Nirmal Lama, निर्मल लामा, निमा वाङ्दी लामा
 

अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने लेनिनको नेतृत्वमा भएको त्यो अक्टोबर क्रान्तिले विश्वलाई कसरी र किन थर्काउन सक्यो ? १९१७ मा भएको उक्त क्रान्तिको समयमा कृषिप्रधान देश थियो । सयकडा १४ प्रतिशत मात्र मजदुर थिए । त्यही सयकडा १४ प्रतिशत मजदुरलाई साथमा लिएर ८६ प्रतिशत किसानको नेतृत्व लेनिनले अक्टोबर क्रान्ति सफल गर्नुभएको थियो ।

त्यसबेलाका रुसका मार्क्सवादका पिता प्लेखानोभले लेनिनको किसानहरूको सहयोग लिने विचारको विरोध गरेका थिए। त्यस्तै ट्राटस्कीले लेनिनवादको विरोधमा ट्राटस्कीवाद लेखेका थिए । नरोदनिक्‌हरूले सैनिकी मजदुरवादी नीतिको विरोध गरेका थिए । तैपनि लेनिनजस्ता महान्‌ नेताले प्लेखानोभ र ट्राटस्कीलाई उनीहरूको क्षमताको उचित कदर गर्दै गम्भीर जिम्मेवारी दिनुभएको थियो । यो एउटा यस्तो संस्कार र संस्कृति थियो, जसको हामीले सम्मान र अनुसरण गर्नुपर्छ जस्तो मलाई लाग्छ । यस क्षेत्रमा हामी धेरै पछि परेका छौँ । मतभेद हुने बित्तिकै उसलाई सिध्याउने प्रवृत्ति हामीमा हाबी भएको छ ।

वास्तवमा अक्टोवर क्रान्ति के थियो ? कृषिप्रधान रुसमा कृषकहरूको आफ्नो टुक्रा जमिन थियो । मेरो जमिन, मेरो परिवार, मेरो खेत, मेरो अन्न आदि भन्ने व्यक्तिवादी प्रवृत्ति थियो । कुलो, नहरको अर्काको पानी चोर्न पाए आफ्नो खेत सप्रन्थ्यो । त्यो व्यक्तिवादी प्रवृत्तिलाई लेनिनले म र मेरोबाट हामी र हाम्रोमा परिणत गरिदिनु भयो, मार्क्सवादको सारतत्न यही हो ।

दास युगमा स्पार्टसको त्यत्रो महान्‌ क्रान्तिको बेला मार्क्सवाद किन जन्मेन ? त्यत्रो ठुलो दासयुद्ध कसरी विफल भयो ? त्यसपछि सामन्तवादी युगमा ठुलठुला किसान क्रान्तिहरू भए र त्यसबेला पनि मार्क्सवाद किन जन्मेन ? त्यसपछि पुँजीवादको जन्म भयो । यसले धेरै कारखानाहरू बनायो । किसानहरू टाट पल्टेर सुकुम्बासी भए । कामरेड मार्क्सले आफ्नो पुस्तक “पुँजी” को आठौँ अध्यायमा किसानहरूको अतुलनीय र असहनीय पीडाको विवरण बेलायतको कानुनी व्यवस्थाको उल्लेख गर्दै तथ्य पेस गर्नुभएको थियो । यी तथ्यहरू प्रायः सबै देशहरूका समाजको विकासमा लागु भएको छ । यी सुकुम्बासी किसानहरूलाई शोषण गरेर पुँजीपतिवर्गले कारखानामा दल्नसम्म दलेका छन् । कारखानामा मजदुरहरूले ३/४ घण्टा काम गरेर आफ्नो परिवारको राम्रो व्यवस्था गर्न सक्छन्, तर पुँजीपतिवर्गले मजदुरहरूलाई १६/ १८ घण्टा परिश्रम गराएर अतुलनीय नाफा कमाउँछन्, जसले गर्दा फोर्ड, रकफेलर, टाटा, बिरला, हाम्रो देशमा पनि खेतान, गोल्छा, चौधरी आदिको जन्म भयो । कार्ल मार्क्सको समाज विकासको यही विन्दुलाई समातेर कारखानामा काम गर्ने मजदुर सामूहिक र सामाजिक हुन्छन् । ठीक समयमा कारखानामा पुग्छन, ठीक समयमा काम सुरू गर्छन् । किसानहरू जस्तो मलाई आज काम गर्न मन लागेन भनेर भाग्न पाउँदैनन् । कारखानामा त एक समयमा सबै मिलेर एकै साथमा काम गर्नुपर्छ । मार्क्सवादले समातेको दर्शनको मूल तथ्य यही हो ।

