बाह्रबिसे, sindhupalchok, landslide
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी जनधनको क्षतिका साथै ३० जना स्थानीयवासी बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता हुनुभएको छ । उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहनुभएको छ । पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।

अध्यक्ष प्रचण्डले, “यस दुःखद क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध” गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको उल्लेख गर्दै यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँले पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डद्वारा जारी शोक वक्तव्यको पूर्णपाठ

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ ।

उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहनुभएको छ । पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।

यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।

यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।

शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

२८ भदौ, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष