pushpa kamal dahal 'prachanda', अध्यक्ष प्रचण्ड
 

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको महामारीका विरुद्ध संघर्षरत मानवजाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । आज अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा पार्टीको तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूको नाममा एक शुभकामना सन्देश जारी गर्दै सो विचार व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा “नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु,” उल्लेख छ ।

शुभकामना सन्देशको पूर्ण पाठः

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।

सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानवजातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।

यस सन्दर्भमा म आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपिल पनि गर्दछु ।

१ बैशाख, २०७७

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष