jhala nath khanal, JN khanal
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

२०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको मैदानबाटै पराजित गरेर पार्टी अध्यक्ष बन्न सफल हुनुभएका नेकपाका वरिष्ठ नेता क. झलनाथ खनालले नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो, होइन भने पार्टीको निर्णय टाउकाले टेकेर पनि कार्यान्वयन गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको हो ।

नयाँ पत्रिकासँगको कुराकानीमा क. झलनाथ खनालले भन्नुभयो, “बाहिर के आयो मलाई केही थाहा छैन । तर, म यति भन्छु– पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।”

क. झलनाथ खनालले क. वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयबारे प्रधानमन्त्री ओलीले कुनै असहमति नराखेको र बरु समर्थन गरेको बताउँदै क. गौतमको नाम सबै नौजनाले नै प्रस्ताव गरेको बताउनुभएको छ ।

“प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ” भन्ने नयाँ पत्रिकाको प्रश्नको जवाफ दिँदै क. खनालले, “पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?” भन्ने जवाफ दिनुभएको छ ।

उहाँले संविधान संशोधन गरेर नौजना सदस्य मनोनित गर्ने व्यवस्था गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको  खुलासा गर्दै बैठकले त्यसलाई अस्वीकार गरेको र संविधान संशोधनका लागि प्रस्तावित कार्यदल नै निष्क्रिय भइसकेपछि त्यो प्रसंगमा छलफल गर्नुको अर्थ नरहेको जिकिर गर्नुभएको छ ।