अध्यक्ष माओले राष्ट्रपति निक्सनसँग हात मिलाउँदै Chairman Shakes hand with President Nixon
 

बैठकका सहभागीहरूः

अध्यक्ष माओ त्सेतुङ
प्रधानमन्त्री चाउ एन लाई
वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख
तङ वेन–शेङ, भाषा अनुवादक
राष्ट्रपति रिचर्ड निक्सन
हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार
विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता)

मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे सम्म

स्थानः अध्यक्ष माओको निवास, पेकिङ (हालको बेइजिङ)

(अध्यक्ष माओले राष्ट्रपति निक्सनलाई स्वागत गर्नुभयो र राष्ट्रपति निक्सनले अध्यक्षसँग भेट हुन पाएकोमा आफ्नो खुसी व्यक्त गर्नुभयो ।)

राष्ट्रपति निक्सनः तपाईँ धेरै अध्ययन गर्नुहुन्छ । प्रधानमन्त्री (चाउ एन लाई) ले बताउनु भयो कि तपाईँले उहाँलेभन्दा धेरै बढी पढ्नुहुन्छ ।

अध्यक्ष माओः हिजो विमानमा तपाईँले हाम्रा लागि निकै जटिल समस्या तेर्साउनुभयो । तपाईँले भन्नुभयो कि दार्शनिक समस्याहरूको बारेमा कुराकानी गर्नुपर्ने आवश्यकता छ ।

राष्ट्रपति निक्सनः मैले त्यस्तो किन भनेको हुँ भने मैले अध्यक्षका कविताहरू र मन्तव्यहरू पढेको छु, र तपाईँ एक निपुण दार्शनिक भएको कुरा मलाई थाहा छ । (चिनियाँ प्रतिनिधिहरू हाँसे)

अध्यक्ष माओः (डा. किसिन्जरतिर हेर्दै) उहाँ त दर्शनशास्त्रको डाक्टर होइन र ?

राष्ट्रपति निक्सनः उहाँ त दिमागको डाक्टर हुनुहुन्छ ।

अध्यक्ष माओः उहाँलाई आजको मुख्य वक्ता बन्न भने कसो होला ?

राष्ट्रपति निक्सनः उहाँ दर्शनशास्त्रको विज्ञ हुनुहुन्छ ।

डा. किसिन्जरः मेरा हार्वार्ड विश्वविद्यालयका कक्षाहरूमा मैले (विद्यार्थीहरूलाई) अध्यक्षका सङ्कलित रचनाहरूबाट गृहकार्य दिने गर्थेँ ।

अध्यक्ष माओः मेरा ती रचनाहरू खासै केही हैनन् । मैले लेखहरूमा त्यस्तो निर्देशनमूलक केही छैन ।

(फोटोग्राफरहरूतिर हेर्दै) उहाँहरूले हाम्रो बैठक र हाम्रो सिलसिलालाई अवरोध गर्ने कोशिस गर्दैहुनुहुन्छ ।

राष्ट्रपति निक्सनः अध्यक्षका रचनाहरूले एउटा राष्ट्रलाई चलाएका छन् र संसारलाई परिवर्तन गरेका छन्‌ ।

अध्यक्ष माओः मैले यसलाई बदल्न सकेको छैन । मैले त केवल पेकिङ वरपरका केही ठाउँहरूमा मात्र परिवर्तन गर्न सकेको छु ।

हाम्रा साझा पुराना मित्र जर्नेल च्याङ काई-शेक यो कुरा स्वीकारेका छैनन् । उनले हामीलाई कम्युनिस्ट डाँकुहरू भन्छन्‌ । भर्खरै उनले एउटा वक्तव्य जारी गरेका छन्‌ । के तपाईँले त्यो हेर्नुभएको छ ?

राष्ट्रपति निक्सनः च्याङ काई-शेकले अध्यक्षलाई डाँकु भन्छन् । अध्यक्षले च्याङ काई-शेकलाई के भन्नुहुन्छ?

प्रधानमन्त्री चाउ एन-लाईः सामान्यतयाः हामी पनि उहाँहरूलाई च्याङ काई शेक गिरोह (गुट) भन्छौँ । अखबारहरूमा कहिलेकाहीँ हामी उनलाई डाकुँ भन्छौँ, जवाफमा हामीलाई पनि डाँकु भनिन्छ । जे होस्, हामी एकअर्कालाई गालीगलौज गर्छौँ ।

अध्यक्ष माओः वास्तवमा, उनीसँगको हाम्रो मित्रताको इतिहास तिनीसँगको तपाईँहरूको मित्रताको इतिहासभन्दा धेरै लामो छ ।

राष्ट्रपति निक्सनः हो, मलाई थाहा छ ।

अध्यक्ष माओः हामी दुईले मात्र यो भेटघाटमा एकाधिकार जमाइराख्नु हुँदैन । हामीले डा.किसिन्जगरलाई बोल्न दिएनौँ भने कसरी हुन्छ। आफ्ना चीन भ्रमणहरूका कारण उहाँ निकै चर्चित हुनुभएको छ ।

डा.किसिन्जरः यसका लागि निर्देशन दिने र योजना बनाउने काम त राष्ट्रपतिबाट भएको थियो ।
राष्ट्रपति निक्सनः त्यसरी यस्तो कुरा गर्ने उहाँ निकै विवेकशील सल्लाहकार हो । (माओ र चाउको हाँसो)

अध्यक्ष माओः तपाईँले चलाखीका साथ त्यसो गर्न सफल भएको भन्दै उहाँले तपाईँको प्रशंसा गरिरहनुभएको छ ।

राष्ट्रपति निक्सनः उहाँ कुनै गुप्तचरजस्तो देखिनुहुन्न । उहाँ कैदमा रहनुभएको एक जना त्यस्तो मानिस हुनुहुन्छ, जो १२ पटक पेरिस जानसक्छ र एकपटक पेकिङ पुग्छ, र त्यो कुरा कसैलाई थाहा हुँदैन, सिबाय एक-दुई सुन्दर केटीहरूलाई । (चाउ हाँस्नुहुन्छ)

डा.किसिन्जरः उनीहरूले पनि यो थाहा पाएनन्, मैले यसलाई केवल आवरणको रूपमा प्रयोग गरेको हुँ ।

अध्यक्ष माओः पेरिसमा ?

राष्ट्रपति निक्सनः सुन्दर केटीहरूलाई आवरणको रूपमा प्रयोग गर्न जान्ने उहाँ आजसम्मकै सबैभन्दा महान् कुटनीतिज्ञ हुनुपर्छ ।

अध्यक्ष माओः त्यसोभए तपाईँका केटीहरू धेरै पटक प्रयोग भइसकेका होलान्?

राष्ट्रपति निक्सनः उहाँका केटीहरू, मेरा होइनन् । मैले केटीहरूलाई आवरणको रूपमा प्रयोग गरेँ भने त म ठुलो फर्सादमा पर्नेछु ।

प्रधानमन्त्री चाउः (हाँस्दै) विशेषतः चुनावको क्रममा । (किसिन्जर हाँस्नुहुन्छ ) डा. किसिन्जर राष्ट्रपतिको निर्वाचन लड्नुहुन्न किनभने उहाँ संयुक्त राज्य अमेरिकाको नागरिकको रूपमा जन्मिनुभएको थिएन ।

डा. किसिन्जरः सुश्री ताङ संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ ।

राष्ट्रपति निक्सनः उहाँ प्रथम महिला राष्ट्रपति बन्नुहुनेछ । उहाँ हो – हाम्रो उम्मेदवार ।

अध्यक्ष माओः उहाँजस्तो उम्मेदवार भए त तपाईँहरूलाई धेरै खतरा हुनसक्छ । तर हामीलाई सत्य कुरा गर्न दिनुहोस्‌ । यदि डेमोक्रेटिक पार्टी फेरि कार्यालय (सरकार) मा आयो भने हामीले तिनीहरूलाई सम्पर्क गर्न रोक्न सक्दैनौँ ।

राष्ट्रपति निक्सनः हामी बुझ्दछौँ । हामी आशा गर्छौँ कि हामीले तपाईँहरूलाई त्यस्तो समस्या आउन दिने छैनौँ ।

