पुँजीवादी संकट के हो ?
सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ ।
सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक शक्ति र उत्पादन सम्बन्ध बिचको द्वन्द्वले त्यतिबेलाको उत्पादन पद्धतिमा संकटको सिर्जना गरेको थियो ।
कार्ल मार्क्स नै त्यस्तो व्यक्ति हुहुन्थ्यो, जसले पहिलो पटक सामन्तवादी वा पुँजीवादी उत्पादन पद्धतिमा आउने संकटको वैज्ञानिक व्याख्या गर्नुभएको थियो । मार्क्सभन्दा अघिका अर्थशास्त्रीहरुले उत्पादित वस्तुको उपभोग गर्न नसक्ने अवस्थालाई संकटको रुपमा विश्लेषण गरेका थिए । संकटको यो कम उपभोगको धारणलाई काल्पनिक समाजवादी रोबर्ट ओवेन, चार्ल्स सिसमोन्डी र थोमस माल्थस हुँदै जोन कार्ल रोडबेट्सले व्याख्या गरेका थिए भने जोन मिनार्ड किन्सले सन १९३० को आर्थिक मन्दीको समाधानको रुपमा यही धारणालाई प्रयोग गरी सैद्धान्तीकरण गरेका थिए ।
मार्क्स र एङ्गेल्सले सन् १८४८ को कम्युनिस्ट घोषणपत्रमा नै कम उत्पादनको यो धारणालाइ अस्विकार गर्दै पुँजीवादको अति उत्पादनले पुँजीवादलाई संकटमा लैजाने विचारको ब्याख्या गर्नु भएको थियो ।
यो धारणाको विस्तृत व्याख्या मार्क्सले ‘पुँजी’ भाग १ मा गर्नु भएको थियो । मार्क्सले यसलाई ‘अति उत्पादनको महामारी’ भन्नु भएको थियो जुन पहिलो र दोस्रो विश्वयुद्धले पुष्टि गरिसकेका छन् ।
अति उत्पादनको कारणले आफ्नो देशको बजारले नपुगेर अरु देशको बजार कब्जा गर्ने पुँजीवादको रणनीतिलाई नै साम्राज्यवाद भनियो, जसलाई लेनिनले ‘पुँजीवादको उच्चतम अवस्था’ भनी विश्लेषण गर्नुभएको थियो । अति उत्पादनको कारणले वजारको विस्तार, उत्पादनको कटौती, वेरोजगारी र पुँजीवादी राष्ट्रको बिचमा हुने खिचातानीले पुँजीवादलाई संकट उन्मुख गराउँछ र त्यसको निकासको रुपमा पुँजीवादको अन्त्य भई समाजवादको स्थापना हुन पुग्ने धारणा मार्क्सवादीहरुले राख्दछन् ।
पुँजीवादले भोगेका केही प्रमुख संकटहरुः
विश्वमा पुँजीवादको सुरुआत १६औँ शताब्दीदेखि भएको मानिन्छ । यो ५०० वर्षको इतिहासमा पुँजीवादले विभिन्न समयमा विभिन्न संकटहरुको सामना गर्नु परेको देखिन्छ । आर्थिक वा वित्तिय संकट, सामाजिक वा सांस्कृतिक संकट, मानवजन्य तथा स्वास्थ्य सम्बन्धी संकट आदि । पुँजीवादले सामना गर्नु परेका केही संकटहरुलाई यहा उल्लेख गरिएको छ ।
सन् १७७२ को ऋण संकट (The Credit Crisis of 1772) पुँजीवादी दुनियाँको पहिलो संकट थियो, जसले युरोप हुँदै अमेरिकासम्मलाई प्रभावित पारेको थियो । भनिन्छ, यो नै अमेरिकी स्वतन्त्रता आन्दोलनको एक आधार बनेको थियो । यो संकटले तत्कालीन ब्रिटिस साम्राज्यका सम्पूर्ण बैंक र वित्तिय संस्थाहरु लगायत युरोपको आर्थिक कारोवारलाई चुनौती दिएको थियो ।
दोस्रो संकट पहिलो विश्वयुद्ध (१९१४-१८)ले सिर्जना गरेको थियो जस्ले सन १९१७ मा रुसमा समाजवादको स्थापना गरी पुँजीवादी दुनियाँलाई चुनौती दिएको थियो । पहिलो विश्वयुद्धको यो संकट यति गहिरो थियो कि यसको असरले दोस्रो विश्वयुद्धको महामारी निम्त्याउनुका साथै सन १९३० को आर्थिक मन्दी समेत ल्यायो । पुँजीवादको इतिहासमा सबैभन्दा बढी प्रभाव पारेको यो महामन्दीले सिङ्गो विश्व अर्थतन्त्रलाइ धरासायी बनाउनुका साथै अमेरिकामा २५ प्रतिशतले बेरोजगारी दर बढाएको थियो ।
अमेरिकाको आर्थिक इतिहासमा सन् (१९२९-३०) पछि जीडीपीमा सबैभन्दा ठूलो गिरावट आएको थियो । यसले अमेरिकामा सन् १९३२ मा १२.९ प्रतिशत र सन् १९४६ मा ११.६ प्रतिशतले गिरावट आएको थियो । करिब १० वर्षसम्म रहेको यो महामन्दीले दोस्रो विश्वयुद्धलाई समेत निम्त्याएको थियो । यही महामन्दीले पुँजीवादलाई टिकाइराख्ने किन्सियन आर्थिक सिद्धान्तको समेत निर्माण गराएको थियो, जुन हालसम्म पनि पुँजीवादी दुनियाँको दरिलो आर्थिक हतियारको रुपमा रहेको छ ।
चौथो संकट दोस्रो विश्वयुद्ध थियो जसले अमेरिकालाई आफ्नो साम्राज्यवादी शक्तिको प्रदर्शन गर्ने अवसर दिनुका साथै आणविक हातहतियारको परिक्षण गर्ने मौका पनि प्रदान गरेको थियो । यो युद्धले करिब ८५ लाख मानिसहरुको ज्यान लिएको थियो । यही युद्धको कारणले चीनमा समाजवादी सत्ताको स्थापना हनुका साथै अमेरिका र सोभियत संघलाई महाशक्ति (सुपर पावर) को रुपमा स्थापित गराई सिङ्गो विश्वलाई शीत युद्धमा प्रवेश गराएको थियो ।
पाँचौ संकट सन् १९७२ को तेल निर्यातक राष्ट्रहरुले अमेरिकालाई तेल नदिने निर्णयबाट उत्पन्न भएको थियो । अमेरिकाले अरब राष्ट्रहरुमा युद्ध थोपरेको विरोधमा गरिएको यो कदमले अमेरिका र युरोपमा ठुलो आर्थिक संकट निम्त्याएको थियो ।
यसै बिच सन १९९० को सुरुमा साभियत संघबाट समाजवादको अन्त्य भएपछि पुँजीवादी विचारकहरुले अब पुँजीवादमा कुनै समस्या छैन र सदाका लागि समाजवादको अन्त्य भएको घोषणा गरे । यो तथ्यलाई सन १९९२ मा फुकुयामाले इतिहासको अन्त्य (The End of History and the Last Man) भन्ने पुस्तक मार्फत ब्याख्या गरे र घोषणा गरे कि अब दुनियाँमा पुँजीवादी बजार अर्थतन्त्र बाहेकको अर्को व्यवस्था सम्भव छैन । उनको पुस्तकको मसी सुक्न नपाउँदै अर्को संकट पुँजीवादले भोग्नुपर्यो, जुन सन् १९९७ को एसियाली संकट थियो ।
यो संकट थाइल्याण्डवाट सुरु भई पूर्वी एसियाका राष्ट्रहरु सिङ्गापुर, मलेसिया, इण्डोनेसिया, हङकङ, दक्षिण कोरिया आदिमा फैलिएको थियो । थाइल्याण्डले अमेरिकी डलरलाई विनिमय गर्न छाडेपछि यो संकटले विश्वव्यापी रुप लिएको थियो ।
अर्को र सबैभन्दा पछिल्लो संकट सन् २००७-०८ को संकट थियो, जुन अमेरिकाको रियल स्टेट कम्पनीको कारणले सुरु भएको थियो । यसले ठुलो संख्यामा रोजगार कटौती गर्नुका साथै बैंक र वित्तीय सस्थाहरुलाई अत्यधिक प्रभाव पारेको थियो ।
यी सबै संकटहरुलाई पुँजीवादले विभिन्न ढंगले थेग्दै आएको देखिन्छ, जसमा अमेरिकी र विश्वका अन्य पुँजीवादी राष्ट्रहरुको कुशल नेतृत्व जिम्मेवार थिए । तर अहिले अन्य पुँजीवादी राष्ट्रहरु आफनै आन्तरिक समस्यामा छन् भने अमेरिका राष्ट्रपति ट्रम्पको दम्भको कारण विश्वमा बढिरहेको यो संकट समाधानमा असक्षम देखिइसकेको छ ।
कोरोना सिर्जित विश्वव्यापी संकट
नाफामा मात्र केन्द्रित विश्व पुँजीवादको सक्कली मुहार स्वास्थ्यजन्य संकटको बेला थप मुखरित हुने गर्दछ । अरु बेला नाफा हुने क्षेत्रमा मात्र लगानी गर्ने र स्वास्थ्यको बजेट समेत अरु क्षेत्रमा खर्च गर्ने विकसित राष्ट्रहरुले अहिले महामारीको समयमा बल्ल सार्वजनिक स्वास्थ्यमा थप लगानी आवश्यक भएको धारणा राख्दैछन् ।
