विषय प्रवेश:
नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई कसैले नकार्न सक्दैन । जनताले सशस्त्र र निशस्त्र संघर्षको संयोजनद्वारा सफलता हासिल गरेको त्यो ऐतिहासिक परिवर्तनले नेपाललाई ‘सामन्तवाद र अर्ध–उपनिवेशको चरण’ बाट ‘अर्ध–सामन्तवाद र अर्ध–उपनिवेशको चरण’ मा फड्को हान्न मद्दत गर्यो ।
परन्तु यो संयुक्त जनआन्दोलनको विषयमा केही अन्यौल, झुठ र भ्रमहरु छरिएका छन्, जसको निराकरण हुनु अति जरुरी छ । तीमध्ये तीन वटा विषयहरु मुख्य छन् । १. के २००७ सालको आन्दोलन स्वघोषित महामानव विशेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले एक्लै गरेको आन्दोलन हो वा त्यसमा कमरेड पुष्पलालको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, यसका नेताहरु र आम जनताको भूमिका थियो ? २. तत्कालीन राजा त्रिभुवन २००७ सालको आन्दोलनका नायक तथा ‘प्रजातन्त्रका पिता’ थिए वा एउटा कायर भगौडा राजा ? ३. २००७ सालको परिवर्तनपछि नेपाली काँग्रेसको भूमिका लोकतन्त्रवादी थियो कि राष्ट्रघाती र जनविरोधी ? विशेषगरी संविधान सभाको निर्वाचनको सन्दर्भमा उसले कस्तो भूमिका खेलेको थियो ? यी तीन वटा विषयहरुलाई क्रमिक रुपमा तीन भागमा विभक्त गरी प्रस्तुत गर्ने कोशिस गरिएको छ ।
१. नेकपाको स्थापना र २००७ को जनआन्दोलन:
महान् लेनिनको नेतृत्वमा सन् १९१७ मा तत्कालीन रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको झण्डै ३२ वर्ष पुग्दै गर्दा र महान् माओको नेतृत्वमा तत्कालीन चीनमा नयाँ जनवादी क्रान्तिको झण्डा लहराउँदै गर्दा विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक तथा महानतम् विचारकद्वय कार्ल माक्र्स र फ्रेडेरिक एङ्गेल्सकृत र कमरेड पुष्पलालद्वारा नेपालीमा भाषान्तरित ‘सर्वहारा वर्गको धर्मग्रन्थ’ भनेर विश्व प्रसिद्ध दस्तावेज ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ २००५ साल चैत्र २३ गते मङ्गलबार (सन् १९४९ अप्रिल ५ तारिख) का दिन प्रकाशित भयो ।
वि.सं. २००६ साल वैशाख १० गते शुक्रबार (सन् १९४९ अप्रिल २२ तारिख) लेनिन जयन्तीका दिनमा भारतको कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकार लेनमा अवस्थित एउटा घरमा बैठक बसी पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना भयो । पार्टी गठन गर्दा नेकपाका संस्थापकका रूपमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलाश जोशी समेत भए पनि त्यसको मुख्य राजनीतिक, वैचारिक र साङ्गठानिक नेतृत्व भने संस्थापक महासचिवका रूपमा पुष्पलालले गरे । उक्त बैठकमा माग लिन भनेर भारत गएकी तर बैठकमा सहभागी हुन नपाएकी दुर्गादेवी श्रेष्ठ (मोतीदेवी)लाई पनि पछि संस्थापकका रूपमा लिइयो तर यो कुरा विवादित रहेको छ ।
नेकपाको स्थापना भएको तेस्रो दिन (वि.सं. २००६ साल वैशाख १२ गते) नेपाल कम्युनिस्ट पार्टी संङ्गठन समितिको नाममा पहिलो हस्तलिखित पर्चा जारी भयो । नेकपाको घोषणा पत्र तयार गरी प्रकाशन गरियो । देशका विभिन्न ठाँउहरूमा ती अध्ययन तथा प्रचार सामग्रीहरूलाई पुराउँदै पार्टीको सम्पर्क सम्बन्ध विस्तार गर्दै लैजाने काम भयो ।
