कम्युनिस्ट आन्दोलनलाई गलत दिशामा मोड्ने र गतिहीन तुल्याएर तेजोवध गर्ने काम कम्युनिस्टको उत्पत्ति काल १८औँ शताब्दीदेखि सँगसँगै सुरू भएको हो । कार्ल मार्क्सको परिकल्पना जसलाई मार्क्सवाद भनिन्छ, नितान्त थिचिएका, शोषणमा परेका, मजदुर, किसान तथा सर्वहारावर्गको उत्थान र तिनकै राज्यसत्ता स्थापना गर्न वा सामन्ती, शोषक, राजा-रजौटा, तानाशाहहरुलाई उखेलेर फाल्नकै लागि भनेर मार्क्सवाद-लेनिनवादको मार्गनिर्देशक सिद्धान्तलाई साक्षी राखेर कसम खाएपछि नै कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त हुन्छ वा भनौँ कम्युनिस्ट होइन्छ र एकले अर्कालाई कमरेड भनिन्छ वा त्यस्तो इच्छा शक्ति भएकाहरूको झुण्ड वा समूह वा पार्टी लाई नै कम्युनिस्ट पार्टी भनिन्छ ।
पुराना सामन्ती विचारधाराका अनुयायी, तानाशाहहरु, दलाल पुँजीपतिहरू, नोकरशाहहरू जस्तालाई यस्ता कुरा मन नपर्नु कुनै आश्चर्य हुँदै होइन । यसैलाई त द्वन्दात्मक भौतिकवाद भनेर मार्क्सले वैज्ञानिक व्याख्या गरे । सँगसँगै यो पनि भने प्रतिक्रान्तिकारी पनि पार्टीभित्रै घुलमिल भएर बसेका हुन्छन् । यो नै कम्युनिस्ट पार्टीभित्रको डरलाग्दो पक्ष हो । आफ्नै सहयात्रीले सत्तामा पुगेर वर्ग परिवर्तन गरेपछि उत्पन्न हुने संकट नै कम्युनिस्ट पार्टीको महारोग हो ।

१२ बुँदे समझदारीदेखिनै कटाक्ष हान्दै आएका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको विगत हेर्दा पनि कहिल्यै पनि जनपक्षीय रहेको देखिएन । जहिल्यै अवसरवादी नीति अंगाल्ने, अर्काको विरोध गर्ने र खोइरो खन्ने काम मात्रै भयो । तत्कालीन नेकपा (एमाले) मा छँदा पनि आफ्नो कुनै लाइन वा विचारधारा भएको कहिल्यै सुन्नमा आएन । तापनि पार्टीमा झुटै बोलेर भएपनि नेकपा (एमाले)को अध्यक्ष भइछाडेको देखिन्छ ।
अन्य विषयमा पनि सबैको आलोचना कै पात्र भएर रहेको देखिन्छ । सँगै जेल बसेका राधाकृष्ण मैनालीका शब्दमाः
• “खड्गप्रसाद ओलीले एक खिल्ली चुरोट ३ पटकलाई भाँचेर पुराउँथे ।”
• “एक क्वाटर ठर्रा एउटा कुनामा बसेर दुई जनाले पालोपालो गरी चुस्सचुस्स खायौँ ।”
• “सानैमा आमा मरेको दुध कटुवा भई खान नपाएकोले ओली मरन्च्याँसे थिए ।”
• “यिनलाई १० कक्षासम्म पनि अर्कैले आफ्नो घरमा राखेर पढाएका थिए, जसको नाम यिनले लिन पनि चाहँदैनन् ।”
• “भारतको चाकडी नगरेसम्म सत्तामा पुगिँदैन भनेरै ओलीले महाकाली नदी भारतलाई सुम्पाएका थिए ।”
• “ओली महा-डरछेरुवा हुन् । झापामा आन्दोलन भयो भने यिनी भागेर भारतको कानपुर पुग्थे ।”
• “खोई किन हो बिद्या भण्डारी हाँस्दा ओली औधि खुसी हुन्छन्, त्यहाँ भन्दा बढी म बोल्दिन ।”
यी सहयात्री नेता राधाकृष्ण मैनालीका भनाइहरू हुन् ।
