सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई न जवानीको उन्मत्त समयमा देख्न पायो, न पाको उमेरमा भेट्न पायो, न त मृत्युपछि स्पर्श गर्न पायो ।
कार्ल मार्क्सको ज्ञान र विचारदेखि आतंकित भएर जर्मनीको तत्कालीन सत्ताले उनलाई कलिलै उमेरमा देशबाट लखेट्यो । लखेटिएका मार्क्स बाचुञ्जेल आफ्नो घर फर्किन पाएनन् । चीनमा कुँदिएको शालिक बनेर आफ्नो घर फर्किँदा मार्क्स जन्मिएको दुई सय वर्ष पूरा भएको थियो ।
तेइस वर्षको उमेरमा दर्शनशास्त्रमा विद्यावारिधी हासिल गरेका मार्क्स फ्रेडेरिक हेगेलको द्वन्दवादबाट प्रभावित भए । तर आफ्ना आदरणीय गुरु हेगेलको आदर्शवादलाई भने उनले आत्मसात गरेनन् ।
कार्ल मार्क्सले आदर्शवादको आलोचना गर्दै आफूलाई आकाश, पाताल र धर्तीका कोटीकोटी देवताहरुका विरुद्ध खडा गरे । सन् १८४५ को अप्रिलमा मार्क्सले लुडविग फायरवाखमाथि एघारौँ थेसिस लेख्ने क्रममा भने, “दर्शनशास्त्रीहरुले विश्वको पर्याप्त व्याख्या गरे । मुख्य कुरा यसलाई बदल्नु हो ।”
सन् १८४७ मा पुनर्गठित कम्युनिस्ट लिगको घोषणा पत्र लेख्ने जिम्मा मार्क्स र उनका साथी फ्रेडेरिक एङ्गेल्सलाई प्राप्त भयो । उक्त घोषणापत्रको सुरुमा लेखिएको छ, “आजसम्मको मानवजातिको इतिहास वर्गसंघर्षको इतिहास हो ।” त्यसको अन्तिममा लेखिएको छ, “मजदुरवर्गसँग हत्कडी बाहेक गुमाउनका लागि केही छैन । उनीहरुसँग जित्नका लागि सिङ्गो संसार छ । विश्वका मजदुरहरु एकजुट होऔँ ।”
मानवजातिको इतिहासलेखनमा ऐतिहासिक भौतिकवादी धाराको विकास गर्ने श्रेय कार्ल मार्क्सलाई जान्छ। आदर्शवादको जाली परम्परा त्यागेर वर्गसंघर्षको उठान गर्न र पुँजीवादी सत्तामाथि धावा बोल्न कार्ल मार्क्सले आम मजदुरवर्गलाई आह्वान गरे ।
कार्ल मार्क्सको समयमा पूरै युरोप बेलायती औद्योगिक क्रान्ति र फ्रान्सेली राज्यक्रान्तिबाट प्रभावित थियो । उनले त्यस्तो पुँजीवादलाई नजिकबाट नियालिरहेका थिए, जसले थोरै मात्र पुँजीपती र अत्यधिक संख्यामा श्रमिकहरु जन्माउँथ्यो । हरेक व्यवस्थाझैँ पुँजीवाद पनि अजम्बरी हुन नसक्ने निर्क्यौलमा मार्क्स पुगे ।
उनको विशाल कृति “पुँजी” मा यसबारे सबिस्तार वर्णन गरेका छन् । जीवनभरि पुँजीवादको खोज अनुसन्धान, श्रमजीवी मानवजातिको दर्शन निर्माण र संगठन निर्माणमा अहोरात्र खटेका मार्क्स कहिल्यै थाकेनन् । रोग, भोक र तत्कालीन सत्तासँग निरन्तर जुधिरहे । यो लडाइँ निःस्वार्थ थियो । उनले टाउकोदेखि पैतालासम्म रगत र फोहोरले लत्पतिएको पुँजीसँग कहिल्यै मोलमोलाई गरेनन् ।
सन् १८८३ मार्च १४ गते कार्ल मार्क्सको मृत्यु भयो । उनले उठान गरेको वर्गसंघर्षको दर्शनले युरोपमा आफ्ना हातखुट्टा फैलायो । त्यसैमा मजदुरहरुले एउटा बलियो वैचारिक हतियार भेटाए ।
मार्क्सको विचार भौतिक शक्तिमा रुपान्तरित हुन थाल्यो । उनको विचारले प्रथम विश्वयुद्धको उत्तरार्धमा रुसमा सत्ता प्राप्त गर्न त्यहाँको मजदुरवर्गलाइ सहयोग गर्यो ।
इतिहासकार एच. जी. वेल्सका अनुसार इस्लामको उदयपश्चात रुसी क्रान्ति सर्वाधिक महत्त्वपूर्ण घटना हो । रुसी क्रान्तिले मार्क्सवादको औचित्यलाई सावित गरेको थियो । कारखानामा अत्यन्त न्यून ज्यालामा अधिक श्रम गर्न बाध्य मजदुरहरुले राज्यसत्ता सञ्चालनको जिम्मेवारी प्राप्त गर्नु चानचुने घटना थिएन । पुजीवादी विश्लेषकहरुले पेरिस कम्युनझैँ रुसी क्रान्ति पनि धेरै नटिक्ने आँकलन गरेका थिए। तर धेरै अनुमानहरुविपरीत रुसमा श्रमजीवी जनताको सत्ता लामो समय टिक्यो । युरोपपछि एसियामा पनि मार्क्सवादको सफल प्रयोग भयो । चीनमा दोश्रो विश्वयुद्ध लगतै क्रान्ति सम्पन्न भयो ।
आज पनि मार्क्सवाद उत्तिकै सान्दर्भिक र लोकप्रिय छ । इतिहासकार एरिक हब्स्बामका अनुसार सोभियत संघको पतनपश्चात पुँजीवादले आफ्नो अनिवार्य मृत्युलाई जित्यो । सहयोग र सहअस्तित्वबाट समाजवाद सम्भव छ भन्नेहरु पनि सिद्धान्तको सच्चाइमा फर्किनु परेको छ।
पुँजीवाद जब जब थलिन्छ, तब तब मार्क्सको सम्झना संसारमा बढी हुने गर्दछ । सन् २००८ को मन्दीताका “मार्क्स फर्किए” भन्ने नाराले चर्चा बटुल्यो । पोप बेनेडिक्टले समेत मार्क्सको प्रसंशा गरे । हरेक ठाउँमा मार्क्सको चर्चा चुलियो । तर बजार पुँजीवाद मरेन । यो सन्चो भयो ।
विश्व व्यवस्थाको परिकल्पना गर्ने वित्त पुँजीवादले राजनीतिक समानता र स्वतन्त्रताको वकालत गरे पनि आर्थिक असमानताको विश्वव्यापी दर बढाएको छ । अर्थशास्त्री थोमस पिकेटी भन्छन्, “उन्निसौ शताब्दीको औद्योगिक पुँजीवादले असमानता जन्मायो भने एक्काइसौँ शताब्दीको वित्तीय पुँजीवादले पनि त्यही असमानता बढाइरहेको छ ।” मालिक र कामदारको आम्दानी बिच बढ्दो अन्तरले पुँजीवादको अवश्यमभावी मृत्युलाई झन नजिक बनाउँछ ।
आज विश्वले कोभिड-१९ भाइरस संकट झेलिरहेको छ । श्रमजीवीहरुको जनजीवन कष्टकर बनेको छ । थोमस पिकेटीका अनुसार विश्वको आधा जनसंख्यासँग कुनै निजी सम्पत्ति छैन । यतिबेला त्यो आधा जनसंख्या भोकको डरलाग्दो महामारीको अगाडि उभिएको छ किनकि खानेकुरा किन्नका लागि त्यो जनसंख्यासँग केही पनि छैन ।
पचास प्रतिशतभन्दा बढी सम्पत्ति थुपारेको एक प्रतिशत जनसंख्याले भोकलाई चिनेकै छैन । अरबौँ भोका मानिसहरु जोसँग सम्झिनका लागि भोकबाहेक केही छैन, ती सब एक भएर विद्रोह गरे भने राजनीतिक नक्सा निश्चय नै फेरिन्छ ।
आज सँधै काम गरेर पनि संकटमा एक्लै रोग र भोकसँग लड्न विवश उत्पीडित वर्गका दार्शनिक कार्ल मार्क्सको जन्मदिन । कोरोना भाइरस महामारीका कारण काम खोसिएका तमाम मजदुरहरुलाई पुँजीवादी शोषणका विरुद्ध संगठित हुने अजस्र प्रेरणा मिल्नेछ । यही शुभकामना ।।