काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज क. अष्ठलक्ष्मी शाक्यले सामन्ती शासन ढलाए पनि सामन्ती सोचबाट ग्रसित भएको विचार व्यक्त गर्नुभएको छ ।
नेकपाको बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज क. शाक्यले सो कुरा बताउनु भएको हो । पूर्वमन्त्री समेत रहनुभएका क. शाक्यले नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सामन्ती शासन ढाल्यौ, तर हामी किन सामन्ती सोचबाट ग्रसित छौँ । हामी किन गणतन्त्रको नेता बन्न सकिरहेका छैनौँ ? पार्टीमा सांस्कृतिक विचलन आएको छ । लेनदेनको चलखेल भएको छ ।”
बागमती प्रदेशका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै इञ्चार्ज क. शाक्यले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको र विचलन आएको पनि बताउनु भयो । पछिल्लो समय सरकारका मन्त्रीहरू र नेताहरूले कम्युनिस्ट आचारण विपरित गरेका कामहरूको कडा आलोचना गर्दै उहाँले भन्नुभयो, “नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्ति दिनु हुनेछैन भन्ने विश्वास छ ।”
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा केक काटेर राजशी शैली अपनाएकोमा पनि आलोचना गर्नुभयो । “केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको” बताउँदै नेतृ शाक्यले, “त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ?” भन्दै प्रश्न गर्नुभयो ।
उहाँको आलोचनात्मक मन्तव्यमा कार्यकर्ताहरूले पटक पटक गडगडाहटपूर्ण तालि बजाएर उहाँले उठाएका विषयहरूमा समर्थन जनाएका थिए ।