नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई राप्रपाका अध्यक्ष तथा झापामा केपी ओलीको कृपाले सांसद बनेका राजेन्द्र लिङ्देनले सरकारी उद्योगहरू बेच्न लागेको आरोप लगाएछन् । तर अर्थमन्त्री शर्मा भने यो देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने जोसुकै – चाहे गभर्नर होस् वा कुनै पनि – नछाड्ने प्रतिबद्धताका साथ उत्पादन कार्यलाई देशभर तीव्रताका साथ अघि बढाउन लागेका छन् । उनको यो इमान्दार र साहसिक कदमलाई बुझेर वा नबुझेर गलत ब्याख्या गर्नु र भ्रम छर्नु राजेन्द्र लिङ्देनलाई सुहाउने कुरो होइन । आफूलाई देशभक्त भन्ने नेताले त कुरो बुझेर सहयोग गर्नतर्फ लागेको भए पो राम्रो हुन्थ्यो त ? सबै मिलेर लागे देशमा परिवर्तन ल्याउन कतिबेर लाग्ने कुरा हो र ?
पूर्वपञ्चहरू, प्रतिगामी र पुनरूत्थानवादी शक्तिहरूको नेतृत्व गरिरहेका राजेन्द्र लिङ्देनले नबुझेको वा बुझ्न नचाहेको वा बुझेर पनि नियतवस बुझ पचाएको कुरा के हो भने अर्थमन्त्री जनार्दन शर्माले उद्योग बेच्न होइन, चलाउन लागेका हुन् । विगत लामो समयदेखि बन्द रहेका र केपी ओली पहिलो पटक प्रधनमन्त्री हुँदा उद्योगमन्त्री महेश बस्नेतलाई अघि सारेर बेच्न ठिक्क पारेका र दोस्रो पटक प्रधानमन्त्री हुँदा बेच्ने प्रस्ताव गर्दा माओवादी अध्यक्ष प्रचण्डले सरकारी उद्योग बेच्ने होइन, चलाउने र युवाहरूलाई रोजगार दिने हो भनेर झपारेपछि बचेका सरकारी उद्योगहरू अर्थमन्त्री शर्माले चलाउने तयारी गरेका छन् । यसबाट रोजगारी सिर्जना हुन्छ । यस्तै कृषि व्यावसायीकरण र उद्यमशीलता कार्यक्रमबाट वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाका युवालाई देशमै रोजगारी दिने अवसर प्रशस्त गर्न यिनको प्रयास प्रशंसनीय छ ।
यतिबेला अर्थमन्त्री शर्मा देशको आर्थिक अवस्था कसरी माथि उठाउन सकिन्छ भन्ने कुरामा बढि चिन्तित देखिन्छन् । अहिले बजेट ल्याउने तयारी चल्दैछ । बैंक तथा वित्तीय बजारमा तरलताको अभाव भइरहेको छ । सोधनान्तर स्थिति सकारात्मक छैन । देशको पुँजी कुनै न कुनै बहाना र नाममा विदेश गइरहेको छ । यसमा अहिलेको क्रिप्टोकरेन्सीको खतरनाक खेलमा देशको अर्थिक अवस्थामा खडेरी लाग्दैछ । केपी ओली नेतृत्वको सरकारले थपेको अरबौँ ऋणको बोझले सिङ्गो अर्थतन्त्र थला परेको छ, त्यसलाई उठाएर लयमा ल्याउनु छ । ओली सरकारले विगतमा भएको अरबौँ भ्रष्टाचार र त्यसबाट लुकाइएको रकम बाहिर ननिस्कँदा देशकै तरलता अभाव हुन पुगेको छ । यस्तो गम्भिर अवस्थालाई कसरी सुधार गर्ने भन्ने कुरामा चिन्तित हुनु र यसलाई सुधार्न सार्वजनिक रूपमा नै सुझाव लिनु अर्थमन्त्री शर्माको सही कदम हो ।
यति मात्र नभएर विगतमा काँग्रेस सरकारका अर्थमन्त्री रामशरण महतले खुलाबजार अर्थनीति, निजीकरण र विश्वव्यापीकरणको बहानामा देशका अधिकांश उद्योगहरू बेचबिखन गरेर केही नेताहरूले त कमाउने मौका पाए होलान्, तर ती सबै उद्योग कौडीको मूल्यमा विक्रि गरिए । लाखौँ युवा वेरोजगार बने । यसरी उद्योग व्यवसाय सबै निजीकरण गरेर समाप्त गरेपछि तत्कालीन अर्थमन्त्री महतले नै अब युवाहरूलाई विदेशमा रोजगारको अवसर दिन्छौँ मात्र भनेनन्, उनको बजेट बक्तव्यमै प्रत्येक निर्वाचन क्षेत्रबाट दुई दुई जनाको दरले सबै क्षेत्रका युवालाई विदेशमा रोजगारीको अवसर दिन्छौँ भन्ने समेत लज्जास्पद कार्यक्रम ल्याएको कुरा कसैले बिर्सेको छैन ।
अहिले निजीकरणको नाममा विक्रि हुन नसकेका बन्द रहेका उद्योग सञ्चालन गर्न अर्थमन्त्री रातदिन लागिरहेको बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाले आफ्नी रानीको गलाको सिक्रि, गहनाहरू बेचेर स्थापना गरेका उद्योग अहिलेको अर्थमन्त्री जनार्दन शर्माले बेच्दैछन् भनेर बोल्नु साह्रै निम्नस्तरको फट्याइँ सिबाय केही होइन । यसबाट उनको बुद्धि विवेकमा खडेरी लागेको जस्तो लाग्यो । यस्तो कार्यक्रमलाई बरु ‘चाँडो सुरु गराऊ’ भनेर सहयोग गरेको भए उनको उचाइ घट्ने थिएन ।
राजा-महाराजाहरूले देश बनाउने भए २४० वर्षमा देश कसरी कंगाल बन्दै गयो ? राजा-महाराजा आफै कोही होटेल मालिक, कोही चिया कमान, डिलरसिपमा सिप्रदी र उद्योग व्यवसायको मालिक बनेर आफू धनी हुने होडमा किन लागे । यहाँका मूर्तिहरू, भूपतिन्द्र मल्लको सालिकको पेटी समेत रातारात कसले चोर्यो ? यो देशका नमिता-सुनिताजस्ता छोरी-चेलीमाथिको बलात्कार र हत्या कसबाट भयो ? ज्ञानेन्द्रको राज्यकालमा विरेन्द्रको सम्पत्ति सबै आफ्नो नाममा सार्ने । पशुपति भण्डारमा आगलागी भएको निहुँमा त्यहाँका ताडपत्र लगायतका बहुमूल्य पुरातात्विक वस्तु कसले गायव बनायो भन्ने कुराको खोजीमा राजेन्द्र स्वयं लाग्नुपर्ने हो । यद्यपी अहिले रानीको गहना बेचेर स्थापना गरेको उद्योग अरे । आफै उद्योगको मालिकले गहना कतिखेर बेचे ? यो कुरा राजेन्द्रलाई सम्झाउनुपर्ने कुरा भयो ।
यहाँ कसैलाई गाली गरेर आफू ठुलो हुने होड छ । यसै अनुरूप राजेन्द्र लिङ्देन सुरुका दिनमा निकै मनपर्ने नेताको रूपमा प्रस्तुत हुँदै थिए । तर अहिलेको अवस्थामा अरु राजनीतिक दललाई गाली गर्ने मान्छेको भिड जम्मा गर्ने होडबाजीमा लागेको पाउनु दुःखद कुरा हो । फेरि राजा ल्याउँछु भन्छन् । त्यो कुन राजा हो ? उनी आफै राजा हो भने हुन्छ । फेरि के राजा ल्याउने अभियान वा माग उनले राखेर उनले ल्याएको राजा सबैलाई स्वीकार्य हुन्छ ? राजा ल्याए एउटैलाई जति सुविधा दिए पनि भयो, नभए कतिलाई दिएर सक्नु सुविधा भन्ने उनको तर्क बेकारको हो । अहिले साधारण जनताको छोरो साधारण महिला राष्ट्रप्रमुख हुने मौकाको उपभोग गरिरहेका छन् । यो सार्वजनिक मौकालाई कुण्ठित गरेर राजा ल्याउने ? एउटै परिवारलाई मनपरी मच्चाउन दिने भन्ने कि देशमा कार्यरत दलहरूलाई अनुशासित बनेर देशलाई सम्पन्न बनाउनतिर लाग्ने ? खै लिङ्देनको आर्थिक कार्यक्रम ? देश सम्पन्न भएपछि सबैलाई सुविधा दिए भैगो ? यसैले राजा ल्याउने कुरा अहिलेको अवस्थामा गलत र अस्वाभाविक राजनीति हो ।
माओवादी जनयुद्धको बेला युद्ध भयो, मान्छे मारिए । छापामार युद्धमा कैयौँ निर्दोष पनि परे होलान् । यो गम्भीर नोक्सानी हो । तर एउटा राजनीतिक दलले राज्यसत्ताको निरंकुशता विरुद्ध ज्यानको बाजी लगाएर युद्धको घोषणा गर्नु सानो कुरा होइन । यसैको उपलब्धि होइन, राजेन्द्रजीले राजा ल्याउँछु भनेर मान्छे जम्मा गर्दै हिँड्न पाइको ? पहिले त राजालाई मन नपर्ने कुरा बोले जेल जानु पर्थ्यो । यसैले सबैका सही र गलत दुवै पक्ष हुन्छन ।
म राजेन्द्र लिङ्देनलाई सम्मान गर्छु । तर लिङ्देनजीले देशको अर्थव्यवस्था बलियो बनाउने, वैदेशिक नीतिमा अस्वाभाविक अवस्था देखिएको छ, यसमा सुधार ल्याउने, देशका उद्योग कलकारखानाको पुनःस्थापना र पुनःसंचालन गर्ने, जातीय भेदभावबाट जनतालाई मुक्त गर्ने, राष्ट्रवादी शक्तिसित सहकार्य गर्दै देशको भौगोलिक सुरक्षा गर्ने, विदेशी हस्तक्षेप विरुद्ध मोर्चाबन्दी गर्ने, सुगौली सन्धिदेखि गुमेको भूभागलाई छिनोफानो गरी फिर्ता लिन पहल गर्ने, देशभर धार्मिक सहिष्णुता कायम गर्ने, धर्म निरपेक्षताको नाममा क्रिश्चियनीकरणको दबदबाबाट देशलाई मुक्त राख्ने जस्ता कार्यक्रम लिएर लिङ्देन अगाडि आउनुपर्ने थियो । तर उनी एकोहोरो राजाको नाम जपिरहेका छन् । उनीसँग देश विकासको कुनै योजना देखिएन ।
राजा-महाराजा वा जो कसैले देशका लागि गरेको योगदानको संरक्षण गर्न पनि नेताले लाज मानिरहनु पर्दैन । यस कुरामा माओवादीले पनि पृथ्वीनारायण शाहको एकीकरण अभियानले सिङ्गो देश प्राप्ति हुन सकेको ऐतिहासिक अवस्थालाई सम्मानका साथ गौरवको रूपमा स्वीकार्नु पर्छ । त्यस्तै महेन्द्रले पूर्व पश्चिम राजमार्ग लगायत उनले गरेको राम्रा कामको कदर गर्नुपर्छ । महेन्द्रले कोदारी राजमार्ग खोलेको बेला धेरै कम्युनिस्टले माओको लकेट लगाउँथे । सुनिन्छ उनले त्यतिबेला भारत अथवा अन्य देशले कोदारी राजमार्ग खोल्दा चीनको प्रभाव बढेर कम्युनिस्ट बढ्छन् भन्ने कुराको जवाफमा गाडी चढेर कम्युनिस्ट आउँदैन भनेका थिए रे । यतिमात्र होइन, माओको लकेट लाउन थाले पनि उनले पनि आफ्नो तस्विरको लकेट बनाएका थिए । यो राजनीति पनि हो । आफ्नो दुनो सोज्याउन सबै लाग्छन् । महेन्द्र राजा थियो । सामन्ती शासनको अगुवाइ गर्नेले समेत राम्रो काम गरेको कुरा स्वीकार्नु पर्छ ।
अहिलेको अर्थिक अवस्था ओली सरकारको मनपरीतन्त्र र भ्रष्टीकरणले धारासायी भएको हो । कोरोनाको महामारीको बहानामा विश्वले नै नौलोखालको मन्दी बेहोर्नु परिरहेको छ । रूस-युक्रेन युद्धले संसारभर नयाँ तरंग ल्याएको छ । अमेरिका लगायतका पश्चिमा साम्राज्यवादी ताकतले विश्व तहस नहस बनाउन खोजिरहेका छन् । कोरोनाको हतियार भुत्ते भयो भनेर अहिले नाटोलाई सक्रिय राखेर विश्व खरानी बनाउन यस्तो आततायी शक्तिले नेपालमा एमसीसी बनेर दारा नङ्ग्रा फैलाउन खोजिरहेको छ । यस अवस्थामा सबै राजनीतिक दल होसियार नभए सदाकाल स्वतन्त्र रहेको देशमा नयाँ खालको संकट आउन सक्छ ।
देशलाई समृद्ध बनाउने कुरामा केन्द्रित भएर कार्यक्रम अग्रसर गराउने कुरा उठाउन सके राजेन्द्र लिङदेन पनि साँच्चै अगुवा राजनीतिक नेता हुनसक्ने अवस्था आउँथ्यो । अहिले समाजबाट पर भइसकेको राजसंस्थाको स्थापना र हिन्दु राष्ट्रको भ्रममा राजेन्द्र लिङदेनजस्तो व्यक्तित्व फस्नु हुँदैन भन्ने मेरो सुझाव छ । यसले राजेन्द्र लिङदेनलाई भारतीय हिन्दुवादी र यहाँका राजघरानाको समेत लगानी छ भन्ने कुरा चर्चामा आउन थालेको छ । यस्तो कुरालाई असत्य साबित गर्ने उहाँको दायित्व हो ।
(लेखक अर्थशास्त्री तथा कृषि विकास बैंकका पूर्व उपमहानिर्देशक हुनुहुन्छ ।)