Madan Bhandari
 

काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी  स्मृति दिवस मनाउने भएकाे छ ।

वि‍.सं २०५० जेठ ३ गते चितवनकाे दासढुङ्गामा भएकाे जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनलाइ सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उहाँहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो ।

जनान्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा(माले) र नेकपा (मार्क्सवादी) बिच विसं २०४७ मा एकीकरण गराएर नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को नीतिलाई तत्कालीन नेकपा (एमाले) ले पछ्याउँदै आएको थियो । गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको बताइन्छ ।

बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचन २०४८ मा पार्टी देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा उहाँले मार्क्सवादमा नै आधारित जबज सिद्धान्त र कार्यक्रम प्रतिपादन गर्नुभएकाे थियाे । नेकपा मात्र हाेइन आज पनि उहाँलाई सिङ्गाे राष्ट्रले उत्तिकै सम्मान र स्मरण गर्दै आएको छ ।

nekapa, nepal communist party, ncp, cpn

गत वर्ष २५ औँ मदन–आश्रित स्मृति दिवसकै अवसरमा तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो । पार्टी एकीकरणको एक वर्ष पुगेका अवसरमा शुक्रबार मदननगरमा आयोजना हुने कार्यक्रममा पार्टीका सबै जनवर्गीय सङ्गठनको एकताको घोषणा हुँदैछ ।

अहिले केहीवेर पछि  बिहानकाे ८ बजे आयाेजना गरिएकाे कार्यक्रमलाइ पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले संवाेधन गर्नुहुने बताइएकाे छ । पार्टी मुख्य  कार्यालय धुम्वाराहीका कार्यालय सचिव कृष्ण गाेपाल श्रेष्ठले एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यक्रममा सहभागी हुन सबैलाइ आग्रह गर्नुभएकाे छ ।