वर्गयुक्त समाजमा एक वर्गको आर्थिक राजनैतिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन । प्रत्येक समस्याप्रतिको दृष्टिकोण एकवर्ग र अर्को वर्गको बिचमा एकदमै भिन्न हुन्छ । अतः समाजको प्रत्येक क्षेत्रमा भिन्नाभिन्नै वर्गको बिचमा आपसी संघर्ष भई नै रहेको हुन्छ । यो संघर्ष व्यक्ति व्यक्ति बिचको नभई संगठित रूपले परस्पर विरोधी वर्गको बिचमा हुन्छ । यो वर्ग संघर्ष पहिले अचेतन रूपमा हुन्छ भने पछि चेतन रूपमा हुन्छ । यस्तो संघर्षको सिलसिलामा इतिहासको कुनै एक खास स्थितिमा भिन्नाभिन्नै स्वार्थ भएका सबै वर्गहरू समाजको साझा दुश्मनको रूपमा देखापर्न आएको कुनै एक वर्ग – जो समाजको प्रत्येक क्षेत्रमा हाबी भएर बसेको हुन्छ, त्यसको विरुद्ध संयुक्त भई संघर्ष गर्दछन् । यस्तो संघर्षको चरण समाप्त भएपछि सामाजिक वर्गको शक्ति सन्तुलनमा परिवर्तन आउँछ र परिणामस्वरूप वर्ग संघर्षको मोड अर्को हुन्छ ।
प्रत्येक वर्गको स्वार्थ भिन्नाभिनै हुने हुनाले एउटै संगठनले सबै वर्गको स्वार्थलाई प्रतिनिधित्व गर्न सक्दैन । अतः भिन्नाभिन्नै वर्गको अलगअलग राजनैतिक संगठन हुन आवश्यक हुन्छ । यस्तो राजनैतिक संगठनमा एक वर्गका सबै व्यक्तिहरू सरिक हुन सक्दैनन् । उनीहरूको चेतनाको स्तरले गर्दा यो संभव छैन । अतः पार्टी भन्नाले कुनै पनि वर्गको सबभन्दा चेतनशील, लडाकु, संगठित र अनुशासित दस्तालाई हामीले बुझ्नु पर्दछ ।
यस्तो राजनैतिक संगठन केवल एक स्पष्ट कार्यक्रमको आधारमा मात्र हुन सक्दछ । उक्त कार्यक्रमको निर्माण कुनै एक वर्गको स्वार्थ रक्षाको दृष्टिकोण अनुसार भएको हुन्छ । अतः कुनै पनि पार्टीले आफ्नो वर्गको दृष्टिकोण र कार्यक्रमको औचित्य साबित गर्नको निम्ति समाजका विभिन्न वर्ग तथा वर्गस्तरहरूका जनवर्गीय संगठनहरूको गठन गर्दछन् । अतः यसबाट यो पनि साबित हुन्छ कि एक कुनै अमुकवर्गले आफ्नो दर्शन (दृष्टिकोण) र कार्यक्रमको औचित्य साबित गर्नको निम्ति खेलिने दाउपेच तथा क्रियाकलापको नाम नै राजनीति हो । यस राजनितिको संचालन पार्टी मार्फत् नै हुन्छ । अतः वर्गयुक्त समाजमा वर्ग स्वार्थको रक्षाको निम्ति पार्टी एक अनिवार्य कुरा हो ।
(नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको यो लेखलाई नेकपाको चौथो सम्मेलनमा प्रस्तुत ‘नेपाल कम्युनिष्ट पार्टी र यसको कार्यपद्धति’ शिर्षक दस्तावेजबाट लिएका हौँ – सं. ।)
यी पनि पढ्नुहोस्ः
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र – क. पुष्पलाल
जाति, भाषा, सांस्कृतिक समस्याको सवाल र कमरेड पुष्पलाल – क. लोकनारायण सुवेदी