अध्यक्ष माओः ती विषयहरू मेरो ठाउँमा छलफल गर्ने विषयहरू होइनन् । यी विषयहरू प्रधानमन्त्रीसँग छलफल गरिनुपर्दछ । म दार्शनिक प्रश्नहरूबारे मात्र छलफल गर्न चाहन्छु । भनाइको मतलब, तपाईँको चुनावमा मैले तपाईँको पक्षमा मत व्यक्त गरेको थिएँ । त्यहाँ एक जना अमेरिकी हुनुहुन्छ, यहाँ उहाँलाई श्रिमान्‌ फ्य्राङ्क कोय भनिन्छ, उहाँले तपाईँको देश संकटमा भएको बेला एउटा लेख लेख्नुभएको थियो, तपाईँको अन्तिम चुनावी अभियानको समयमा । उहाँले तपाईँ राष्ट्रपतिमा निर्वाचित हुँदैगरेको बताउनुभएको थियो । मैले त्यो लेखको धेरै प्रशंसा गरेको थिएँ । तर, अहिले उहाँ यो भ्रमणको विरुद्धमा हुनुहुन्छ ।

राष्ट्रपति निक्सनः जब अध्यक्षले मेरो पक्षमा मत व्यक्त गरेको भन्नुभयो, तब उहाँले दुई वटा खराबमध्येको कम खराबलाई मत व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष माओः म दक्षिणपन्थीहरूलाई मन पराउँछु । मानिसहरू तपाईँलाई दक्षिणपन्थी भन्छन्, कि रिपब्लिकन पार्टी दक्षिणपन्थी भएको भन्छन्, प्रधानमन्त्री हिथ पनि दक्षिणपन्थी हुन् ।
राष्ट्रपति निक्सनः अनि जर्नेल डि-गौल्ले ।

अध्यक्ष माओः डि-गौल्ली त फरक विषय हुन् । उनीहरू पश्चिम जर्मनीको क्रिश्चियन प्रजातान्त्रिक पार्टीलाई पनि दक्षिणपन्थी भन्छन् । म दक्षिणपन्थी मानिसहरू सत्तामा आउँदा तुलनात्मकरूपमा बढी खुसी हुन्छु ।

राष्ट्रपति निक्सनः मेरो विचारमा नोट गर्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने अमेरिकामा, कम्तीमा यतिबेला, दक्षिणपन्थीहरू त्यो काम गर्न सक्छन्, जसको बारेमा वामपन्थीहरू कुरा गर्ने गर्छन् ।

डा. किसिन्जरः अर्को कुरा पनि छ राष्ट्रपति महोदय । वामपन्थी खेमामा रहेकाहरू सोभियत सङ्घ पक्षधर छन् र जनवादी गणतन्त्र (चीन) तिर ढल्कने कुरालाई प्रोत्साहित गर्दैनन्‌, र वास्तवमा त्यसैको आधारमा तपाईँको आलोचना गरिरहेका छन् ।

अध्यक्ष माओः ठिक त्यही हो । केही मानिसहरू तपाईँको विरूद्ध छन् । हाम्रो देशमा पनि प्रतिक्रियावादी समूह छ, जसले तपाईँहरूसँगको हाम्रो सम्पर्कको विरोधमा छन्‌ । तर परिणाम के भयो भने तिनीहरू विमान चढे र विदेशतिर भागे ।

प्रधानमन्त्री चाउः सम्भवतः तपाईँहरूलाई यो थाहा छ ।

अध्यक्ष माओः संसारभरि अमेरिकी गुप्तचर रिपोर्ट तुलनात्मकरूपमा सही हुन्छन् । अर्कोमा जापान आउँछ । जहाँसम्म सोभियत सङ्घको कुरा छ, उनीहरू अन्ततः लास उधिन्न गए तर उनीहरूले त्यस विषयमा केही पनि भनेनन् ।

प्रधानमन्त्री चाउः बाहिरी मङ्गोलियामा ।

राष्ट्रपति निक्सनः भारत–पाकिस्तान सङ्कटमा हामीलाई यस्तै खालको समस्या झेल्नुपरेको थियो । अमेरिकी वामपन्थीहरूले भारतको पक्ष लिन असफल भएकोमा मेरो चर्को आलोचना गरे । त्यसका दुई कारण थिएः उनीहरू भारत पक्षधर थिए र उनीहरू सोभियत सङ्घका पक्षधर थिए ।

मेरो विचारमा त्यो भन्दा ठुलो विषयबारे हेर्नु महत्त्वपूर्ण कुरा हो । हामीले कुनै पनि देशलाई, चाहे त्यो जतिसुकै ठुलो किन नहोस्, आफ्नो छिमेकीलाई निल्न दिनु हुँदैन । यसको मूल्य चुकाउनु पर्छ – मैले यो दुःखका साथ भन्दिन, किनभने यो सही थियो – मैले यसको राजनीतिक मूल्य चुकाउनुपर्नेछ, तर मलाई लाग्छ इतिहासले यो निर्णयलाई सही ठहर्‍याउनेछ ।

अध्यक्ष माओः सुझावको रूपमा, के तपाईँले अलि सङ्क्षेपमा भन्न सक्नुहुन्छ ? (राष्ट्रपतिले डा. किसिन्जरलाई औँल्याउनुभयो र प्रधानमन्त्री चाउ हाँस्नुभयो ।) के यहाँ हामी बिच भएको छलफल तपाईँले अरू कसैलाई भन्नु उचित ठान्नुहुन्छ, यहाँका हाम्रा दार्शनिक छलफलहरू ?

