शिव अधिकारी, shiv adhikari darhi, leftist economist
 

तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्‍याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट ओर्लेपछि संसारबाटै नहराउन्‌ भन्ने मानवीय कामना मात्र हो ।

ओलीले फुच्चे खेल खेलेर सत्तालाई खेलौना बनएर मोजमस्ती गर्ने हैसियत देखाउनु दुर्भाग्यपूर्ण हो । उनको यो बेइज्जतिपूर्ण हर्कतले आफू जनपक्षीय हुँ भन्ने समाजवादी नेतृत्वका लागि समेत मुख देखाउन गारो र लाजको भारी भएको छ । उनका मन्त्री के भनिरहेका छन्‌? उनका सल्लाहकारको हैसियत कस्तो छ? बौद्धिक समुदायले उनको बारेमा के भनिरहेका छन्‌? भन्ने कुराले उनको मूल्याङ्कन भइरहेको छ ।

खगेन्द्र संग्रौला भनिरहेका छन् – बाँचदरलाई मकैबारीको गोठालो हो ओली । सांकेतिक अर्थमा यति भने पुग्छ देश अहिले कस्तो भएको छ? ओलीको चमत्कारिक ठट्टा र राष्ट्रिय सम्पत्तिको दुरुपयोगले देश जलिरहेको छ भन्ने कुरा सबैलाई थाहा छ । तर ओली भने रोम जलिरहेको बेला निरो बाँसुरीको धुनमा मस्त भने झैँ ठाउँ ठाउँमा मान्छे जम्मा गरेर मदारीले जस्तै जोक सुनाइरहेका छन्‌ र चटक देखाइरहेका छन्‌ । कहिले उनको चटकको साक्षी अदालत बन्छ भने कहिले निर्वाचन आयोग बनेको पाइन्छ । दुवै संस्थालाई आफ्नो औँलामा नचाएको छु भन्ने उनको बहादुरीको संरक्षक विद्या भण्डारी भएकी छन्‌ । विद्याले पनि राष्ट्रपतिको कुर्सीको दूरूपयोग गरेको आरोप लाग्ने गरेको छ । कतिपयले त फोहोर भयो नै भन्न लागिसके । आफू त्यत्रो संघर्षशील र प्रभावशाली व्यक्तित्वको श्रीमती भएर पनि श्रीमानको षड्यन्त्रपूर्ण हत्याको खोजी गर्न उदासीन राष्ट्रपति विद्या भण्डारीलाई सबै क्षेत्रको घिक्कार छ । अहिले मात्र ओलीको गोटी बनेर जता सही गर भन्यो त्यतै सही गर्दाको नियति सम्माननीय विद्या भण्डारीले पनि भोग्नुपर्ने अवस्था टड्कारो छ र यो दुर्दशाको दिन धेरै टाढा छैन ।

प्राध्यापक कृष्ण खनाल भनिरहका छन् – इतिहासमा यस्तो नालायक प्रधानमन्त्री कहीँ पनि देखिएको छैन.। यसबाट के बुझ्ने? के कृष्ण खनाललाई कसैले नराम्रो गुरु भनेका छन्‌ र? त्यति शालीन बौद्धिक व्यक्तित्वले समेत खप्न नसकेर ओली जस्तो नालायक भन्ने बाध्यता कसरी उत्पन्न भयो? सायद यतिसम्म भन्न उनलाई मनले मानेको थिएन कि? खपिनसक्नु भएपछिको मनबाट उब्जिएको यो पीडाजनक आक्रोश हो ।

देश लथालिङ्ग अवस्थामा छ । जनता सास्ती भोगिरहेका छन । ओली भने सबैखाले सुविधा जनतालाई दिएको भनेर कुर्लंदै हिँड्ने, विमान चढेर आफ्नै पार्टीका नेतालाई तँछाडमँछाड गरेर गालीगलौज गरेर आफू ठूलो राष्ट्रवादी बन्ने र अरुलाई अराष्ट्रवादी र भारतीय दलालको बिल्ला भिराउने । यस्ता घिनलाग्दा गतिविधि गरेर ओलीले अहिले देशको प्रधानमन्त्रीको कुर्सीलाई अत्यन्तै फोहोर बनाइरहेका छन्‌ । प्रधानमन्त्रीको सम्मानित कुर्सी फोहोर गर्ने हो र? अब त प्रधानमन्त्री हुन्छु भन्नेका लागि पनि लाजै होला जस्तो र त्यो पदै लाजको पोको बनेजस्तो भएको छ ।