अक्टोबर क्रान्तिको विषयमा कुरा गर्दा मैले माथि भनेको कुराहरूलाई आत्मसात नगर्ने हो भने त्यसको केही अर्थ रहन्न ।

मलाई लाग्छ लेनिनले मार्क्सवादको यही सारतत्त्वलाई अङ्गीकार गरेको हुनाले विश्वलाई दश दिनमा हल्लाउन सफल हुनुभएको थियो । लेनिनले विश्वलाई यसरी हल्लाउन सक्नुको पछिल्तिर के कारण थियो ? लेनिनले मार्क्सवादलाई वैज्ञानिक ढङ्गले व्यवहारमा उतारिदिनुभयो ।

आज अक्टोबर क्रान्ति असफल भएको प्रतिक्रियावादीहरूले हल्ला मच्चाएका छन् । के साँच्चै अक्टोबर क्रान्ति असफल भएको हो ? होइन, अक्टोबर क्रान्ति असफल हुने सक्तैन । त्यसको पछाडि पुँजीपतिवर्ग र प्रतिक्रियावादीहरूको खतरनाक षड्यन्त्र छ । आज पनि मजदुरवर्ग र पुँजीपतिवर्ग बिचको अन्तर्विरोध कायमै छ । जबसम्म यो अन्तर्विरोध कायम रहन्छ, तबसम्म यो मार्क्सवाद कायम रहन्छ । अक्टोबर क्रान्ति असफल हुनै सक्तैन, हुनै सक्तैन । हेर्नुस् त, लेनिन कति वस्तुवादी र व्यावहारिक हुनुहुन्थ्यो । अक्टोबर क्रान्ति सफल हुने बित्तिकै उहाँले किसान बाहुल्य भएको देशलाई ठाडै समाजवादी व्यवस्थाको कुरा नगरी ‘नेप’ अर्थात ‘न्यू इकोनोमिक प्लान’ को योजना पेस गरेर कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारावर्गको नियन्त्रित पुँजीवाद र विजुलीकरणको विकास योजना पेस गर्नुभयो, जुन योजनालाई लेनिनपछि स्टालिनले कृषि सामूहिकीकरण गर्नुभयो। त्यस किसान योजनालाई पूर्णता दिनुअघि रुस दोस्रो विश्वयुद्धमा फस्नुपर्‍यो । त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा जति रुसका जनता मरे, त्यति अरु देशका जनता मरेनन् । त्यति हुँदाहुँदै पनि त्यस युद्धपछि स्टालिनको नेतृत्वमा ९ वर्षभित्रै सोभियत रुसले जुन महान् विकास गयो र स्पुतनिक निर्माण गरी अन्तरीक्षमा विचरण गर्न सफल भयो, त्यो पनि अक्टोबर क्रान्ति र मार्क्सवादको विजय हो ।

