janayuddha diwas, peoples war day, phalgun 1, falgun 1
 

काठमाडौँ । यही फागुन १ गते २५औँ जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा संयुक्त ‘२५औँ जनयुद्ध दिवस तथा पुनर्मिलन समारोह’ आयोजना गरिने भएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते दस वर्षे महान जनयुद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाइँदै आएको छ । विगतमा विशाल रूपमा सगर्व आयोजना गरिने गरेको जनयुद्ध दिवस तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को विभाजनपछि सबै माओवादी घटकहरूले आ-आफ्नो सापेक्षतामा छुट्टाछुटै आयोजना गर्दै आएका थिए ।

यसपटक जनयुद्ध दिवसलाई साझा रूपमा र पार्टीसँगै विभाजित भएका माओवादी योद्धा तथा शुभचिन्तकहरूको पूनर्मिलन समारोह समेतको रूपमा मनाउने अभिप्रायले ‘जनयुद्ध स्मरण समिति’ मार्फत संयुक्त रूपमा आयोजना गर्न लागिएको हो ।

नेपाली जनताले आफ्नै सैनिक शक्ति निर्माण गरेर सशस्त्र संघर्षद्वारा २४० बर्षसम्म नेपाली जनताको छातीमा संगीनको बलमा शासन गर्दै आइरहेको जहानियाँ शाही राजतन्त्रलाई जरैदेखि उखेलेर फ्याँक्ने र त्यससँगसँगै नेपाली धर्तीबाट सामन्तवादलाई धूलिसात पार्न ठूलो योगदान गरेको महान जनयुद्ध नेपाली राजनीतिक इतिहासमा एक अभूतपूर्व घटना हुनुका साथै विश्व कम्युनिस्ट आन्दोलनका लागि एक उदाहरणीय परिघटना हो ।

Janayuddha Poster, People's War in Nepal, PW

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालित दस बर्षे महान जनयुद्धमा वैचारिक-राजनीतिक, सामरिक-फौजी, सामाजिक-सांस्कृतिक, आर्थिक-भौतिक र आत्मिक-नैतिक आदि विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका र हाल विभिन्न समूहमा रहेर वा नरहेर पनि नेपालको कायापलट गर्ने उद्देश्यसहित जनयुद्धको सिद्धान्त र व्यवहार, लक्ष्य र उद्देश्य, संस्कार र संस्कृति अनि मर्म र भावनाप्रति प्रतिबद्ध र कटीबद्ध शहीद तथा बेपत्ता परिवार, घाइते (अशक्त) योद्धा र तिनका परिवार, जेल-हिरासत पीडित र तिनका परिवार, राजनीतिक नेता-कार्यकर्ता र फौजी कमाण्डर-कमिसार तथा जनमुक्ति सेनाका योद्धा-मिलिसिया आदि कामरेड-साथीहरुको सामूहिक अनुभूति साटासाटसहित २५औँ जनयुद्ध दिवस पुनर्मिलन समारोहको रुपमा जनयुद्धका आस्था-निष्ठाका योद्धाहरुको स्मरण गर्दै आपसी भेटघाट तथा शुभकामना आदानप्रदान गरी कार्यक्रम मनाइने कुरा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा महान जनयुद्धका एक योद्धा क. नारायण शर्मा ‘कमलप्रसाद’ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो ।

कार्यक्रम २०७६ फागुन १ गते, बिहिबार काठमाडौँ, बागबजारस्थित होटल हार्दिकको नेपथ्य हलमा आयोजना गरिएको र दिउसो १ः०० बजेबाट सुरु हुने कुरा जानकारी गराउँदै पूर्वसभासद शर्माले कार्यक्रमको तीब्ररूपले तयारी भइरहेको जानकारी गराउनु भयो । उहाँले सबैलाई उपस्थितिका लागि पनि हार्दिक आमन्त्रण तथा अनुरोध गर्नुभएको छ ।