देशमा कम्युनिस्ट पार्टीको स्थापनाले जनतामा चेतना र जागरुकता पैदा गर्न सुरु ग¥यो । निरङ्कुश राणाशाहीको थिचोमिचो र सामन्ती शासनको बर्बरताबाट मुक्त हुँदै नेपालमा लोकतन्त्र स्थापना गर्ने उच्च आकाङ्क्षा बोकेर नेपाली जनताले २००७ सालको ऐतिहासिक जनआन्दोलन गरे । यो आन्दोलन एउटा संयुक्त जनआन्दोलन थियो, जसमा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजा परिषद् लगायतका शक्तिहरू सहभागी थिए भने तत्कालीन राजा त्रिभुवनले आफ्नो समेत समर्थन रहेको जनाएका थिए । सो आन्दोलन संयुक्त भए तापनि त्यसभित्रका लक्ष्य, उद्देश्य र दाउ भने फरक फरक थिए ।
त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी र त्यो आन्दोलनका मुख्य चालक शक्तिका रूपमा रहेका आम नेपाली जनसमुदायको चाहना नेपालमा राणाशाहीका साथै राजाशाही र सामन्तवादलाई नै ध्वस्त गरी पूर्ण क्रान्ति गर्ने, संविधान सभाबाट आफ्नो संविधान आफैँ बनाउने र राजाविनाको जनवादी गणतन्त्रात्मक व्यवस्था स्थापित गरी समाजवादतर्फ अगाडि बढ्ने थियो भने सम्पूर्ण सत्ता र कार्यकारी अधिकार आफ्नो हातमा लिएर प्रत्यक्ष रूपमा जहानियाँ शासन गर्दै नेपाली जनतामाथि १०३ वर्षसम्म क्रूर शोषण, दमन र निरङ्कुश अत्याचार गरिरहेको राणाशाहीको दाउ चाहिँ जसरी भए पनि आन्दोलनलाई मत्थर पार्ने र आफ्नो सामन्ती, बर्बर र अधिनायकवादी सत्तालाई कायम राखिरहने थियो ।
जनताको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताउने तत्कालीन राजाशाहीको दाउ आफूलाई खोपीमा सीमित गरेर प्रत्यक्ष रूपमा जहानियाँ शासन गरिरहेको राणाशाहीको ठाउँमा आफूलाई स्थापित गर्ने, राणाहरूले गरिरहेको शासन, शोषण, दमन, अत्याचार, भ्रष्टाचार तथा व्यभिचार आफूले गर्ने र धनमाल, इज्जत र प्रतिष्ठा कमाउने मात्रै थियो । अर्को शब्दमा, तिनीहरूको उद्देश्य केवल राणाहरूले खोसेको आफ्नो राजकीय अधिकार आफूमा फिर्ता गर्ने मात्रै थियो, जनतालाई लोकतन्त्र र अधिकार दिने थिएन ।
२००७ सालको त्यो ऐतिहासिक संयुक्त जनआन्दोलनको नेतृत्व भने नेपाली काँग्रेसले गरेको थियो । अपितु त्यो संघर्षको नेतृत्वकर्ता शक्ति हुनुको बाबजुद पनि नेपाली काङ्ग्रेस र बी.पी. कोइरालाको उद्देश्य र चाहना प्रस्ट थिएन । तिनीहरूले सधैँ दुईजिब्रे कुरा गर्दै आएका थिए । उनीहरूसँग आन्दोलनलाई कहाँसम्म पुर्याउने, आफ्नो सत्ता कसरी ल्याउने, आन्दोलनपछि कस्तो व्यवस्था स्थापना गर्ने भन्ने जस्ता विषयमा कुनै स्पष्टता थिएन । उनीहरूले सशस्त्र क्रान्तिको नारा अघि सारेका थिए र आफ्नो मुक्ति सेना पनि थियो तर सशस्त्र सङ्घर्षबाटै सत्ता कब्जा गर्ने कुरा मान्दैनथे । उनीहरू लोकतन्त्रको कुरा पनि गर्दथे तर सधैँ सम्झौताको भाषा बोल्दथे । उनीहरूले समाजवादको नारा लगाउँथे तर साम्यवाद र कम्युनिस्ट पार्टीको विरोध गर्थे । उनीहरूको चरित्र ‘बोलिमा क्रान्तिकारी तर व्यवहारमा सङ्कीण, अवसरवादी र कम्युनिस्ट विरोधी’ थियो । दिल्ली सम्झौतासम्म पुग्दा काङ्ग्रेसको स्वार्थी र सत्तालोलुप चरित्र पनि उदाङ्गियो ।