हरेक विषय, वस्तु, पात्र र परिस्थितिलाई भौतिवादी दृष्टिले हेर्ने र त्यसको उपयोग समाज रुपान्तरणका दृष्टिले गर्न सोही अनुरुप व्यवहार गर्ने क्षमताको कारणले नै प्रचण्डले देशलाई सफलतातर्फ उन्मुख गराउन सकेका हुन् । प्रचण्डको यही नेतृत्व शैलीले गर्दा नै देशले गणतन्त्र पाएको कुरा म गर्वसाथ भन्न सक्छु । यसको मतलब नागरिकलाई अवमूल्यन गर्न खोजिएको भने होइन । नागरिक सडकमा उत्रिएका बेलामा प्रचण्डको सही नेतृत्वका कारण तथा नागरिकलाई सडकमा उत्रिन चेतनशील तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेका कारण देशले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्यो । जबकि त्यही समयमा बयलगाडाको उदाहरण दिँदै गणतन्त्रप्रति निरूत्साहित गर्ने काम खड्गप्रसाद ओलीबाट भएको कुरा कसैले खण्डन गर्ने सामर्थ्य राख्दैन ।
प्रचण्डले प्रयोग गर्ने कतिपय भाषा, शैली र आशय, परिपत्र गैह्र कम्युनिस्ट कित्तालाई बुझ्न हम्मे-हम्मे पर्ने मात्रै होइन, ठम्याउन नसकेर निचोडमा समेत पुग्दैनन् र बुझ्दैनन् । नेपालमा अहिलेसम्म काङ्ग्रेस, राप्रपा र मधेशी समूहहरूमा कम्युनिस्टको शब्दावली बुझ्ने क्षमता शून्य बराबर देखिन्छ । तिनको दस्तावेजमा लेखिएका शब्दार्थको सावाँसम्म बुझ्ने सामर्थ्य पनि गैह्र कम्युनिस्ट कित्तामा भेटिँदैन र बुझाउन खोज्दा बुझ्न पनि चाहँदैनन् । यस्ता कुरा खड्गप्रसाद ओली जस्ता नेताले पनि नबुझेका होलान् त ? नत्र एउटा कम्युनिस्ट पार्टीको नेता भएर पनि उनी गणतन्त्रको विरूद्धमा कुर्लिरहे । जे होस्, उनीजस्ता गणतन्त्रविरोधीहरू जति कुर्ले पनि गणतन्त्रको घोषणा रोक्न सकेनन्, प्रचण्डको नेतृत्वमा नेपालमा गणतन्त्र आयो । संविधान सभाबाट ‘संविधान नआओस्’ भन्ने चाहना जोजसले राखेता पनि अन्ततः संविधान सभाले संविधान जारी गरिछोड्यो । आज कमरेड ओली आफैले विरोध गरेको गणतन्त्र नेपालका प्रधानमन्त्री छन् ।
मैले बुझेको प्रचण्डका ३ महान काम हुन्ः
१. संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा
२. संविधान सभाबाट संविधान निर्माण तथा जारी
३. नेपाललाई समाजवादमा पुर्याउने तयारी
यीमध्ये सुरुका २ महान काम कार्यान्वयनमा आइसक्यो । गणतन्त्रको घोषणा र संविधान सभाबाट संविधान जारी भयो । अबको पालो हो समाजवाद निर्माणको ।
हामीलाई चिन्ता लागेको विषय के हो भने समाजवादी क्रान्तिलाई पछाडि धकेल्ने पात्र तथा नेतृत्वकर्ता वा भनौ खलनायक प्रधानमन्त्री खड्गप्रसाद ओली नबनून् । दुइटा ठूला ठूला विचारको लडाइँ हारिसकेका खड्गप्रसाद ओली समाजवादको अन्तिम लडाइँमा पनि रस्साकस्सी गरेर समाजवादी गन्तव्यमा पुग्न वाधा-अवरोध श्रृजना गरेर बसिरहेका त होइनन् ? अब यो लडाइँमा खड्गप्रसाद ओलीको विजय भएमा सिङ्गो नेपाल र नेपालीले हार्ने पक्का पक्की छ । त्यसो भएमा खड्गप्रसाद ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म समाजवादमा पुग्न संघर्ष गरिनै रहनुपर्नेछ र इतिहासमा खड्गप्रसाद ओली समाजवादको खलनायकको रूपमा चिनिनेछन् ।
क्रमशः प्रचण्ड जनताकै लागि निरन्तर लडिरहेकाछन् । समाजवादमा पुगिन्छ भन्ने दृढ विश्वास प्रचण्डमा देखिन्छ । पछिल्लो समयमा खड्गप्रसाद ओलीको गैरकम्युनिस्ट कित्तामा धावा बोलेका प्रचण्डले दुधको दुध र पानीको पानी गराउन खोजिरहेको देखिन्छ । कम्युनिस्ट पार्टीभित्र लुकेर-छिपेर बसेका गैरकम्युनिस्टहरु अब नाङ्गेझार हुँदै रक्षात्मक अवस्थामा पुग्न केही समय मात्र कुर्नुपर्ने अवस्था देखिन्छ । भलै अहिले अब नेकपा फुट्छ, अनि पुरानै एमाले र माओवादी आ-आफ्नै खेमामा जान्छन् वा जालान् भन्ने सोच खड्गप्रसाद ओली खेमाले लिएको देखिन्छ तर सारमा त्यस्तो देखिएको छैन । छलछाम गरेर गैरकम्युनिस्टहरू जुन अवस्थामा एमालेभित्र पकड जमाएर बसेका थिए, त्यसलाई प्रचण्डले नङ्ग्याइदिइसकेपछि पूर्वएमाले (पूर्वमाओवादीका समेत केही) गैरकम्युनिस्टहरु स्वतस्फूर्त अलग्गिएर पूर्वएमाले र पूर्वमाओवादीभित्रका साँचो अर्थका कम्युनिस्टहरूको ध्रुवीकरण सुरू भइसकेको छ र वास्तवमा तिनलाई कम्युनिस्ट भन्न पनि लाज लाग्ने अवस्था आइपुगेको छ । पहिलो हरफका कुनैपनि नेता खड्गप्रसाद ओलीको समर्थनमा रहेनन् वा रहने छैनन् वा रहने छाँटकाँट देखिँदैन ।
कम्युनिस्ट आन्दोलनमा लागेकाहरूलाई नैतिक जिम्मेवारी भनेको ठूलो कुरा हुन्छ । खड्गप्रसाद ओलीको प्रतिक्रान्तिकारी गतिविधि, समाजवादउन्मुख कार्ययोजनामा अवरोध, सामन्ती शक्तिहरूसँग साँठगाँठ, पार्टी प्रधान नीतिको अवमूल्यन, फुटको राजनीति, आफू र आफ्ना आसेपासे जनप्रतिनिधि बाहेक अरूको अवमूल्यन, समकक्षी नेतागणलाई अपमान, इतिहासले दिएको यत्रो ठूलो अवसरलाई केवल एउटा धरहरा, रानीपोखरी र २००/३०० किलोमिटर पिच गरेको ताली पिट्न लगाएर, उखान टुक्काहरुको भरमा रमाएर, कहिले नेपालको नक्से केक काटेर, कहिले कोरोनाजस्तो महामारीलाई ठट्यौलीमा उडाएर, पार्टीभित्र केवल गुटको श्रृजना गरेर, भ्रष्टाचारमा शून्य सहनशीलतासहितको नारा दिएर तिनै भ्रष्टाचारीको ढाकछोप गरेर चोख्याउने, प्रचण्डले ल्याएको दस्तावेजको समीक्षा समेत हेरेपछि आदि-इत्यादिको पछि लागेर कुनचाहिँ कम्युनिस्टले आफूलाई इतिहासमा खलनायक खड्गप्रसाद ओलीको पिछलग्गु भनेर चिनाउन लागिपर्छन् र? एकादुई सती जान उतर्सिरहने बाहेक खड्गप्रसाद ओलीको समूह जे सुकै नाम गरेको पार्टीमा प्रवेश गरून्, केवल गैरकम्युनिस्टहरूको झुण्डमा परिणत हुने कुरामा कतै शंका समेत लिनुपर्दैन ।
पार्टी फुट्ला कि भन्ने डर र फुट्दैन भन्ने आधार :
यसपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दैन । यसमा कुनै शंका छैन कि पार्टीभित्र रहेका गैरकम्युनिस्टहरूको झुण्ड चोइटिएर जालान् तर पार्टी फुट्दैन किनकि कम्युनिस्ट पार्टी विचारप्रधान पार्टी हो । समाजवादसम्म पुग्ने लक्ष्य बोकेका विशाल कार्यकर्ता र अत्यधिक गरिव, मध्यमवर्ग, मजदुर, किसान तथा सर्वहारावर्गको नेतृत्व गरिरहेको पार्टीको समाजवादउन्मुख विचारको प्रतिनिधित्व गरिरहेको पार्टीमा प्रतिक्रान्तिकारी खेमामा लाग्न कम्युनिस्टको बटमलाइन नैतिकताले पनि दिँदैन । यसपटक इतिहासको सबैभन्दा बलियो कम्युनिस्ट पार्टी भइसक्दा पनि समाजवादका न्यूनतम् कामहरु पनि अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग भइरहेको तथ्य हो ।
