Chairman Puspa kamal dahal prachanda
 

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेसबाट गरेको बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी तराई-मधेशबाट गरेको थिएँ र जनयुद्धमा पनि यहाँबाट नै सबैभन्दा बढी सहादत भएको छ । नेपालको इतिहासमा यति ठूलो वलिदान, त्याग र तपस्या अर्को कुनै आन्दोलनमा भएकै थिएन । यस अर्थमा म तपाईंहरुको ऋणी छु ।’

मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको उहाँको भनाइ थियो । उहाँले तराई-मधेस हिमाल पहाडको एकता टुट्न नदिने जिम्मेवारी आफूले महशुस गर्ने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउने दिनमा हाम्रो पार्टी आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्ने र संविधानको संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा सकारात्मक रहेको म जानकारी दिन चाहन्छु ।’

‘हाम्रो पार्टी र सरकारले तराई-मधेस विकास र समृद्धिमा जोड दिएको छ, ’ उहाँले भन्नुभयो, ‘तराई-मधेस बिनाको पहाड र पहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौँ र तराई-मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’

उहाँले तराई-मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रातिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताउनुभयो ।