काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा जारी गरिएको शुभकामना सन्देशमा पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, “१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
विज्ञप्तिमा अध्यक्ष प्रचण्डले हरेक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्वबारे प्रकाश पार्नुभएको छ, “आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।”
“विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त हो ।”, विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौँ ।”
विज्ञप्तिमा अगाडि उल्लेख छ, “पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको छ । प्रतिक्रियावादी प्रतिगामी तत्वहरूसँग प्रतिरोधपूर्ण संघर्षका लागि आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”
शुभकामनाको पूर्णपाठः
१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।
विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त हो ।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौँ ।
पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको छ । प्रतिक्रियावादी प्रतिगामी तत्त्वहरूसँग प्रतिरोधपूर्ण संघर्षका लागि आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
२४ फागुन, २०७७ (८ मार्च, २०२१)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष