ओलीजी मलाई त
यो देशलाई
संसारकै समृद्ध देश बनाउनु छ
मलाई यो देश चाहिएको छ
टिस्टा काँगडादेखि सतलजसम्मको
उर्वरा फाँट र हराभरा जंगल
अनि हिमाल चाहिएको छ
तर
ओली तिमीलाई त
कुर्सी चाहिएको रहेछ
अहिलेसम्म कुर्सीकै लागि
मरिहत्ते गरिरह्यौ ।
मलाई त
त्यो तुच्छ कुर्सी होइन
देश बनाउनु परेको छ
देशभर अर्गानिक खेती
गरेर यहाँको उत्पादन
विश्व बजारमा पठाउनु छ,
युवालाई साथ लिएर डाँडाकाँडा
हराभरा बनाउनु छ ।
तिमीलाई यो कुरामा
पटक्कै ध्यान गएन
सधै कुर्सीमा टाँस्सिन मात्र खोज्यौ
परिणाम हेर त
अहिले लम्पसार अवस्थामा
मृत्यू शैयामा पुगेका छौ,
ओली अब यो अवस्थामा
म तिमीलाई सहयोग गर्न सक्दिन,
ओली मैले तिमीलाई बचाउन सकिन ।
मलाई त
युवालाई विदेश पठाउने होइन
स्वदेशमै रोजगार बनाउनु छ
अर्गानिक उत्पादनले भरिभराउ गर्दै
यहाँको उत्पादन
विश्व बजारमा पठाउनु छ,
म देशको समृद्धिका लागि
मरिमेटी काम गरिरहेको छु
तिमी त
एउटा जाबो कुर्सीका लागि
मरिहत्ते गरिरहेका छौ,
तिमीलाई त मात्र कुर्सी
चहिएको छ,
मलाई भने
देश बनाउनु परेको छ,
तिमीलाई त ओली,
कुर्सी बचाउनु परेको रहेछ,
यस्तो स्वार्थी पदलम्पटको
नियति भनेको
ठुलो दुर्दशा मात्रै हो ।
त्यसैले ओली
मैले तिमीलाई बचाउन सकिन ।
ओलीजी धेरै उत्ताउलो बन्दै गयौ,
त्यसो नगर भनेर
तिम्रा लागि दर्जनौँ लेख लेखेँ
तिमीलाई सम्झाउन खोजेँ,
तर तिमीले मानेनौँ
तिमी त अझ धुर्बे हात्तीजस्तो
बन्दै गयौ,
आफ्ना सहोदरलाई पनि नटेर्ने
राज्यको सम्पत्ति दोहन गर्न
आसेपासेहरू लगाएर जनतालाई
दुःख दिने,
कोभिडको आतंकको
फाइदा उठाएर अरबौँ लुट्ने
तिमीले त ओली
साँच्चै नचाहिँदो गरिरह्यौ,
जसको कारण
अहिले तिम्रो यो हालत भयो ।
म विचलित छु
म के औषधि गर्न सक्छु र
ओली मैले तिमीलाई बचाउन सकिन ।
मैले तिमीलाई सुधार्न
समाज र पार्टी अनुकूल बनाउन
अनेक प्रयत्न गरेँ,
तिमीले त्यो पनि मानेनौ नि
अहिले तिम्रो यो अवस्था भयो
ओलीजी म के गरौँ,
मलाई माफ गर,
तिमीले गरेको
यो कालो कर्तुतको
कुनै पनि औषधि रहेनछ,
मैले धेरै खाले औषधि खोजे
कोटेश्वर, खुमलटार, महाराजगञ्ज
बुढानीलकण्ठ सबैतिर चाहारेँ,
औषधि नै पाइएन ।
म के गरौँ ओली,
मैले तिमीलाई बचाउन सकिन ।
मेरा स्वच्छ सुझावलाई
गाली सम्झेऊ,
ती लेखहरू पढेर,
आफूलाई परिवर्तन गर्न सक्छौ कि
धेरै आश गरेको थिएँ,
त्यो गरेनौ,
मैले भेटेर त भन्न सक्दिन थे
लेखेर भए पनि भनेको कुरामा
लागेको भए अहिले तिम्रो यो हालत
हुने थिएन नि ओलीजी
मैले के गरौँ ।
सर्वोच्चमा पनि त मैले औषधि खोजेँ,
त्यहाँ भएको भ्याक्सिन जति
देउवाजीलाई लगाउँदै सिद्धिएछ
एक डोज भ्याक्सिन
लगाई दिऊँन भनेर
धेरै पटक धाएँ,
कसैले टेरपुच्छर लाएन
मेरो कुरा कसैले सुनेन,
एउटा जाबो भ्याक्सिन समेत
तिम्रा लागि व्यवस्था गर्न सकिन
के गरौँ ओली,
मैले तिमीलाई बचाउन सकिन ।
तिमी भौतिक रोगी हुँदा,
राज्यकोतर्फबाट तिमीलाई
बचाउन नखोजेको कहाँ हो र?
तिम्रो उपचारमा भएको खर्चले
झण्डै पाँच सय भन्दा बढी तुइन
फेरेर पुल बनाउन पुग्थ्यो,
तर पनि तिम्रो कुर्सीको रोग भने विसेक भएन,
तिमी झन् रोगी बन्दै गयौ,
सपनामै बरबराउन थाल्यौ,
प्रचण्ड-प्रचण्ड, बचाऊ प्रचण्ड ।
साँच्चै प्रचण्डले पनि बचाउन
खोजेकै हो तिमीलाई,
तर त्यो पनि बुझेनौ,
अनि के गरौँ भन त ओली,
मैले तिमीलाई बचाउन सकिन ।
सबैले तिम्रो किड्नी नै बिग्रिएको भने
धेरै औषधी उपचार पनि भयो,
तिमीलाई किड्नी दिएर बचाउने
महिला टुलुटुलु हेरिरहेकी छन्
तर तिम्रो रोग
किड्नीको होइन रहेछ,
रोग त अन्त पो लागेको रहेछ,
मलाई तिम्रो अन्तिम अवस्थामा,
तिम्रो त कुर्सीरोग रहेछ
यो कुरा थाहा भयो,
के गरौँ भन त ओलीजी,
दुईतिहाइको बहुमत पाएर पनि
तिम्रो कुर्सीको रोग निको भएन,
त्यसैले
मैले तिमीलाई बचाउन सकिन ।
उपचार गरौँ भनेर नलागेको त होइन
भेट्न पाइन समयमै
भेट्ने प्रयत्न पनि गरिन
तिमी जस्तालाई भेटेर
गर्नु नै थियो के र ?
तर लेखेँ धेरै लेखेँ
मेरो लेख पढ्ने
तिम्रा सुण्ड मुसुण्डहरूले
रात साँझ बाटो ढुक्ने
अवस्थासम्म मैले बेहोर्नु पर्यो,
उनीहरू त मेरो घर करेशामा आएर
प्रचण्डको पुच्छर बस्ने घर
यही हो
यसलाई माटोमुनि जाक्नुपर्छ
सम्म भनेको सुनेँ
म डराइन,
पुलिसलाई खबर पनि गरिन
मैले तिमीले जस्तो अरबौँ कमाउन
भ्रष्टाचारी परिचालन गर्ने
तिमीले जस्तै हज्जारौँ गल्ति
गरेको भए पो मलाई डर
मैले सधै जनताको लागि काम गरेको छु
अनि मलाई के को डर
म डराइन त
आफ्नो काम गरिरहेँ
आफूलाई उत्तेजित बनाइन कहिल्यै
तर तिमी भने
कहिले भारतीयलाई नागरिकता बाँड्न
तम्सेऊ
भारतीय मतियारलाई मन्त्री बनायौ
अनि देशको अस्मिता लुट्न
अनेकौँ षडयन्त्रमा लाग्यौ
अनि पो तिमीलाई यो रोग लाग्यो
अब म यो अवस्थमा
ओली म तिमीलाई बचाउन सकिन ।
म त तिम्रो भलाइ होस् भन्थेँ
तिम्रा लागि अनेकौँ प्रयाश पनि गरेँ
तर
तिम्रा मतियारहरूको
घमण्डले मलाई सिध्याउन
खोजेकै हो
तैपनि मलाई केही भएको छैन
हुँदैन पनि
किनभने मलाई यो देश बनाउनु छ
यसरी देशका लागि समर्पित मेरो मन
तिम्रा गुण्डाहरुले धम्काएर
डराउनेवाला पनि होइन
अहिले तिमीलाई सुनाउन खोज्दैछु
मलाई धम्काएको कुरा
कसलाई सुनाउने त यो पीडा
यस्तो व्यवहारबाट
मेरो मन कति दुःखेको होला भन त
तर पनि
के गरौँ तिम्रो यो अवस्थामा
यी सबै तिमीलाई सम्झाएर काम पनि छैन
तर पनि आफ्नो प्रयाश
कता पोखौँ र ख्वै भनेर
यो कुरा सुनाउन खोजेको हुँ
तर यो कुरा तिमी अहिले
सुन्दैनौ नि होइन,
सुन्नै सक्दैनौ
सुनेरै पनि के नै गर्छौ र ?
अहिले
के गर्नु तिमी मृत्यू शैयामा छौ
तिमीलाई बचाउन के गरौँ ओली
मैले एक डोज भ्याक्सिन पनि पाइन
मैले तिमीलाई बचउन सकिन ।
ओली तिमी त सकियौ सकियौ
सँगसँगै विद्यालाई पनि सक्यौ
त्यत्रो महान् नेताको श्रीमतीलाई
यो हालतमा पुर्याउँदा
के तिमीलाई रमाइलो लागेको छ र
तिनले तिम्रा लागि कति समर्पित भएर
काम गरिन्
जे भन्यौ त्यो मानिन्
तिमीलाई बचाउन अनेकौँ प्रयत्न
उनले गरेकै हो
तर त्यसको बदला तिमीले त
तिनलाई
अपमान गर्दै बेइज्जतपूर्ण अवस्थाबाट
ओराल्न खोज्यौ।
उनि पनि तिमीसँगै सकिइन्
यो अवस्थाले पनि मलाई पिरोलिरहेको छ
मलाई यो कुरा राम्रो लागेकै छैन
भन त ओली
उनले तिमीलाई लगाएको गुनको
बदला यही हो त ?
तिमीले गरेको कर्तुतले
उनी पनि सिद्धिइन
त्यसैले ओली
म अहिले अवाक भएको छु
बोल्नै नसक्ने भएको छु
यसैले अहिले
ओली मैले तिमीलाई बचाउन सकिन ।
तिमीले त आफूलाई सक्यौ
तर साथ साथै
कम्युनिस्टको त्यत्रो विरासत
धुलिसात गर्यौ
धन्न संविधान भने अहिले
सर्वोच्च अस्पतालमा उपचार गर्दागर्दै
बौरिएको छ,
तर पनि
सर्वोच्चले तिम्रो कुर्सी रोगको
उपचार गर्दागर्दै
खुट्टामा पनि भ्याक्सिन लगाइदिएछ
त्यो काम समाल्न अब प्रचण्डलाई
कति समय लाग्ने हो,
थाहा छैन
यसको उपचारको औषधि
प्रचण्डसँग बाहेक अरुसँग छैन,
आशा छ सबै समस्याको समाधान
प्रचण्डले नै गर्ने छन्,
जनता अब उनकै आशा र
भरोसामा छन्,
तर तिमी अब अन्तिम अवस्थामा छौँ
धेरै गल्ति गरेकोले प्रायश्चित गर्ने
ठाउँसम्म तिमीले बाँकी राखेनौ
यसैले
ओली मैले तिमीलाई बचाउन सकिन ।
मलाई त यो देश बनाउनु छ,
कृषि व्यावसायीकरण गरेर
देशलाई समृद्ध बनाउनु छ,
म त्यसैमा व्यस्त छु,
तिम्रो यो हालत
हेरेर बस्न सक्दिन
मलाई समय छँदा पनि छैन,
यस्तो उद्दण्डको कुरा सुनेर
देशलाई बर्बाद बनाउनु त छैन मलाई
यसैले
ओली मैले तिमीलाई बचाउन सकिन ।
तिमीलाई
हामी प्रति विश्वास भएन
हामीसँग सहयोग खोज्नुको सट्टा
तिमी त सामन्त गोयल, नरवाने
एमसीसी, होली वाइनतिर पो लाग्यौ
तिमीले ति सबै विष हुन् भनेर
मैले भनिरहँदा कानमा तेल हालेर बस्यौ,
सुन्दै सुनेनौ
अनि कहाँ तिम्रो रोग निको हुन्थ्यो र ?
यसैले ओली
मैले तिमीलाई बचाउन सकिन ।
मलाई त लिपुलेक चाहिएको छ
यतिमात्र नभएर टिष्टा सतलज पुग्नु छ
यो देशलाई हराभरा मात्र होइन
विशाल पनि बनाउनु छ
ख्वै त मेरो कुरा तिमीले बुझेको
अनि म के गरौँ ओली
मैले तिमीलाई बचाउन सकिन ।
तिमीले प्रचण्डलाई छाडेउ
तिम्रो सच्चा सहयोगी वरदाता
प्रचण्ड नै थिए
तर
एकोहोरो सामन्त गोयलको पछि लाग्यौ
अनि तिम्रो उपचार कसरी हुन्थ्यो त ?