यस्ता तथ्य बुझ्नसक्ने लाखौँ लाख कार्यकर्ता भएको कम्युनिस्ट पार्टी फुट्ला कि भन्ने डरलाई चिर्ने महत्त्वपूर्ण आधार भनेको कम्युनिस्ट विचारधारामा आधारित शिक्षाको पहुँच नै हो भन्ने कुरामा द्विविधा मानिरहनु पर्दैन । गणतन्त्रका पक्षधर र विरोधी बिचको वैचारिक संघर्षको सानोतिनो तुषलाई एकातिर पन्छाएर लैजाँदा फरक पर्दैन तर समाजवाद पक्षधर र विरोधीका बिच वैचारिक संघर्ष सुरु भइसकेको छ । भलै समाजवादको मोडल के र कस्तो भन्ने कुरामा यसपछि नै बहसको विषय बन्ला तर समाजवादउन्मुख विषयमा प्रत्येक कम्युनिस्ट सदस्यले आफ्नो कित्ता नप्रष्ट्याई सुखै छैन । अर्को भाषामा भन्नुपर्दा कम्युनिस्ट पार्टीभित्र मोही मन्थन सुरू भइसकेको छ । आफूलाई उभ्याउने कित्ता प्रष्ट्याउन र इतिहासमा आफ्नो स्थान सुरक्षित राख्न प्रत्येक कम्युनिस्टहरूले एकपटक घोत्लिएर अवश्य सोच्नेछन् र आफूलाई समाजवादी प्रगतिशील खेमामा उभ्याउनेछन् ।
सकेसम्म खड्गप्रसाद ओली र प्रचण्डको एउटै प्रतिवेदनको आधार तयार हुनुपर्दछ । त्यसका लागि प्रचण्डले पार्टी समक्ष प्रस्तुत गरेको प्रतिवेदन र त्यसमा गरिएको सरकार र अर्का अध्यक्ष ओलीको समीक्षा पुष्टि भइसकेकोले प्रधानमन्त्री ओलीले पार्टीसमक्ष माफी मागेर समाजवादमाको आधार तयार गरेर जाने शर्तमा पार्टी समक्ष दुवै पदबाट राजीनामा दिनुपर्छ (यदि बहुमतले भन्छ भने) र पार्टीले तोकेको अन्य जिम्मेवारी सम्हाल्न तयार हुनुपर्दछ । किनकि खड्गप्रसाद ओलीले माफी नमाग्दा राष्ट्रले हार्नेछ, खड्गप्रसाद ओली र ओली प्रवृत्ति विरूद्ध संघर्ष गर्नुपर्नेछ । त्यही पार्टीले खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीको पदसम्म पुर्याएको हो भने त्यही पार्टी समक्ष माफी माग्न लाज मान्नु पनि पर्दैन । प्रधानमन्त्री ओलीले माफी माग्दा इतिहासमा समाजवादी सह-कमाण्डर मात्र भएपनि बन्ने स्वर्णिम अवसर प्राप्त हुनेछ । यसअघि गणतन्त्रको घोषणा र संविधान सभाबाट संविधान बन्दाखेरि सह-कमाण्डर बन्ने अवसर गुमाइसकेका ओलीलाई यो सुनौलो अवसर हो । यी दुई विषयमा नायकको भूमिका खेल्न नसकेको कुरा इतिहासले निर्ममतापूर्वक समीक्षा गरिसकेको छ ।
अब कम्युनिस्ट आन्दोलनको कार्यसूचीमा रहेको तेस्रो कार्यक्रम समाजवादलाई सघाउन दुवै पदबाट अबिलम्ब राजीनामा दिइहाल्नुहोस् । नत्र खड्गप्रसाद ओलीको नाम इतिहासले समाजवादको खलनायक भनेर निर्ममतापूर्वक नामाकरण गर्नेछ । तपाईँका आसेपासेहरूले (ज्ञानेन्द्रको आसेपासे तुलसी गिरी र किर्तिनिधि विष्टले गर्दा आज तानाशाही ज्ञानेन्द्र भनेर पद्वी इतिहासले गुथेको छ) तपाईँलाई देवत्वकरण गरेर क्षणिक ‘मुतको न्यानो’मा सुताउनेहरूलाई बेलैमा चिनेर समाजवादी बाटो समाउने कि इतिहासले गर्ने कठोर निर्णयको पद्वी “समाजवादको खलनायक” बन्ने ? प्रधानमन्त्री खड्गप्रसाद ओलीसामु चुनौतीपूर्ण प्रश्न रहेको छ।
(लेखक वामपन्थी विश्लेषक हुनुहुन्छ ।)