भारतका कुटनीतिक विशेषज्ञ तथा सरकारका निकट सल्लाहकार एसडी मुनीले लामो लेखमा भनिरहेका छन्‌ – ओलीलाई उकासेर नेपालको संसद विघटन गर्न र पार्टी विभाजन गर्न सफल भयौँ । यो के सत्य होइन? भएको त्यही छ । संविधानमै नलेखिएको कुरा र फेरि संविधान बनाउँदा आफैले अब कहिल्यै प्रधानमन्त्रीले आफ्नो लहडमा संसद विघटन गर्न सक्दैन भनेको भाषणको रेकर्ड छ र पनि ती सबै कुरालाई बिर्सेर म ६४ प्रतिशत समर्थनबाट प्रधानमन्त्री भएको हुँ । मैले छोडेपछि अर्को सरकार बन्दै बन्दैन । मलाई काम गर्न नै दिएन पार्टीले । दुईतिहाइ बहुमतको सरकार बनाउन मलाई चुनावमा जानुपरको हो । मैले चुनावमा गएँँ भने दुईतिहाइ बहुमत ल्याउँछु । बहुमत ल्याएपछि नेपाललाई दुबई बनाइदिन्छुजस्ता दलीलसहितको संसद भंग गर्ने सिफारिस पनि ठट्टा होइन? के यत्रो जनप्रतिनिधिको संस्था संसदलाई ठट्टामा उडाउन पाइन्छ?

प्रधानमन्त्री ओलीले यसरी गरेको सिफारिसलाई सम्माननीय राष्ट्रपतिको कुर्सीमा बिराजमान विद्या भण्डारीले तथास्तु भनेपछिको भाँडभैलो यो देशले भोग्नुपरेको हो । यो घटनापछि मात्र पनि आन्दोलनको नाममा सरकारकोतर्फबाट ४ अरब सकियो भन्ने सुनिएको छ भने आन्दोलनकारीकोतर्फबाट समेत जनता आउन-जान झण्डै जनताको पसिनाको मोल तोल १ अरबको खर्च भएको अनुमान छ । के यो खर्चलाई कुनै उद्यममा लगाएको भए कति जनताले रोजगारी पाउने थिए? यो विकराल अवस्थामा पुर्‍याउने खतरनाक पात्र ओली हुन्‌ र संसद विघटनलाई अदालतले गलत सावित गरेर पुनःस्थापित गरेपछि यस बिचमा भएको खर्च लगायत सामाजिक दुरूपयोगको जिम्मेवार ओलीलाई बनाएर झण्डै ५ अरब बराबरको क्षति र आजीवन कैदको सँजाय गर्नुपर्ने थियो । सायद म न्यायाधीश भएको भए राष्ट्रलाई यो दुर्दशामा पुर्‍याउने तानाशाहलाई सडकमा ल्याएर नाङ्गेझार पार्ने फैसला गर्थेंजस्तो आक्रोश ममा पनि सुरक्षित छ । हुनतः यो गर्न मिल्छ-मिल्दैन, आफ्नो ठाउँमा छ । भनिन्छ कुकुरले टोक्यो भनेर कुकुरलाई भने टोक्नु हुँदैन । संयमित भएर सोच्नु नै उचित होला ।

संसद पुनःस्थापनाको फैसलालाई ओलीको चौखण्डीमा रहेका तस्करी ग्रुपबाहेक सबैले स्वागत र दिपावली गरेकै हो । अदालतले त्यतिवेलाको अवस्थामा देशलाई ठूलो दुर्घटनाबाट बचाएको पनि हो । ओलीको प्रलोभन र दबाबको बाबजुद पनि साहसपूर्ण निर्णय गरेकोमा अदालतलाई सबैतर्फबाट धन्यबाट दिइएको छ । यो फैसलाबाट ओली र ओलीको चौखण्डी समूहको रुवावासी बाहेक सबै खुसी थिए किनभने कोभिडको महामारीले जनतालाई सास्ती भोग्नु परेको, व्यापार व्यवसाय सबै ठप्प नै भएको अवस्थामा ल्याइएको चुनाव टरेकोमा जनता खुसी हुनु स्वाभाविक थियो ।