राष्ट्रपति निक्सनः अध्यक्ष ढुक्क हुन सक्नुहुन्छ कि हामीले यहाँ गर्ने छलफल, अथवा म र प्रधानमन्त्रीज्यू बिच हुने छलफलको कुनै पनि कुरा कोठाभन्दा बाहिर जानेछैन । यो नै उच्चतम् तहमा हुने संवादको एकमात्र तरिका हो ।

अध्यक्ष माओः त्यो राम्रो छ ।

राष्ट्रपति निक्सनः उदाहरणका लागि, म प्रधानमन्त्री र पछि अध्यक्षसँग ताइवान, भियतनाम र कोरिया जस्ता विषयहरूमा कुराकानी गर्न चाहन्छु । म जापानको भविष्य, यो उपमहाद्वीपको भविष्य र त्यसमा भारतको भूमिका, अनि व्यापक विश्व परिदृश्यमा अमेरिका–सोभियत सङ्घको सम्बन्धको भविष्यबारे पनि कुराकानी गर्न चाहन्छु, जुन निकै संवेदनशील विषय हुन् । किनकि हामीले विश्वको समग्र चित्र र विश्वलाई चलाउने महाशक्तिहरूका विषयमा कुराकानी गरे मात्र हामीले हाम्रो दृष्टिमा सदा पूर्णतयाः हाबी भइरहेका तात्कालिक तथा अति अवश्यक समस्याहरूबारे सही निर्णय गर्न सक्षम हुन्छौँ ।

अध्यक्ष माओः म ती सबै समस्याहरूको भित्र प्रवेश गर्न चाहन्नँ । मलाई लाग्छ, तपाईँको विषय अझ बढी ठिक छ – दार्शनिक प्रश्नहरू ।

राष्ट्रपति निक्सनः उदाहरणका लागि, अध्यक्षज्यू, यो एउटा नोट गर्नलायक रोचक विषय छ कि यो बैठकलाई अधिकांश देशहरूले मान्यता दिएका छन्‌, तर सोभियत सङ्घले मान्यता दिएको छैन, जापानीहरूलाई यसबारे सन्देह छ, जुन उनीहरूले अभिव्यक्त गरिसकेका छन्, र भारतीयहरूले मान्यता दिएका छैनन् । त्यसैले हामीले किन भनी विचार गर्नुपर्छ र निर्धारण गर्नुपर्छ कि कसरी हाम्रा नीतिहरूले समग्र विश्वका साथसाथै कोरिया, भियतनाम र पक्कै पनि ताइवान जस्ता तात्कालिक समस्याहरूबारे गरिने व्यवहारको निर्धारण गर्न सकियोस् ।

अध्यक्ष माओः हो, म सहमत छु ।

राष्ट्रपति निक्सनः हामी, उदाहरणका लागि, आफू स्वयंलाई एकपटक सोध्नुपर्दछ – फेरि यही कोठाभित्र सीमित हुनेगरी – किन सोभियतहरूले आफ्नो पश्चिम युरोपसँग जोडिएका सिमानामाभन्दा तपाईँहरूसँग जोडिएको सिमानामा धेरै सङ्ख्यामा सैन्य शक्ति तैनाथ गरेका छन्‌ ? हामीले आफैलाई सोध्नु पर्दछ – जापानको भविष्य के हुने ? मलाई थाहा छ हामी बिच विमतिहरू छन् तर के जापान तठस्थ बन्नु, पूर्णतः प्रतिरक्षाविहीन बन्नु अथवा जापानको संयुक्त राज्य अमेरिकासँग केही हदसम्म सम्बन्ध विस्तार हुनु, कुन कुरा ज्यादा सही हो ? विषय के हो भने – म यतिबेला दार्शनको परिधिभित्रै बसेर कुरा गर्दैछु – अन्तर्राष्ट्रिय-सम्बन्धको सन्दर्भमा धेरै उचित विकल्पहरू हुँदैनन्‌ । एउटा कुरा निश्चित छ – हामी कुनै शुन्यतामा राख्न सक्दैनौँ, किनभने ती अरुबाट भरिनेछन् । प्रधानमन्त्रीले, उदाहरणका लागि, संकेत गरिसक्नुभयो कि संयुक्त राज्य अमेरिकाले आफ्ना हात फैलाउँछ र सोभियत सङ्घले पनि आफ्ना हात फैलाउँछ । प्रश्न के हो भने जनवादी गणतन्त्रले कुन खताराको धेरै सामना गर्नुपर्छ – यो खतरा संयुक्त राज्य अमेरिकी हस्तक्षेपको हो वा सोभियत सङ्घको हस्तक्षेपको ? प्रश्नहरू निकै कठिन छन्‌, तर हामीले तिनको बारेमा छलफल गर्नैपर्छ ।

अध्यक्ष माओः वर्तमान समयमा, संयुक्त राज्य अमेरिकाको हस्तक्षेप वा चीनबाट हुने हस्तक्षेपको प्रश्न तुलनात्मक रूपमा गौण छ, त्यो के हो भने, यसलाई ले भन्न सकिन्छ भने यो अहिलेको मुख्य विषय होइन किनभने अहिलेको अवस्था यस्तो हो जसमा हाम्रा दुई देशहरू राज्य युद्धको अवस्था विद्यमान छैन । तपाईँले (विदेशमा रहेकामध्ये) आफ्ना केही सेना आफ्नो भूमिमा फर्ता बोलाउन चाहनुहुन्छ, हाम्रा (सेना) त विदेश जाँदैनन्‌ ।

त्यसैले, हाम्रा दुई देश बिचको अवस्था अनौठो छ किनभने विगत २२ वर्षसम्मका कुराकानीमा हाम्रा विचारहरू कहिल्यै मिलेनन्‌ । अहिले समय हामीले टेबुलटेनिस खेल्न थालेपछिको दश महिना पनि भएको छैन, कसैले वार्सामा तपाईँले आफ्नो सुझाव अघि सार्नुभएको समयदेखिको हिसाब गर्छ भने अहिले दुई वर्ष पनि भएको छैन । हाम्रो पक्षबाट पनि यी विषयहरूमा नोकरशाही तरिकाले काम भयो । उदाहरणका लागि, तपाईँहरूले व्यक्तिहरूको व्यक्तिगत तहको आदानप्रदान चाहनुभएको थियो, यस्तै विषयहरूमा, व्यापारबारे पनि । तर ती विषयहरूबारे कुनै निर्णय गर्नुको सट्टा हामीले पनि मुख्य मुद्दाहरूको निर्क्योल नभएसम्म स-साना विषयमा कुनै पनि प्रकारको काम गर्नुको अर्थ छैन भन्ने हाम्रो अडानमा हामी अडिग रह्यौँ । म स्वयंले पनि त्यो अडानमा जोड दिएँ । पछि मलाई लाग्यो, तपाईँ सही हुनुहुन्छ, अनि हामीले टेबुलटेनिस खेल्यौँ । प्रधानमन्त्रीले भन्नुभएको थियो कि त्यो पनि राष्ट्रपति निक्सन सरकारमा आएपछि ।

पाकिस्तानका निवर्तमान राष्ट्रपतिले हामीलाई राष्ट्रपति निक्सनसँग परिचय गराउनुभएको थियो । त्यत्तिबेला, पाकिस्तानका लागि हाम्रा राजदूतले तपाईँसँगको हाम्रो सम्पर्क बनाउन मान्नुभएको थिएन । उहाँले राष्ट्रपति जोनसन वा राष्ट्रपति निक्सनमध्ये को राम्रो भन्ने विषयमा तुलना गर्नुपर्दछ भन्नुभएको थियो । तर राष्ट्रपति यह्याले दुई जना मानिसको तुलना हुन नसक्ने र यी दुई मानिस अतुलनीय भएको बताउनुभयो । उहाँले एक जना गुण्डा नाइकेजस्तो भएको बताउनुभयो – उहाँले राष्ट्रपति जोनसनलाई त्यसो भन्नुभएको थियो । मलाई थाहा छैन, उहाँको दिमागमा त्यस्तो प्रभाव कसरी पर्न गयो । हाम्रो पक्षबाट पनि हामी ती राष्ट्रपतिसँग धेरै खुसी थिएनौँ । हामी तपाईँका पूर्व राष्ट्रपतिहरूसँग, ट्रुम्यानदेखि लिएर जोनसनसम्म, धेरै खुसी थिएनौँ । हामी तपाईँका ती राष्ट्रपतिहरूसँग धेरै खुसी थिएनौँ – ट्रुमान र जोनसन ।

यस बिचमा एक रिपब्लिकन राष्ट्रपतिका आठ वर्ष बिते । त्यो अवधिमा तपाईँहरूले पनि यो विषयमा खासै धेरै विचार पुर्‍याउनु भएन ।

अध्यक्ष माओले राष्ट्रपति निक्सनसँग हात मिलाउँदै Chairman Shakes hand with President Nixon
अध्यक्ष माओले अमेरिकी राष्ट्रपति निक्सनसँग हात मिलाउँदै, २१ फेब्रुअरी, १९७२, बेइजिङ

प्रधानमन्त्री चाउः प्रमुख कुरा त जोन फोस्टर डुलिसको नीति थियो ।

अध्यक्ष माओः उहाँ (चाउ) ले पनि यसबारे पहिले नै डा.किसिन्जरसँग कुराकानी गर्नुभएको थियो ।

राष्ट्रपति निक्सनः तर उहाँहरूले (प्रधानमन्त्री चाउ र डा.किसिन्जरतिर सङ्केत गर्दै) हात मिलाउनु भयो । (चाउ हाँस्नुहुन्छ ।)

अध्यक्ष माओः डाक्टर, तपाईँको केही भन्नु छ कि ?

डा.किसिन्जरः अध्यक्षज्यू, यो अवधिमा विश्वको परिस्थितिमा पनि नाटकीय रूपमा परिवर्तन भइसकेको छ । हामीले धेरै कुरा सिक्न बाँकी नै छ । हामीले सबै समाजवादी/कम्युनिस्ट राज्यहरूलाई एकै ढङ्गले सोच्यौँ । राष्ट्रपतिज्यू सरकारमा नआउञ्जेल हामीले चिनियाँ क्रान्ति र अरू समाजवादी देशहरूमा विकास भएको क्रान्तिको पृथक चरित्र बुझ्न सकेनौँ ।

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, म कुन तथ्यसँग सचेत छु भने वर्षौँसम्म जनवादी गणतन्त्र (चीन)को सन्दर्भमा मेरो धारणा अध्यक्ष र प्रधानमन्त्रीको धारणासँग पूर्णतः विमति राख्ने खालको थियो । विश्वमा विकसित नयाँ परिस्थितिको बोध र कुनै राष्ट्रको आन्तरिक राजनीतिक दर्शन महत्त्वपूर्ण होइन भन्ने हाम्रोतर्फको बोधका कारण पनि हामी एक ठाउँमा ल्याएको छ । महत्त्वपूर्ण कुरा त्यस (राष्ट्र) को बाँकी विश्व र हामीप्रतिको नीति हो । यसकारण – यो कुरा म इमानदारीपूर्व राख्छु कि- हामी बिच मतभेदहरू छन् । प्रधानमन्त्री र डा. किसिन्जरले यी मतभेदहरूबारे छलफल गर्नुभयो ।

यो कुरा पनि भन्न जरुरी छ कि दुई महाशक्तिहरूलाई हेर्दा – संयुक्त राज्य अमेरिका र चीन – चीनले संयुक्त राज्य अमेरिकी भूभागको लागि कुनै चुनौती पैदा गर्दैन, मलाई लाग्छ कि तपाईँलाई थाहा छ संयुक्त राज्य अमेरिकाको पनि चीनबारे कुनै षड्यन्त्र छैन । हामीलाई थाहा छ, चीनले संयुक्त राज्य अमेरिकामाथि आफ्नो वर्चस्व स्थापित गर्न चाहँदैन । हामी विश्वस्त छौँ कि तपाईँहरूले पनि बुझ्नुभएको छ कि संयुक्त राज्य अमेरिकाले पनि विश्वमा आफ्नो वर्चस्व स्थापित गर्न चाहँदैन । साथै, हुनसक्छ तपाईँहरू यसमा विश्वास गर्नुहुन्न, तर म यो कुरामा विश्वास गर्छु कि न चीन न त संयुक्त राज्य अमेरिका – दुवै महान्‌ राष्ट्रहरू- ले विश्वमा वर्चस्व स्थापित गर्न चाहँदैनन्‌ । यी दुई विषयहरूमा हाम्रो समान धारणा भएको हुनाले हामी एक अर्काको भूभागका लागि चुनौती होइनौँ ।

तसर्थ हामीले, मतभेदहरूका बाबजुद पनि, आफ्नै तरिकाले आफ्नै बाटाहरूमार्फत हामी दुवैले सुरक्षितरूपमा विकास गर्नसक्ने विश्व संरचना निर्माण गर्न साझा आधार (धारणा) बनाउन सक्छौँ । यो कुरा विश्वका अरू केही राष्ट्रहरूको सन्दर्भमा भन्न सकिँदैन ।

अध्यक्ष माओः हामी न त जापान, न दक्षिण कोरियाका लागि नै चुनौती हौँ ।

राष्ट्रपति निक्सनः न त अन्य कुनै देशका लागि । न त हामी नै गर्छौँ ।

अध्यक्ष माओः (प्रधानमन्त्री चाउसँग समय सोध्दै) के तपाईँलाई लाग्छ हामीले आज पर्याप्त विषय समेट्यौँ त ?

राष्ट्रपति निक्सनः हो । कुराकानीको बिटमार्नुअघि म भन्न चाहन्छु, अध्यक्षज्यू, हामीलाई थाहा छ कि तपाईँ र प्रधानमन्त्रीले हामीलाई यहाँ आमन्त्रण गर्दा ठुलै चुनौती मोल्नुभएको छ । हाम्रा लागि पनि यो एउटा निकै कठिन निर्णय थियो । तर अध्यक्षज्यूका केही वक्तव्यहरू पढिसकेपछि, मलाई थाहा भयो कि उहाँ सही अवसर आएपछि प्रत्येक घण्टा छोप्नुपर्छ, प्रत्येक दिन छोप्नुपर्छ भन्ने मानिस हुनुहुन्छ ।

म व्यक्तिगतरूपमा भन्न चाहन्छु निजी हिसाबले भन्न चाहन्छु- र यो प्रधानमन्त्रीज्यूलाई हो – तपाईँले मलाई चिन्नुभएको छैन । तपाईँले मलाई चिन्नु हुन्न भने तपाईँले मलाई विश्वास पनि गर्नु हुँदैन । तपाईँले थाहा पाउनु हुनेछ, म आफूले गर्न नसक्ने कुरा कहिल्यै बोल्दिन । र, मैले सधैँ आफूले बोलेको भन्दा बढी गर्दछु । यही आधारमा म अध्यक्ष र निःसन्देह प्रधानमन्त्रीज्यूसँग खुलेर कुराकानी गर्न चाहन्छु ।

अध्यक्ष माओः (किसिन्जरतर्फ संकेत गर्दै) ‘प्रत्येक घण्टा र प्रत्येक दिन (मौका) छोप ।’ मलाई लाग्छ कि, सामान्य हिसाबले भन्दैछु, मानिसहरू मलाई ठुला तोपहरूझैँ गर्जेको मन पराउँछन् । (चाउ हाँस्नुहुन्छ) त्यो भनेको, ‘सारा विश्व एक होऔँ र साम्राज्यवाद, संशोधनवाद र सबै प्रतिक्रियावादीहरूलाई पराजीत गरौँ, र समाजवाद स्थापना गरौँ’ – जस्ता कुराहरू ।

राष्ट्रपति निक्सनः म जस्तै । र, डाँकुहरू ।

अध्यक्ष माओः तर सायद तपाईँ एक व्यक्तिको रूपमा त्यसरी सत्ताच्युत गर्नुपर्नेहरूमा पर्नुहुन्न । उनीहरूले भन्छन् कि उहाँ (डा.किसिन्जर) लाई पनि त्यसरी गलहत्याउनु पर्ने व्यक्तिमा पर्नुहुन्न । यदि तपाईँहरू सबै गलहत्याइनु भयो भने, हामीसँग अरू धेरै साथीहरू बाँकी रहने छैनन् ।

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, अध्यक्षको जीवनबारे हामी सबै परिचित छौँ । तपाईँ एउटा अत्यन्त गरिब परिवारबाट विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको, महान् राष्ट्रको, सर्वोच्च स्थानमा पुग्नुभयो ।

मेरो पृष्ठभूमि धेरै प्रसिद्ध छैन । म पनि एउटा गरिब परिवारबाट आइको हुँ, र एउटा धेरै महान्‌ देशको सर्वोच्च स्थानमा । इतिहासले हामीलाई सँगै ल्याएको छ । प्रश्न के हो भने हामी, फरक दर्शनहरू बोकेका, तर दुवैले जमिनमा खुट्टा टेकेका, जनताबाट आएका,ले चीन र अमेरिका मात्र नभई सिङ्गो विश्वको हित हुने क्रमभङ्ग गर्न सक्छौँ त । र, त्यसैका लागि हामी यहाँ छौँ ।

अध्यक्ष माओः तपाईँको पुस्तक, ‘द सिक्स क्राइसिस (छ संकटहरू)’ त्यत्ति नराम्रो पुस्तक होइन ।

राष्ट्रपति निक्सनः उहाँ (माओ) धेरै नै पढ्नुहुन्छ ।

अध्यक्ष माओः एकदम थोरै । मैले संयुक्त राज्य अमेरिकाबारे त्यत्ति धेरै कुरा जानेको छैन । मैले तपाईँलाई केही शिक्षकहरू, मूलतः इतिहास र भूगोलका शिक्षकहरू, पठाइदिन आग्रह गर्छु ।

राष्ट्रपति निक्सनः राम्रो कुरा । सबैभन्दा राम्रो ।

अध्यक्ष माओः मैले पत्रकार एड्गर स्नोलाई पनि त्यही कुरा भनेको थिएँ, ती संवाददाता जो केही दिन अघि बित्नुभयो ।

राष्ट्रपति निक्सनः निकै दुःखद कुरा ।

अध्यक्ष माओः हो । वास्तवमै ।

राम्ररी कुरा गर्नु ठिक हो र यदि कुनै सहमति नभए पनि ठिकै छ, किनभने यदि हामी गत्यावरोधमै रह्यौँ भने त्यसको के अर्थ रहन्छ र ? हामी कुनै निश्चित नतिजामा पुग्नैपर्छ भन्ने के छ र ? मानिसहरू भन्ने छन्,‌ “हामी पहिलो पटक असफल भयौँ भने हामी किन पहिलो पटक सफल हुन सकेनौँ ? त्यसको एउटा कारण हामी गलत बाटो चुन्यौँ । यदि हामी दोस्रो पटकमा सफल भयौँ भने तिनले के भन्छन् ?”

(त्यसपछि केही समापनका शब्दहरू प्रस्तुत भए । अध्यक्ष माओले आफू विसञ्चो भएको बताउनुभयो । राष्ट्रपति निक्सनले अध्यक्ष स्वस्थ देखिनुभएको प्रतिक्रिया दिनुभयो । अध्यक्षले भन्नुभयो कि आवरण (अनुहार) झुक्काउने खालको हुन्छ । हात मिलाएर र केही थप तस्बिरहरू खिचेपछि, प्रधानमन्त्री चाउ एन-लाईले राष्ट्रपति निक्सनलाई निवासबाट बाहिरसम्म पुर्‍याएर विदा गर्नुभयो ।)

(१. स्रोतः सन्‌ १९७२ फेब्रुअरी २१ तारिखमा बेइजिङमा अध्यक्ष माओको निवासमा भएको अध्यक्ष माओ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन बिचको यो ऐतिहासिक संवादलाई चीन र अमेरिकाको कुटनीतिक सम्बन्ध सुधारका लागि कोशेढुङ्गा मानिन्छ, जुन चीन-अमेरिका सम्बन्ध र कुटनीतिक वार्तामा प्रस्तुत हुने चिनियाँ तरिका बुझ्नसमेत महत्त्वपूर्ण हुने र आजको नयाँ विश्व परिस्थितिमा झनै सान्दर्भिक रहेको महसुस गरी दक्षिण क्यालिफर्निया विश्वविद्यालयको वेभसाइटमा राखिएको यो संवादलाई अनुवाद गरी प्रकाशन गरिएको छ ।)

(२. तस्बिरः राष्ट्रपति निक्सनको भ्रमणको समयमा जनवादी गणतन्त्र चीनबाट प्रकाशित हुने पिपुल्स डेलीमा छापिएको तस्बिर साभार गरी निक्सनका फोटोग्राफहरूको संकलन गरिएको ग्यालरीमा राखिएको यस तस्बाबिरलाई विकिपिडियाको मद्दतबाट लिइएको हो, र यो साभारका लागि खुला गरिएको फोटो हो –  सं.।)

[३. अनुवादः नहेन्द्र खड्का]