यसलाई अलि गहिरिएर हेर्दा २००७ सालमा सशस्त्र सङ्घर्षबाट सुरु भएको सो संयुक्त जनआन्दोलनको पृष्ठभूमिमा केही महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरू थिए । अन्तर्राष्ट्रिय रूपमा हेर्दा दोस्रो विश्वयुद्धको विजेता सोभियत सङ्घमा स्टालिनको नेतृत्वमा शक्तिशाली समाजवादी सत्ता थियो । भारतमा वि.सं. २००४ साल साउन ३१ गते शुक्रबार (सन् १९४७ अगस्ट १५) देखि नेपालको राणाशाहीलाई प्रत्यक्ष समर्थन गर्ने अङ्ग्रेजी साम्राज्यवादको प्रत्यक्ष शासन समाप्त भएर स्वतन्त्रता प्राप्त भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ क्रान्ति विजयी भएर वि.सं. २००६ आश्विन २० गते बिहिबार (सन् १९४९ अक्टोबर ६) को दिन जनवादी गणतन्त्रको स्थापना भएको थियो ।
राष्ट्रिय रूपमा हेर्दा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएर नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो सैद्धान्तिक गोरेटो कोर्ने र वैचारिक आधार निर्माण गर्ने चरणमा थियो, सङ्गठनात्मक क्षेत्रका कामहरू तीव्र गतिमा अगाडि बढ्दै थिए, देशव्यापी सम्पर्क सम्बन्धहरू स्थापित हुँदै थियो, यद्यपि बृहत् रूपमा सङ्गठनको जालो र त्यसमा आधारित केन्द्रीकृत शक्ति निर्माण भइसकेको थिएन । तर किसान सङ्घर्ष अगाडि बढिसकेको थियो र पार्टी सङ्गठन पनि द्रुत गतिमा निर्माण हुँदै थियो ।
सोभियत सङ्घ र चिनियाँ क्रान्तिको लहर फैलिएको समयमा यदि कम्युनिस्टहरूले सैद्धान्तिक र वैचारिक कामको प्रारम्भिक चरण पुरा गरेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउँदै आफ्ना लोकप्रिय नाराहरू अगाडि सारेर सङ्घर्षमा जाँदा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुने देखेपछि भारतीय शासकहरूले नेपालका राणाहरूले सामान्य सुधारसम्म पनि गर्न नचाहेको स्थितिमा उनीहरूमाथिको समर्थन फिर्ता लिँदै नेपाली काङ्ग्रेसलाई (राष्ट्रिय र प्रजातन्त्र) एकीकृत हुन र सङ्घर्ष सुरु गर्न दबाब दिए ।
दूरदर्शी र आँटी स्वभावका कमरेड पुष्पलालको नेतृत्वमा कम्युनिस्टहरू अगाडि बढेमा आफ्नो अस्तित्व समाप्त हुने कुरा चलाख र धूर्त स्वभावका बी.पी. कोइरालाले नबुझ्ने कुरै भएन । त्यसैले पहिले काङ्ग्रेस नेताहरूले राजा त्रिभुवनलाई हातमा लिई इन्द्रजात्राको दिन प्रधानमन्त्री मोहन शमशेरको हत्या गर्ने योजना रचे । तर सो योजना भण्डाफोर भएपछि २००७ सालको भदौमा नेपालको दक्षिणी सिमाना बैरगनियाँमा सम्मेलन गरी “सिंहदरबारमा झन्डा गाड, अन्तिम दमसम्म लड” भन्ने नारा अघि सार्दै सशस्त्र क्रान्ति गर्ने फैसला गरे । आन्दोलनको उठान गर्दै २००७ कार्तिक २१ गते वीरगन्जमा नेपाली काङ्ग्रेसको नेतृत्वमा मुक्ति सेनाले हमला गर्यो तर असफल भयो । नेपाली काङ्ग्रेसले सशस्त्र सङ्घर्षलाई अत्यन्तै साँघुरो दायरामा राख्ने र राणाशाहीलाई झुकाउन मात्रै प्रयोग गर्न चाहेको भए पनि उसले अब पूर्व–पश्चिम मोर्चा नखोली सुखै पाएन ।