यसरी जनता उत्साहित भइरहेको बेला ओलीले फेरि अदालतबाट अर्को बल्छी हानेर माछा पक्रन सफल भएको जस्तो न्यानोको आनन्द लिइरहे जस्तो लागेको छ । के आफैले बनाएको नेपाल कम्युनिस्ट पार्टी भताभुङ्ग भएकोमा आनन्द लिन सकिन्छ र? त्यो पटमूर्ख ओलीको लागि रमाइलो होला तर यो उनकै लागि पनि ‘मुतको न्यानो’ जतिकै हुनपुग्ने कुरा निश्चित छ । कालीदासले आफू बसेको हाँगाको फेदपट्टि बञ्चरो लगाए जस्तै यिनले आफ्नो पार्टी समाप्त पार्न जे-जति तमासा गरे यो उनकै लागि दुर्भाग्यपूर्ण कुरा हो । अदालतले अनावश्यक जिम्मेवारी लिएर नेपाल कम्युनिस्ट पार्टीको नाम सच्याउने आदेशभन्दा पनि बढी जान्ने भएर पुरानै एमाले र एमाओवादीमा फर्कनु भन्ने आदेशमा पनि ओलीको मिलिभगत भएको आशंका गरिए पनि अदालतको फैसला मान्नैपर्ने बाध्यता छ । फेरि निर्वाचन आयोगले एमाले र एमाओवादी पूर्ववतः दर्ता भएको अवस्थामा पनि तत्कालै प्रचण्डलाई एमाओवादी र ओलीलाई एमाले दिने निर्णय गर्नु सायद अदालत र निर्वाचन आयोगको सम्बन्ध गाढा रहेको स्पष्ट भएको छ ।

ओलीले अब म दुधले धोएको छु । अथवा गहुँत छर्किएर शुद्ध छु भनेर यस्ता घटनाबाट पन्छिने ठाउँ नै छैन । उनलाई यो देशको दुर्दशा बनाउन नेपाल ट्रष्ट यतिलाई सुम्पेको, कोभिड औषधी खरिदको नाममा ओम्नीबाट अरबौँ असुल गरेको, सेक्युरिटी प्रेस खरिदमा अरबौँको घोटाला र वाइडबडी जहाजबाट देशलाई नै रसातलमा पुर्‍याएको र एमसीसी ल्याएर नेपाललाई अमेरिकी सैनिक अखडा बनाएर चीन विरोधी केन्द्र बनाउन खोजेकोमा मुद्दा हाले के होला ? यो विचारणीय कुरा छ ।

भारतीय विस्तारवादसँगको साँठगाँठमा सामन्त गोयललाई आमन्त्रण गरेर संसद भंग गर्ने जस्ता कुकर्म गरेको । नेपालको विरोध गर्ने खतरनाक सैनिक प्रमुख नरवाणेलाई बोलाएर महारथीको दर्जा दिएर नेपालीहरुको मानमर्दन गरेको, नेपालको नक्सा छापिसकेको पाठ्यपुस्तक वितरण गर्न रोक लगाएको, नक्सापास गरेपछि कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पहल नगरेको, भारतलाई सुरक्षा परिषद्‌मा जान समर्थन गरेको, तल्लो अरुण भारतलाई सुम्पेर सत्तामा रहन चाकडी गर्ने बाटो बनाएको जस्ता अनेकौँ प्रमाणले ओली भारतीय दलाल हो भन्ने प्रमाणित गरिरहेको छ ।

यस्ता सबै संकटको निवारण गरेर अपराधीलाई कठघरामा उभ्याउन प्रचण्ड अघि सर्नुपर्छ किनभने अहिले देशको अवस्था नाजुक नै भएको छ । यस अवस्थामा प्रचण्डले आफू संयमित भएर नबहकिइकन स्वाभिमानी जनताको नेतृत्व गर्ने र यो देशलाई समृद्ध बनाउन नमूना गाउँ कार्यक्रमको अगुवाइ गर्नुपर्छ । कृषि व्यावसायीकरणबाट देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा सत्य हो । यो सत्यतालाई लिएर प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, मोहन वैद्य, विप्लव, बाबुराम लगायतका नेतालाई समेटेर देशलाई संसारको समृद्ध बनाउने काममा नेतृत्व गर्ने मौका अब प्रचण्डमा मात्रै छ । यद्यपि प्रचण्डले आफूभित्रका सल्लाहकारलाई चुस्त राख्नुपर्छ र बौद्धिक समुदाय एवं सबै पक्षसँग सहकार्य गर्नु जरुरी हुन्छ ।

अहिले देशले अविचलित नेतृत्व गर्ने प्रचण्डकै अगुवाई खोजेको छ । सबै पक्षलाई समेटेर देशको यो संकट निवारण गर्ने कामको नेतृत्वमा उनको सुझबुझ पुगे प्रचण्ड नै संसारको प्रतिष्ठित राजनेताको सम्मान लिने मौका प्रवल छ । प्रचण्डले यो मौका चुक्न दिने छैनन्‌ ।

(लेखक विकास अर्थशास्त्री तथा बामपन्थी विश्लेषक हुनुहुन्छ ।)