आज रुस र पूर्वी युरोपीय देशहरूको जुन अधोगति हामी देखिरहेका छौँ, त्यो मार्क्सवाद र अक्टोबर क्रान्तिको आधारभूत तत्त्वलाई तिलाञ्जली दिएको हुनाले भएको हो भन्ने विषयमा म विश्वस्त छु । र, अर्को के कुरामा म विश्वस्त छु भने भविष्य त कारखानामा सामूहिक परिश्रम गर्ने मजदुरवर्गको मात्र छ । कमारो मालिक ढले, ठुला-ठुला सामन्त, राजा, महाराजा, पुँजीपतिहरू ढले, तर मजदुर वर्ग, सर्वहारावर्ग कहिल्यै ढल्ने छैन । भविष्य ते केवल सर्वहारावर्गको हो र सर्वहारावर्गकै हुनेछ ।

यसै बिच अर्को एउटा घटना उल्लेख गर्न चाहन्छु । प्रिन्स क्रोपाटनिक अराजकतावादी नेता हुनुहुन्थ्यो । अक्टोबर क्रान्तिको सफलतापछि कमरेड लेनिनले उहाँलाई दुध पिउन भनी एउटा राम्रो गाई उपहार स्वरूप पठाउनु भयो । प्रिन्स क्रोपाटनिकलाई उक्त गाई फिर्ता गर्दै जवाफ दिनुभयो के तिमी सम्पूर्ण रुसी जनतालाई गाई दिन सक्छौ ? मलाई मात्र किन ? यस्तो संस्कार र राजनीतिक संस्कृतिको लेश मात्र हामी नेपाली कम्युनिस्टहरूमा छ ? क्षमा गर्नुस म अलि कठोर शब्द बोलिरहेछु ।

साम्यवाद कायम भएपछि पनि मान्छे र प्रकृतिको बिचमा अन्तर्विरोध कायम रहन्छ । आज रुसमा मार्क्सवाद असफल भयो भन्छ, त्यो पूर्वी युरोप र सोभियत युनियन भित्र पैदा भएको व्यक्तिवादी प्रवृत्ति हो, जसलाई म पुँजीवादी भन्न रुचाउँछु । तिनीहरूको क्षणिक विजय मात्र हो । आज पनि त्यहाँ कम्युनिस्ट विचारधारा, ठिक अर्थमा भन्ने हो भने मार्क्सवादी विचारधाराको विकास भइरहेको छ । यस अर्थमा अक्टोबर क्रान्तिको हार कहिल्यै हुन सक्तैन ।

अब नेपालको विषयमा नै भनौँ । नेपालमा मार्क्सवादी विचारको बाहुल्यता नै छ, तर दुर्भाग्यवश एकातिर मार्क्सवादी बहुदलीय जनवाद भनेर ठुलाठुला बिल्डिङ र पजेरो संस्कृतिको विकास भइरहेको छ भने अर्कोतिर जनताको चेतनास्तरलाई बेवास्ता गरी तुरुन्तै क्रान्ति गर्ने विचार हाबी भएको छ । यो मार्क्सवाद त हुँदै होइन, तसर्थ जनताको जनसंघर्षको विकास गरी सशस्त्र संघर्षको स्तरमा पुऱ्याउँदै आज हामी अक्टोबर क्रान्तिप्रति श्रद्धा र सम्मान गर्ने साथीहरूको मुख्य कर्तव्य हुन आएको छ ।

हामी सशस्त्र संघर्षका विरोधी होइनौँ, बरु सशस्त्र संघर्ष कहिले र कसरी थाल्ने भन्ने विषयमा हामी अति गम्भीर छौँ ।

(०५५ कार्तिक २२ गते पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा क. निर्मल लामाद्वारा प्रस्तुत यस कार्यपत्रलाई हामीले उहाँको संस्मरण ग्रन्थ ‘मुक्तियोद्धा निर्मल लामा’बाट साभार गरेका हौँ ।)

यी पनि पढ्नुहोस्ः

निर्मल लामा तिम्रो स्मृतिमा – क. शरद पौडेल

क. निर्मल लामाको सम्झनामा – क. टंक कार्की