प्रचण्ड, खम्बसिंह कुँवर, काजी बा
 

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय क. जगतबहादुर श्रेष्ठ र क. खम्बसिंह कुँवर (काजी बा) लाई भेट गर्नुभएको छ ।

केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उहाँहरुको निवासमा पुगेर भेट गर्नु भएको हो । भेटमा दुवै जनाको स्वास्थ्य अवस्था बुझेर अध्यक्ष प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।

पुराना कम्युनिस्ट नेता श्रेष्ठको निवास पुलचोकमा पुगी अध्यक्ष प्रचण्डले स्वास्थ्य लाभको कामना गर्नुभयो । केही दिनअघि घरमै लडेर गम्भीर बिरामी पर्नु भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो ।

प्रचण्ड, जगत श्रेष्ठ
क. प्रचण्ड चितवनका पुराना वामपन्ती नेता क. जगत श्रेष्ठलाई भेट गर्दै

अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताउनु भयो । नेकपा अध्यक्ष प्रचण्डले श्रेष्ठले कम्युनिस्ट आन्दोलन र निष्ठाको राजनितिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उहाँलाई भेट्नुभयो । लामो समयदेखि प्रोस्टेटको समस्यामा रहनु भएका कुँवरले स्वास्थ्यलाभ गरिरहनु भएको छ । अध्यक्ष प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्चमनोबलका साथ जिउन आग्रह गर्नुभयो ।

‘काजी बा’ उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाउनु भएको थियो । पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस काम गर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ ।

चितवनका दुई जना पुराना वामपन्थी नेताको स्वास्थ्य अवस्था बुझ्न उहाँहरुको निवासमा पुग्नु भएका अध्यक्ष प्रचण्डसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष क. नारायण दाहाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख क. रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो ।