म नौजवान उमेरमा जातीय तथा वर्गीय मुक्तिका लागि नेकपा(माओवादी)को नेतृत्वमा भएको महान् तथा गौरवशाली दसवर्षे जनयुद्धमा हाम्फालेको हुँ। जनयुद्धमा होमिनु मेरा लागि कुनै बाध्यता थिएन ।बरु इतिहासको आवश्यकता थियो । मैले कुरा बुझेर नै नेकपा (माओवादी)को जनयुद्धमा लागेको हुँ । नेकपा(माओवादी) का अध्यक्ष क. प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गते – “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौँ ! जनयुद्धको बाटोमा अघि बढौँ ! विद्रोह जनताको अधिकार हो ! जनयुद्ध- जिन्दावाद ! नेकपा(माओवादी)- जिन्दावाद ! मार्क्सवाद-लेनिनवाद-माओवाद-जिन्दावाद” को नारा सही थियो । मलाई ठिक लाग्यो र म नेकपा (माओवादी) जनयुद्धमा लागेँ ।
नेकपा(माओवादी)ले जनयुद्धको थालनीमा रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको आठबिसकोट-राडी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी,गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा एकैरातमा आक्रमण गरी जनयुद्धको घोषणा भयो ।
पार्टीले मित्रशक्ति र दुश्मन शक्तिको वर्गीकरण गर्यो । गरिब किसान, सुकुम्बासी, दलित, मजदुरवर्गका दुश्मन सामन्त, दलाल नोकरशाही पुँजीपतिवर्ग र यिनीहरूसँग मिलेका राज्यसत्ता र सुरक्षा निकायहरूलाई आक्रमणका निशाना बनायो । राजनीतिक र फौजी लक्ष्य हासिल गर्नका लागि वर्ग दुश्मनको पहिचान र परिभाषा गरिनु सही थियो । संगठनको स्वरूप फौजी र संघर्षको स्वरूप युद्ध थियो । विचार, कार्यदिशा सही थियो । म जनयुद्धमा होमिएँ ।
प्रचार-प्रसार,एम्बुस,माइनिङ्ग,सेबोटेज लगायत फौजी तथा गैरफौजी कार्वाही अगाडि बढायो । पार्टीको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीतिसहित जनयुद्धका तीन चरण – रक्षात्मक चरण, सन्तुलनको चरण र प्रत्याक्रमणको चरण” बाट राजनीतिक तथा फौजी कार्वाहीहरूलाई घनिभूत अगाडि बढायो । निश्चित राजनीतिक र फौजी लक्ष्यसहित अगाडि बढेको नेकपा (माओवादी) को जनयुद्ध सही थियो । यसकारण मैले आफ्नो समुदाय र वर्गको मुक्ति यहीँबाटै हुन्छ भन्ने ठानेर जनयुद्धमा होमिएको हुँ ।
नेकपा (माओवादी) जनयुद्धलाई दबाउन थालनीदेखि नै राज्यसत्ता सरकार र सुरक्षा निकायका सबै शक्ति तथा संयन्त्रहरू माओवादी जनयुद्धका विरुद्ध सक्रिय भए । राज्यद्वारा जनयुद्धको थालनीको केही दिनमै निरन्तरताको क्रममै २०५२ फागुन १४ गते गोरखा जिल्लाको पुन्द्रुङस्थित ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको प्रहरीले गोली हानी हत्या गर्यो । सबैभन्दा पहिले निर्दोष मान्छे मार्ने काम राज्यबाटै भयो । जनयुद्धको केन्द्रविन्दु रुकुम, रोल्पा लगायत जाजरकोटमा जनयुद्ध दबाउने निहुँमा राज्यद्वारा राज्यका सबै शक्ति र संयन्त्रहरू प्रयोग गरी निर्दोष मानिसहरूको हत्या गर्दै दमनमा उत्रियो ।
जनयुद्ध दबाउने नाउँमा देशव्यापी हत्या, बेपत्ता, बलात्कार, आगजनी, धरपकड, गिरफ्तार, जेलनेलको हडकन्डासहित राज्यआतंक मच्चायो । जनयुद्ध थालनीअघि रोल्पामा – “रोमियो अप्रेसन” गरी दमन गरेको राज्यसत्ताले जनयुद्ध थालनी र निरन्तरतासँगै जनयुद्ध दबाउन – “सर्च एण्ड कर्डन” अप्रेसन चलायो ।
राज्यद्वारा गरेको दमनले नेकपा (माओवादी) जनयुद्धको प्रभाव झनै देशव्यापी बन्न पुग्यो । राज्यद्वारा गरिएको बर्बर दमनका विरुद्ध नेकपा (माओवादी) ले प्रतिरोध, आक्रमणका फौजी कार्वाहीहरू अगाडि बढाउन थाल्यो । यसैबिच रामेछापको त्रिवेणी प्रहरी चौकी कब्जा, रुकुम क्युवाङको सफल एम्बुस स्क्वाएडद्वारा गरिएका यी कार्वाहीहरूले नेकपा (माओवादी) जनयुद्धको विकास र सफलतातर्फ परिभाषित गर्यो । हतियार कब्जाको पहिलो एम्बुस थियो – रुकुम क्युवाङको एम्बुस, यो हाम्रो ठुलो सफलताको एम्बुस थियो । यसले लक्ष्यसम्म पुग्ने आत्मविश्वास बढ्यो ।
राज्यद्वारा सबै शक्ति तथा संयन्त्रहरू प्रयोग गरी गरेको दमनबाट यसअघि २०५२ चैत्र ५ गते काक्री त्रिवेणीमा क. धनमाया श्रेष्ठ, क. चक्रबहादुर श्रेष्ठ र क. जयबहादुर बुढालाई कब्जामा ल्याई प्रहरीले गोली हानी हत्या गर्यो । जिल्लाव्यापी प्रहरीको राज्यआतंकले सीमा नाघेको थियो । यसकारण पनि प्रहरीमाथि कार्वाही आवश्यकता थियो र एम्बुसमार्फत कार्वाही पनि सफल भयो । त्यसपछि राज्यद्वारा पालितपोषित प्रहरीहरूले रुकुममा जिल्लाव्यापी बर्बर जंगली दमनको ताण्डव देखाए ।
प्रहरीको टार्गेटमा पर्यो – “गुनाम गाउँ” । २०५३ जेठ १ गते भएको अप्रेसनमा गुनामबासी जनतालाई कब्जामा लिई प्रहरीले धेरै अमानवीय यातना दियो । लुटपाट मच्चायो । दमन गर्यो । “दलजित कहाँ छ देखाऊ, नत्र मारिदिन्छौँ” भन्दै राइफलको कुन्दाले बुढाबुढी, बालबच्चा, महिला-पुरुष केही नभनेर सबैलाई भेटेजतिलाई मरणासन्न हुने गरी कुट्यो । जनताका घर-घरमा पसेर लुटपाट नै मच्चायो । प्रहरीको पहिलो टार्गेटमा परेको मेरो जन्मघरलाई चारैतिरबाट घेरा हालेर घरमा भएका बृद्धअवस्थाका बुबाआमालाई राइफलको कुन्दैकुन्दाले हिर्काएर सख्त घाइते बनायो । सानो बच्चालाई भुइँमा पछारिदियो । बुबाको नाक,-मुखबाट रगत बग्यो । आमालाई छातीमा हानेको चोटको कारण लामो समयपछि त्यही घट्ना र दु:खाइ नै जीवनको अन्तिम बन्यो । बुबा भने जेठ १ गतेको प्रहरी यातनाकै कारण अत्याधिक रगत बगेर, छातीका करङ्गहरू भाँचिएको हुनुपर्छ तत्काल उपचार गर्न पाएनौँ । जेठ ३ गते राति बुबासँग अन्तिम भेट भयो मेरो । मध्यरातपछि बुबाको निधन भयो । जेठ ४ गते बुबाको अन्तिम श्रद्धाञ्जलीसहित मगराखोलामा दाहसंस्कार भयो । बुबाको पार्थिव शरीर चिहानबाट आगोमा जलेर धुँवा उडिरह्यो – शरीर पूरै खरानी बनिरह्यो – जंगलबिच रुखको छेउमा बसेर हातमा दुरबिन लिएर सुरुदेखि अन्तिमसम्म पूरै समय हेरिरहेको क्षण आज पनि उत्तिकै ताजा छ मेरो मानसपटलमा ।
राज्यद्वारा टाउको काटी लिनेलाई पुरस्कार घोषणा गरिसकेको थियो – म लगायत केही साथीहरूको खोजी तीब्र पारेको थियो । घरपरिवार,आफन्तजन,पार्टी पंक्तिमा समेत सबैको सरसल्लाह र सुझावका कारण बुबाको चिहानमा जान सकिएन । सम्झँदा अझै पनि भावुक हुन्छु म ।
बुबाको निधनपछि काजकिरिया बारे कुरा गरिरहनु भएका दाजुहरूलाई घर पुगेलगत्तै प्रहरीले कब्जामा ल्याई यातना दियो । प्रहरी चौकी महतमा उपस्थिति हुने गरी छोड्यो । मृत्युको घटना पीडाको क्षणमा पनि प्रहरीबाट गरेको यस्तो व्यवहार राज्यको क्रुरताको पराकाष्ठा हो । राज्यद्वारा गरिएको दमनबाट हाम्रो परिवार कत्ति पनि हतोत्साही बनेन । बरु स्पात बन्यो ।
बुबाको निधन भएको २२ दिन मात्र बितेको थियो । हामी एउटा जनकार्वाहीमा जाँदै थियौँ । सर्वेका सबै कामहरू करिब सबै फाइनल भएको थियो । इन्टेल विभागको सूचना र नेतृत्वको निर्देशनअनुसार कार्वाहीका लागि “निर्धारित एक्सन” विविध कारणवश रोकियो । एक्सनका लागि जाँदै गरेको टिम गुनामै सेल्टर ल्याई बस्नुपर्ने अवस्था आयो । सुरक्षाका कारण पनि हामीले जनशैली अपनाएर जनताको घरघरमै बस्ने गरी विकेन्द्रित भयौँ । कार्यालय सम्पर्कमा क. जेनी र म । हामीसँग भएका सरसामानहरूको सुरक्षासहितको जिम्माअनुसार बस्यौँ ।
बर्षातको याम, पहाडी भूभाग, झरी पानी, कुहिरो, खराब मौसम थियो – आजको दिन । रातभर पानी परिरह्यो । बिहान उज्यालो भयो तर चारैतिर बाक्लो कुहिरो, कतै नदेखिने अवस्था । झोलामा खाजा थियो – खायौँ । बुबाको निधनपछि घर नगएको आज नजिक बस्दा पुगेर आऊँ कि जस्तो लाग्यो । आमा र श्रीमती, साना दुई छोरी अनिता र संगीतालाई पनि भेटेर आउँछु । खाना पनि लिएर आउँछु भनेर क. जेनीलाई सेल्टरमै छोडेर सुरक्षित ढंगले घरमा पुगेँ । आमा मलाई देखेर रुनुभयो । सम्झनु भयो – बुबाको निधन । सुनकुमारी खाना बनाउन थालिन् भने छोरीहरू काखमा बसिरहे – बुबालाई देख्दा र भेट्दा उनीहरूमा छुट्टै भाव देखिन्थ्यो । छोरीहरू खुशी भए । मैले ढिलो गर्नु हुन्नथ्यो । खाना पाक्यो – खाएँ । बुबा नभएको कति खल्लो अनि अभाव महसुस भयो । आमाको आँशु जति गरे पनि पुछ्न सकिन मैले । भेट हुँदा पनि, कुरा गर्दा पनि, विदाइ हुँदा पनि । बुबाको निधनले परेको गहिरो चोटको कारण आमाको आँशु रोकिएन । साथीलाई खाना लिएर खेतको ढिकै-ढिक सानो बाटो जंगल पन्छयाउँदै सेल्टरमा पुगेँ । क. जेनी भन्नु भयो – खाना ल्याउनु भयो त दाइ, अब खानु पर्यो । हो, खाना खान तयार हुनुस्- भनेपछि उहाँ हात धुन जानु भयो – झ्यालतिर ।
यता चुल्होको नजिक झोलाहरू, हतियार र सुरक्षाका लागि राखिएका बमहरू थिए । चुल्हो नजिकको बम हातले उचालेर अर्को ठाउँ राख्न खोजेको तर हातबाटै खस्यो – चुल्होका ढुँगामा, एक्कासी बम विस्फोट । शरीरभर बमका छर्रा, रक्ताम्यै शरीर, कपडाहरू आगो लागेको, बमको धमका, धुँवाको मुस्लो, आफू बेहोश अवस्थामा, भयाभव वातावरण ।
क. जेनीले सबैभन्दा पहिले घरमा खबर गर्न जानु भएछ । बारीमा घाँस काटिरहेकी जीवनसंगिनी सुनकुमारीलाई भेटेर दाइ मरिसक्नु भयो भाउजु । बम पड्केर – दुर्घटना भयो । सुनकुमारीका लागि ठुलो बज्रपात, भर्खरै खाना खाएर छुटेको जीवनसाथीको मृत्युको खबर । अक्कमक्क, भक्कानिएर रुँदै घट्नास्थलतिर लागिन् । यता क. जेनी भने – भाउजु म साथीहरूलाई खबर गर्न जान्छु भनेर हिँड्नु भएछ । घटनास्थलमा सुनकुमारी पुग्दा – आफ्नो जीवनसाथीलाई बिजोग र बेहोश देखिन् – शरीरका कपडाहरू शरीरमै जलिरहेको देखिन्, रगतै-रगतले भिजेको ठाउँ, रक्ताम्य शरीर देखिन्,” हतारहतार गाईँभैसीलाई कुँडो खुवाउने काठको भाँडोबाट पानी लिँदै शरिरमा खन्याउँदै आगो निभाइन् – रगत पुछिन्, पानी खुवाइन् । केही छिनअघिको घरको भेटघाटको याद गरिन्, तर आस मारिनिन् । कतिखेर मुखमा फुकेर सास दिन प्रयास गरिन, कतिखेर अंगालो हाल्दै भक्कानिएर रुँदै “बचाऊ” भन्न थालिन् दर्दनाक अवस्था । केही छिनपछि अलिकति सास फेरेको जस्तो पाइन् – बचाउन अनेक प्रयासहरू गरिन् । यो क्षण सुनकुमारीको जीवनको एउटा कथा र व्यथाको इतिहास बनेको छ ।
बेहोस अवस्थामै मलाई ढोकामा बोकेर सेल्टरबाट अन्तै पुर्याइछ । दिनभर के के भयो ? मलाई थाहा हुने कुरा भएन । सन्चो भएपछि मलाई सुनाउनु भएका कुराहरूले शरीरै जिरिङ्ग भयो । सबैलाई छलेर सुरक्षित ठाउँ पुर्याउनु पर्ने, बिच बाटो ठाउँठाउँमा रोक्दै प्राण गयो कि छ हेरौँ भन्दै चेक गरेको सुन्दा साँच्चिकै म यतिबेला कस्तो थिएँ । आज कल्पना गर्छु । ज्युँदो भए ठाउँसम्म पुर्याई उपचार गर्ने । यदि प्राण गएछ भने जहाँ मृत्यु हुन्छ, त्यही त्यतै वरिपरि दाहसंस्कार गर्ने गरी सरसामानहरू र साथीहरू सँगै गएको कुरा सुन्दा अझै पनि सपना हो कि विपना हो, जस्तो लाग्छ मलाई ।
रोल्पा-डाङ्जा पुर्याई एउटा घरमा आकस्मिक उपचार सुरु गरिएछ – हेल्थपोस्ट थबाङ, पार्टीसँग सम्बन्धित डाक्टर फर्क बहादुरको टिमले शरीरबाट धेरै बमका छर्राहरू निकालिसक्नु भएको रहेछ । अक्सिजन लगाएको, सलाइन चढाइएको, शरीरको ठाउँठाउँमा बेन्देज, जलेका भागहरूमा पूरै बन्देजले भरिएको अवस्थामा करिब १४ घण्टापछि म होसमा आएँ ।
यो १४ घण्टा मैले मृत्युलाई जितेको समय हो । मलाई उपचार गरी होसमा ल्याई बचाउने स्वास्थ्यकर्मीको टिमप्रति आभारी छु । मेरो उपचारको लामो समय अहोरात्र खटिनु हुने डाक्टर फर्क बहादुर भने ब्रेन ट्युमर भएर अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँमा निधन भइसक्नु भयो । म धेरै सम्झन्छु, सम्झिरहनेछु – बाँचुञ्जेल – म उहाँहरूको ऋणी छु । यसपछि मलाई ढोकामै बोकेर अँध्यारो रात, जंगलको बाटो चावाङ पुर्याउनु भयो । त्यहाँ पार्टी, नेतृत्व, कार्यकर्ता, स्वास्थ्यकर्मीहरू आउनुभएको रहेछ । रातभर खासै थाहा भएन् – सबै कुरा ।
स्वास्थ्यकर्मीहरू रातभरि उपचारमै लागिरहनु भयो । यताबाट काहिँलो दाजु, क. शिशिर, क.तारा, भुजिलाल जेठान, छोरा धप लगायतको टिमले चावाङसम्म पुर्याएको थियो । यसपछि क. शिशिर मसँगै रहनु भयो भने यताकै पार्टी साथीहरूको जिम्मामा छोडेर अरू कमरेडहरू सल्लाह अनुसार नै उहाँहरू फर्कनु भयो ।
क. दीर्घ, क. तारा, क. लली रोका, क. जीवनसरी, गोरे दाइको सम्पर्क संरक्षण र सुरक्षामा उपचार भयो । करिब दुई महिना उपचारमै बित्यो । पीडा र उकुसमुकुसले भरिएको शरीरको उपचारका दिनहरू भने अनेकौँ सोच-विचार, चिन्तन-मननमै बित्यो ।
बुबाको निधन भएको महिनादिन नबित्दै ठुलो दुर्घटनामा पर्नु, जीवनसंगिनी साना दुधे बालक साथमा, दिनरात प्रहरी दमनको जगजगी, वर्गीय र जातीय मुक्तिका लागि जनयुद्धमा हाम्फालेका दिन, गणतन्त्र व्यवस्था र संविधान निर्माण गर्ने राजनीतिक र फौजी लक्ष्य बोकेको यो मेरो जीवन आजकहाँ पुगियो ? अनेक प्रश्नहरू उब्जिन्थ्यो -दिमागमा ।
बुढेशकालकी आमा, साना बालबच्चा, श्रीमतीको जीवन अब के होला ? म बाँचे भने त ठिकै छ तर केही भइयो भने परिवारको अवस्था के होला यस्तै सोचहरू आइरहन्थ्यो । यस्ता अनेकौँ विकेन्द्रित सौच -विचारहरूलाई केन्द्रित गर्न सक्थेँ म । उपचारको समयमा म कहिले पनि मर्छु भन्ने सोच्दै सो चेन । आत्मबल दह्रो नै थियो मेरो ।