नेपाल कम्युनिस्ट पार्टीले तत्कालै सशस्त्र सङ्घर्षको समर्थन गर्यो । स्थानीय जनता र काङ्ग्रेसभित्रका वामपन्थीहरूले आ–आफ्नै ढङ्गले सङ्घर्षलाई अगाडि बढाउँदै लगे र जिल्ला जिल्लामा मुक्ति सेना गठन गर्दै त्यो सङ्घर्षलाई सामन्तहरूको जालि तमसुक च्यात्ने, जमिन कब्जा गर्ने र किसान मुक्तिको सङ्घर्षको रूप दिँदै अगाडि बढे । कम्युनिस्ट पार्टीले यो सङ्घर्षको दायरालाई अझ फराकिलो पार्दै ‘दीर्घकालीन कृषि क्रान्ति’ अर्थात दीर्घकालीलन जनयुद्धको दिशामा अगाडि लैजान चाहन्थ्यो । त्यसैले भारत सरकार र काङ्ग्रेसले एकपछि अर्को गर्दै कम्युनिस्ट पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्दै गयो । मोरङमा नरबहादुर कर्माचार्य, मनमोहन अधिकारी, डी.पी. अधिकारी र रक्सौलमा तुलसीलाल अमात्य, पी.एन. राणा, केदार उपाध्याय लगायत कयौँ नेकपा र किसान नेताहरूलाई गिरफ्तार गरियो भने बङ्गाल सरकारले कमरेड पुष्पलाललाई समेत वारेन्ट जारी गर्यो । त्यसका बाबजुद पनि नेकपाले सो सङ्घर्षमा आफ्नो समर्थन र सहयोग जारी राख्यो, जसले गर्दा काङ्ग्रेस नाङ्गिँदै गयो र सशस्त्र सङ्घर्षले जनआन्दोलनको विशाल रूप ग्रहण गर्यो ।
एकातिर निरङ्कुश राणाशाहीका विरुद्ध आन्दोलनमा जानैपर्ने तर त्यसलाई ठोस दिशा प्रदान गर्दै नेतृत्व गर्नका निम्ति आफ्नो साङ्गठनिक तयारी पुरा नभएको, अर्कातिर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको र भारत स्वतन्त्र भएकाले आन्दोलनका पक्षमा अनुकूलता पनि रहेको तर आन्तरिक तयारी पुरा नभएकाले आन्दोलनको नेतृत्व काङ्ग्रेसमा जाने प्रतिकूलता रहेको समयमा सुरु भएको सो आन्दोलनको सन्दर्भमा सुरुमा नेकपा अप्ठ्यारोमा परे पनि स्थपना लगत्तै निरन्तर सङ्घर्षमा रहेको, किसान सङ्घर्ष सुरु गरिसकेको र नेपाली काङ्ग्रेसबाट विद्रोह गरेर ठुलो सङ्ख्यामा क्रान्तिकारीहरू नेकपामा गोलबन्द हुँदै गएकाले पछि उक्त आन्दोलनमा नेकपा आफ्नो पुरै शक्तिका साथ होमियो र विभिन्न मोर्चाहरूको नेतृत्व ग¥यो ।
कम्युनिस्ट विरोधीहरूले मूल प्रवाहको नेपाली इतिहासमा लिखित नगरिदिए पनि वास्तवमा सो आन्दोलनमा कम्युनिस्ट पार्टीको अत्यन्तै महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो । पार्टीको सङ्गठनात्मक शक्ति कमजोर भए पनि कमरेड पुष्पलालको दूरदर्शिता, अरू नेताहरूको जुझारूपन र नेकपाका लोकप्रिय नाराहरूको कारणले सङ्घर्ष विजयोन्मुख चरणमा पुग्दा निर्णायक रूपमा र दिल्ली सम्झौतापछि भने पूर्ण रूपमा नेकपाको नेतृत्व स्थापित भएको प्रस्टै देखिन्छ । यसर्थ २००७ सालको परिवर्तनको नेपाली काँग्रेसले नेतृत्व गरेको कुरा सही भए पनि सबै कुरा एक्लै गरेको र एक्लै सफल बनाएको भन्ने कुरा सरासर झुठ हो । त्यो सत्य र तथ्यको हत्या हो ।
क्रमश: ………….
याे पनि पढ्नुहाेस् ः