तिमीले मेरो कुरामा टेरपुच्छर लाएनौ
यो नगर भन्दा मानेनौ
अब त जे गरे पनि
तिमी समाप्त हुने बाहेक बाटो छैन,
यसैले
मैले तिमीलाई बचाउन सकिन ।
अब त तिमी
जे उदण्डता देखाउछौँ
ति सबै तिम्रो समाप्तिको खाडल बन्छन्
तिमीले त प्रायश्चित गर्ने
ठाउँसम्म पनि बाँकी राखेनौ त ख्वै
यसैले अब तिम्रो समाप्ति मात्र हो
अर्को केही उपाय हुनै सक्दैन
मैले तिमीलाई बचाउन सकिन ।
मौकामा कुरा बुझेनौ तिमीले
भारतीयले उचालेर
चुरे समेत भत्काउन खोजे
लिपुलेक र कालापानीको
चुच्चे नक्सा समेत निमोठे
यसरी आफ्नो पदका लागि
देशै सुम्पन खोजेऊ
राजावादीले पनि
तिमीबाटै फाइदा लिन खोजेकै हुन्
तर
प्रचण्डको हुंकारले उनीहरू तर्सेर
मात्र न हो
नत्र तिमीले यो विरासत
बुझाउन खोजेकै हो
यस्ता सबै तिम्रा राष्ट्रघाती
करतुत
जनतालाई मन परेन
यो गर्दागर्दै अहिले
तिमी थला परेका छौँ ओली
मैले तिमीलाई बचाउन सकिन ।
हेर त
हज्जारौँको बलिदानले ल्याएको संविधान
गणतन्त्र, संघीयता धर्म निरपेक्षता जस्ता
समाज सुधारका उपायहरूलाई
संरक्षण गर्न प्रचण्ड कति लागेका छन्
यी सबै प्रचण्डकै बलिदानी संघर्षको
उपलब्धि हुन्
प्रचण्ड नभएको भए,
के तिमी र तिम्रा पार्टीक नेताहरू
प्रधानमन्त्री र राष्ट्रपति हुन्थे
हारेको मान्छेलाई समेत
हात समातेर प्रधानमन्त्री बनाउने
प्रचण्ड नै हुन्
तर तिमीले प्रचण्डलाई चिनेनौ
उनीबाट फाइदा लिएपछि
उनकै हुर्मत लिन खोज्यौ
अनि बिरामी पर्दा कसरी प्रचण्डको
सहयोग पाउँछौँ ख्वै
प्रचण्ड उदार छन्
केही गर्छन कि शरणमा जाऊ
तर मैले भने केही गर्न सकिन्
मैले तिमीलाई बचाउन सकिन् ।
विचार गर त
प्रचण्डलाई देशको समृद्धि चाहिएको छ
मलाई पनि कृषि व्यवसायीकरणका लागि
प्रचण्डकै साथ चाहिएको छ
तिम्रो सहयोग लिन खोजे
मेरो कृषि व्यावसायीकरणमा
तिमीले टेर पुच्छर लाएनौ
यति, ओम्नी, हवाई घोटाला, सेक्युरिटी प्रेश
सांसद अपहरण, जस्ता पौरखपट्टि लाग्यौ
अनि तिम्रो कसरी भलो हुन्थ्यो र ?
अहिले यो तिम्रो हालत देख्दा
मलाई दया लागेको छ,
तिम्रो यो अवस्था देखेर
के गरौँ ओली
मैले तिमीलाई बचाउन सकिन ।
तिमी र म मा के फरक छ भनेर
मैले खोजी गरेँ
तिमीलाई
त्यो एउटा तुच्छ कुर्सीमा टाँसिनु थियो
मलाई भने देश बनाउनु
देश भर नमूना गाउँको विकास गर्नु नै हो,
यसैले तिम्रो यो अवस्थामा
तिमीलाई मैले केही गर्न सक्दिन ओली,
यतिखेर,
तिम्रा सबै कर्तुत
जनतालाई सह्य भएन,
अनि म के गरौँ ओली
मैले तिमीलाई बचउन सकिन ।
२९ आषाढ २०७८, कोटेश्वर
(रचनाकार विकासविद् हुनुहुन्छ ।)