दुखाइ अत्यन्तै बढी भएका बेला एकदिन नेताहरूले भेट्न आउनु भएको थियो । उहाँहरूसँग मैले भनेको थिएँ – “एकपटक क.प्रचण्डलाई भेटेर मर्न पाए हुन्थ्यो” । साँच्चिकै यो मेरो अन्तिम इच्छा पनि थियो । मेरो यो भनाइले सबैलाई भावुक बनायो किनकी अरू विरामी साथीहरूभन्दा मेरो अवस्था गम्भीर नै थियो । जतिबेला जे पनि हुनसक्ने अवस्था थियो मेरो । थोरै भए पनि एउटा बिरामीले लामो समय उपचारको क्रममा दिनाचार्य कसरी बिताउँदो रहेछ – मेरो अनुभव मात्र हो यो ।
उपचार राम्रो हुँदै आयो । लठ्ठी टेकेर यताउता हिँड्नसक्ने अवस्थामा आएँ । यसपछि म मेरो जन्मगाउँ गुनाम फर्किएँ । प्राविधिक ज्ञानको अभाव, थोरै हेलचेक्य्राइँ गरियो भने ज्यान जानलाई केही समय लाग्दैन् । सबैले बुझ्नु पर्छ। घटना सामन्य होइन् । यो घटनामा मैले साँच्चिकै मृत्युलाई जितेकै हो । परिवारको बिचमा फर्कनु नै मेरो खुसीको क्षण थियो । त्यो दिन, ती क्षणहरू अविस्मरणीय अध्याय बनेर स्मरणको पानामा सदा जीवित रहनेछन् । बाँचेरै होः सेती-महाकाली, भेरी-कर्णाली पुगियो, फौजी तथा गैरफौजी कार्वाहीहरूमा सहभागी भइयो । जनमुक्ति सेनाको गणेशपुर कारबाही आज पनि यादमै छ । राजनीतिक र फौजी क्षेत्रमा जनयुद्धकालभर सक्रिय भइयो । जनमुक्ति सेना क्यान्टोनमेन्टमा बसाइ, सेना समायोजन, स्वेच्छिक अवकास र शान्तिकालमा संविधान निर्माणमा सहभागी हुने अवसर मिल्यो ।
जीवनमा यस्ता अकल्पनीय दिनहरू र समय पनि आउँदा रहेछन् – कहिल्यै मेटाउन सकिँदैन -“२०५३ असार २६ गते” आन्तरिक बम दुर्घटना, १४ घण्टा बेहोस अवस्थाको सबै वर्णन गरी साध्य छैन । कुनै समय सबिस्तार लेख्नेछु । आत्मबल, साहस, बाँच्छु भन्ने दृढ इच्छाशक्ति, डाक्टर, पार्टी नेता-कार्यकर्ता, साथीभाइको साथ सहयोग, स्वास्थ्यकर्मीहरूको अथक प्रयास अहोरात्र खटाइले मैले मेरो जीवन पाएको हुँ ।
ती क्षणहरू सम्झँदा अहिले पनि शरीरै सिरिङ्ग हुन्छ । मन भारी हुन्छ । आँखाहरू रसाउँछन् । मलाई बचाउन लागी पर्नुहुने सबैप्रति आभारी छु । उहाँहरूको म सधैँभरि ऋणी रहनेछु ।
बिरामी अवस्थामा साथ सहयोग गर्ने, माया गर्ने, साहस थपिदिने नेता क. दी र्घ, क.तारा, क. लली रोका, क. जीवनसरी सहिद भैसक्नु भयो । मलाई जीवित बनाउनु भयो तर महान व्यक्तित्वहरू हामीमाझ रहनु भएन । उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
महान सहिदहरूको त्याग, बलिदानबाट आज देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ । सहिद, बेपत्ता, घाइते, अपांगता योद्धाहरू र महान् जनताको त्याग, बलिदानबाटै गणतन्त्र व्यवस्था र नेपालको संविधान बनेको छ । मृत्युलाई जितेर दुशमनका विरुद्ध लडेर नाफाको जीवन प्राप्त गरी आज जनयुद्धका उपलब्धिहरू देख्न पाइयो । प्राप्त उपलब्धिहरूको रक्षा गर्नु हाम्रो कर्तव्य र दायित्वका विषय बनेको छ ।
