काठमाडौँ । पूर्वसभामुख क. कृष्णबहादुर महराले आफूमाथि लागेको झुठो अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको छ र, सोसँगै उहाँ आजै कारागारमुक्त हुनु भएको छ ।
लोकप्रिय कम्युनिस्ट नेता क. महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता क. हिमाल शर्मासहित ठूलो संख्यामा कार्यकर्ताहरू त्यहाँ पुग्नुभएको थियो । आइतबारदेखि सुरू भएको सुनुवाइपश्चात काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले आज उहाँलाई निर्दोष रहेको फैसला सुनाउँदै अभियोगमुक्त गरी सफाइ दिएको थियो ।
अध्यक्ष प्रचण्डद्वारा बधाई
सादा जीवन र सरल स्वभाव भएका शालीन नेता महरालाई अदालतले निर्दोष रहेको फैसला दिएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता क. माधव नेपालले फोनमार्फत बधाई दिनुभएको थियो ।
अध्यक्ष क. प्रचण्डको अत्यन्तै निकट तथा विश्वासपात्रको रूपमा चिनिएका क. महरालाई अदालत परिसरमै हुँदा क. प्रचण्डले फोन गर्नुभएको थियो । ‘बधाइ छ कमरेड !’ अध्यक्ष प्रचण्डले फोनमार्फत क. महरालाई बधाई दिँदा उहाँले मुस्कुराएर ‘धन्यवाद’ भन्नुभएको थियो । अदालत परिसरबाट बाहिर निस्किँदा नेताहरुसँग कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य क. हिमाल शर्माले जानकारी दिनुभयो । ‘परिवारका सदस्य, पार्टीको शीर्ष नेतृत्व लगायतबाट उहाँलाई बधाई आइरहेको छ’ उहाँले भन्नुभयो ।
नेता महराद्वारा अदालतलाई धन्यवाद
डिल्ली बजार कारागारबाट रिहा हुँदै गर्दा उपस्थित पत्रकार तथा शुभेच्छुकहरूसँग कुराकानी गर्दै पूर्वसभामुख क. कृष्णबहादुर महराले न्याय दिलाउने अदालतलाई धन्यवाद दिनुभएको छ ।
क. महराले भन्नुभयो ‘मलाई न्याय दिलाउने सम्मानित अदालतलाई धन्यवाद छ । कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु। अरु कुरापछि गरौंला।’
रोल्पाभर उत्सव मनाइयो
‘महरा सर’को नामले राोल्पाली जनताको बिचमा लोकप्रिय क. कृष्णबहादुर महरा रोल्पाका चर्चित एवम् वरिष्ठ नेता हुनुहुन्छ । आज उहाँले अदालतबाट सफाइ पाएर जेलबाट रिहा भएलगत्तै रोल्पाका विभिन्न स्थानहरूमा स्वतस्फूर्त रूपमा जनताले आफ्ना प्यारा नेताको सफाइ र रिहाइमा हर्षोल्लाससहित उत्सव मनाएका छन् । रोल्पाका विभिन्न स्थानहरूमा जनसमुदायले बाजागाजासहित नाचगान गरेका थिए ।
दस वर्षे महान जनयुद्धको आधार इलाकाको रूपमा रहेको र हजारौँ जनताले जीवन बलिदान गरेको रोल्पा जनयुद्धकालमा विश्वभर चर्चित रहेको थियो । रोल्पाका पुराना तथा वरिष्ठ नेताको रूपमा रहनुभएका क. महरा हालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, उर्जामन्त्री क. वर्षमान पुन ‘अनन्त’, नेतृ क. जयपुरी घर्ती, पूर्वसभामुख क. ओनसरी घर्ती, ५ नं. प्रदेशका आन्तरिक मामिला मन्त्री क. सोनाम केसी लगायतका नेताहरूका शिक्षक तथा राजनीतिक गुरु पनि हुनुहुन्छ ।
जनवादी गणतन्त्र चीनका विश्वसनीय मित्र मानिने क. महरालाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको पूर्वसन्ध्यामा गिरफ्तार गरिएको थियो । कतिपय शक्ति राष्ट्रहरू र तिनका स्वदेशी प्रतिनिधि पात्रहरूको इच्छाविपरित राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण गराउन सकरात्मक पहल गरेको र एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नमानेको कारण उहाँलाई देशी-विदेशी षड्यन्त्रको आडमा झुठो आरोप लगाई गिरफ्तार गरिएको विश्लेषकहरूको दावी छ ।
संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहारको झुठो आरोपमा गत असोज १९ गतेदेखि गिरफ्तारीमा पर्नुभएका क. महरा सोमबार रिहा हुनुभएको हो । रोशनी शाहीले पटक पटक आफूमाथि ‘महरा सरबाट कुनै दूर्व्यवहार नभएको’ प्रतिक्रिया आएको थियो । उहाँ रिहा भएपश्चात खुमलटारस्थित आफ्नो डेरामा सर्नुभएको छ ।