडिएको छ। जब बहस छेडिन्छ, निचोडतिर पुग्छ। अध्यनन गर्दै जाऊँ न सबैले। यसलाई अहिले किन हतार गर्नुपर्‍यो र?”

साभामुख सापकोटाले हिजोसम्म आफू नेकपाको सांसद र नेता भए पनि अब सबैको साझा भएको बताउनुभयो । उहाँले आफूलाई प्रतिपक्षले पनि स्वीकार गरेकाले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।