जनयुद्धकालमा प्रहरीको यातनाबाट पीडित बुढेसकालकी आमाको उपचार समयमै गर्न नसक्दा २०६४ फागुन ९ गते आमाको पनि निधन भयो । जहाँ प्राविधिक दुर्घटनामा परेको थिएँ – त्यो गोठ माइला दाजु तेज बहादुरको थियो । दाजुको पनि प्राणघातक क्यान्सर रोगबाट निधन भयो । दुर्घटनाको बेला दुधे बालक मेरो माइली छोरी संगीताको पनि प्राणघातक क्यान्सर रोगबाटै अल्पायुमै निधन भयो । जीवनसंगिनी सुनकुमारीको दुवै मृगौला फेल भई १० वर्षसम्म उपचार गरी दुईपटक मृगौला प्रत्यारोपण गरी आज औषधिको भरमा बँचिरहेकी छिन् ।
जीवनमा थुप्रै घटनाहरू, पीडाहरू भोगियो । यति हुँदाहुँदै पनि मैले जिन्दगीमा कहिल्यै हरेश खाइन । नाफाको जीवनको रूपमा रहेको बाँकी जीवन पनि देश र जनताको पक्षमा समर्पण गर्ने मेरो प्रतिबद्धता छ ।
कि मृत्यु कि मुक्ति भनेर जनयुद्धमा लागियो । कैयौँ सहयात्री कमरेडहरूको सहादत, बेपत्ता, घाइते – अपाङ्गता भयो । रगत र बन्दुकबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ माथि आज प्रतिगामी, यथास्थितिवादी, प्रतिगमनकारीहरूबाट आक्रमण भइरहेको छ । साम्राज्यवाद-विस्तारवादका दलालहरूबाट राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय अखण्डता, सार्वभौम अधिकार सम्पन्न संसदमाथि बारम्बार आक्रमण भइरहेको छ । यसलाई रोक्न र परास्त गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका शक्तिहरू, वाम शक्तिहरू, स्वयं यो व्यवस्थाको जननी नेकपा (माओवादी) अहिलेको नेपाली कम्युनिस्ट पार्टी, नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक जनता नै उठेर राष्ट्रिय युद्ध अर्थात् जनसंघर्षको नेतृत्व गर्न आवश्यक छ । यसका लागि एकपटक फेरि राष्ट्रिय युद्ध वा जनआन्दोलनमा सक्रिय सहभागी हुने राजनीतिक प्रतिबद्धता पनि जाहेर गर्दछु।
मानिसको जीवनमा साँच्चिकै कतिबेला कसलाई के हुन्छ? त्यो थाहा हुँदैन । परिसकेपछि व्यवहारमा बल्ल थाहा हुन्छ । मृत्युलाई पूरै जित्न सकिँदैन तर गम्भीर घाइते भई बेहोस अवस्थाको १४ घण्टा मैले मृत्युलाई जितेकै हुँ । त्यसैले जीवन अनमोल छ भन्ने लाग्छ ।
२०५३ असार २६ गते आन्तरिक प्राविधिक दुर्घटना भयो । त्यो दिन मेरो मानसपटलमा कहिल्यै नमेटिने गरि गहिरो छाप रहेको अविस्मरणीय दिन हो । म बाँचुञ्जेल असार २६ गते सम्झिरहनेछु।
(लेखक नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।)