सन १९१८ को स्पेनिश फ्लुको बेला देखिएको यो स्वास्थ्य संकट सन् २००३ को सार्सको बेला पनि यसरी नै असरदार रहेको थियो, जसले २६ देशलाई प्रभावित पारेको थियो ।
त्यस्तै सन् २००९ मा स्वाइन फ्लु (एचवान एनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण दुनियाँको ठुलो जनसंख्या प्रभावित बन्यो । अहिलेको कोभिड १९-यी महामारी भन्दा पनि अझ बढी विश्वव्यापी बन्यो र बनिरहेको छ ।
विश्वका ११२ राष्ट्रमा फैलिएको यो रोगले २ लाख ३९ हजार मानिसको ज्यान लिइसकेको छ भने ३४ लाख मानिस यसवाट प्रभावित छन् । यसले सामाजिक, आर्थिक, राजनीतिक रुपमा ठुलो संकटको सिर्जना गराइरहेको छ । यो संकटको स्रोतको रूपमा पुँजीवादको कुनै हात छैन तर यसलाई नियन्त्रण गर्नसक्ने क्षमता पुँजीवादले गुमाएकोमा भने यो व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ ।
विश्वको आधा जनसंख्या बेरोजगार बनिरहेको र सन २००८ मा भन्दा निकै ठुलो आर्थिक मन्दीको सामना गर्न परेको यो अवस्थामा अमेरिकी पुँजीवादको मकुन्डो विश्व सामु छरपष्टिएको छ भने आफूलाई विश्व शक्तिको दावेदार ठान्ने युरोपियन युनियन, ब्रिटिस सरकार लगायत जर्मनी, फ्रान्स, इटाली लगायतका राष्ट्रहरु पनि कोरोना सामु आत्मसमपर्ण गरिरहेका छन ।
कोरोनाको यो विश्वव्यापीकरणले चीन, जापान, र पूर्वी एसियाका राष्ट्रहरु युरोपको तुलनामा कम प्रभावित बनिरहेका छन् । कोरोनाले विश्वको स्वास्थ्य क्षेत्रमा पनि ठुलो प्रश्न चिन्ह लगाएको छ । यसले धनी राष्ट्रहरुको स्वास्थ्य क्षेत्रको लगानी र नाफा केन्दित स्वस्थ्य प्रणलीमाथि पनि प्रश्न चिन्ह लगाएको छ ।
निजी क्षेत्रका सबैभन्दा ठुला स्वास्थ्य सामग्री उत्पादक कम्पनीहरु क्विजेन, डच र रोच ल्यााबोरेटोरी, स्विजरल्याण्डले समेत सामग्री उत्पादन गर्न असमर्थ रहेको जनाएका छन् ।
अमेरिका लगायत युरोपका विभिन्न राष्ट्रहरुमा यी सामग्रीको अभावलाई चीनले आपूर्ति गराइरहेको छ, जसले विश्वको आधा स्वास्थ्य सामग्रीको उत्पादन गर्दछ ।
युरोपका विभिन्न राष्ट्रहरुमा मास्क र रेस्पिरेटरको निकै अभाव रहेको छ । रूस, टर्की र जर्मनीले यी सामग्रीको निर्यातमा रोक लगाएका छन् भने फ्रान्सले यी सामग्रीहरुको जफत गरी स्टोर गरेको छ ।
स्वास्थ्यलाई पनि व्यापारको नजरबाट हेर्ने र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गर्ने राष्ट्रहरु बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, इटाली लगायतका विकसित पुँजीवादी राष्ट्रहरु अहिले कोरोनाको अत्यधिक प्रभावित राष्ट्रहरुमा पर्दछन् ।
कोरोनाको यो विश्वव्यापीकरणले सिङ्गो विश्वमा संकटको सिर्जना गरेको छ । एकातिर भने अर्कोतिर विश्व शक्ति सन्तुलनलाई पनि फेरबदल गर्ने देखिएको छ । जसरी ‘ब्ल्याक डेथ’ को नामले चिनिने चौधौँ शताब्दीको प्लेग महामारीले युरोपको त्यस ताकाको अर्थराजनीतिमा नै परिवर्तन ल्याइदिएको थियो, त्यसरी नै अहिलेको महामारीले पनि विश्वको शक्ति सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन गरी अमेरिकी अधिपत्यलाई परास्त गर्दै चीनलाई महाशक्तिको रुपमा स्थापित गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
(लेखक मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुनुहुन्छ ।)