म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ ।
पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र थियो ‘तारे जमिन पर’ र हालै एउटा चलचित्र आएको छ ‘थ्री इडियटस्’ । यी दुवै चलचित्र शिक्षाको विषयमा छन् । त्यसकारण मैले शिक्षा क्षेत्रको बारेमा पर्याप्त अनुसन्धान गरेँ र केही कुराहरू मेरो सामु आएका छन् । ती कुराहरू म तपाईंहरूको सामु राख्न चाहन्छु । आज यहाँ शिक्षक हुनुहुन्छ, अभिभावक हुनुहुन्छ र बालबालिकाहरू पनि छन् । थाहा छैन म कति ठिक छु, या बेठिक छु । तर मेरा केही विचारहरू छन्, जुन म तपाईँहरूको सामु राख्न चाहन्छु, जो शिक्षासँग सम्बन्धित हुनुहुन्छ ।
यस क्रममा मैले के पत्ता लगाएँ भने सबै बालबालिका विशिष्ट हुन्छन् । मैले आफ्नो शिक्षासम्बन्धी अनुसन्धानमा जे कुरा पत्ता लगाएँ, त्यो भनेकै के हो भने सबै बालाबालिकामा आ-आफ्नै किसिमका विशिष्टताहरू हुन्छन् । सबै बालबालिकाहरूमा हामीमा जस्तै केही न केही क्षमता हुन्छन् । केही कमजोरी हुन्छन् । ममा पनि कमजोरी छ तर सँगसँगै केही क्षमता पनि छ । तपाईंहरूमा पनि केही न केही क्षमता र केही कमजोरीहरू छन् । त्यसै गरी हरेक बालबालिकामा त्यो विशिष्ट क्षमता र कमजोरी हुन्छन् । यहीँनेर हामीले अभिभावकको रूपमा, अग्रजको रूपमा, शिक्षा क्षेत्रमा काम गर्ने मानिसहरूको रूपमा सबै बालबालिकाहरूको विशिष्ट क्षमतालाई चिन्नुपर्छ र तिनलाई सहयोग गर्नुपर्छ । उसको क्षमता के हो? विशिष्टता के हो? ऊ के चाहन्छ ? उनीहरूको रूचि केमा छ? कुन कुरामा उसलाई खुसी मिल्छ? उसले त्यो कुरा खोजी गर्न सकोस्, त्यसका लागि हामीले उसलाई सहयोग गर्नुपर्छ ? उसको कमजोरीमा (हटाउन) सहयोग गर्नुपर्छ ।
मलाई अझै पनि सम्झना छ, हरेकजसो शैक्षिक संस्थाहरूले, हाम्रो विद्यालयमा सबै विद्यार्थी उत्तीर्ण हुन्छन्, सबै विद्यार्थी पहिलो श्रेणीमा उत्तीर्ण हुन्छन् अथवा बोर्ड परीक्षामा हाम्रा सबै विद्यार्थी उत्तीर्ण भए भनेर भनिरहेका हुन्छन् । मलाई भने यहीँनेर एउटा प्रश्न सोध्न मन लाग्छ, हाम्रा कति बालबालिका खुसी छन् त ? मलाई लाग्छ सबैभन्दा ठुलो प्रश्न के हो भने त्यसबाट कति जना बालबालिका खुसी छन् ? बालबालिकाको खुसी नै सबैभन्दा महत्वपूर्ण कुरा हो किनभने हामी पढ्न लेख्न त सकिनै हाल्छौँ । जब मैले कुनै पनि कुरा सिक्नुपर्नेछ भने म केही न केही गरी सिकिहाल्छु ।
‘थ्री इडियटस्’ जब रिलिज हुनेक्रममा थियो त्योभन्दा अघि हामीले धेरै ठाउँमा ‘टेस्ट स्क्रिनिङ’ राखेका थियौँ । जस्तै ‘टेस्ट स्क्रिनिङ’मा के गर्ने गरिन्छ भने आम दर्शकहरूलाई बोलाएर सिनेमा देखाउने गरिन्छ र उहाँहरुलाई सिनेमा कस्तो लाग्यो भनेर सोधिन्छ । यस्तै ‘टेस्ट स्क्रिनिङ’ हामीले मुम्बईमा कामदारहरूको बिचमा एउटा कारखानामा करिब २५–३० जनाको बिचमा गरेका थियौँ । चलचित्र सकिएपछि एकजना कामदारले मलाई एउटा प्रश्न सोधे, जुन प्रश्न गजबको थियो । तपाईंहरूले ‘थ्री इडियटस्’ चलचित्र त हेर्नु भएको छ, होइन ?
उनले मलाई भने – सर सिनेमा सकिएपछि बल्ल थाहा भयो, तपाईँ त रन्छोडदास चाचड अर्थात रेन्चो होइन, भनेपछि पढेको प्रमाणपत्र पनि तपाईँको हात लागेन । त्यो त जावेद जाफ्रीले लगे भने तपाईं त्यति ठुलो वैज्ञानिक कसरी बन्नुभयो ? झण्डै चार सय जति पेटेन्ट्स छन्, जापानीहरू तपाईँको पछि लागेका छन् । तर तपाईँसँग त पढेको प्रमाणपत्र नै छैन । अनि वैज्ञानिक कसरी बन्नु भयो ?
यो प्रश्न निकै महत्त्वपूर्ण प्रश्न हो । जुन सोझै यसको मूल मुद्दामा गएर ठोकिन्छ । जब म परीक्षाका लागि घोकेर उत्तर लेख्छु, उत्तर लेखेबापत नम्बर पाउँछु, नम्बरको आधारमा पास हुन्छु र पास भएको आधारमा मेरो हातमा एउटा चिर्कटो आउँछ, जसले म पढे-लेखेको मान्छे हुँ भन्छ ।
तर वास्तवमै म पढेलेखेको छु कि छैन त्यसमा कसैलाई विश्वास हुँदैन । नभए हरेक ठाउँ चिर्कटो हुँदाहुँदै पनि मैले किन जाँच दिँदै हिँड्नु पर्छ किनकि मेरो पढाइ-लेखाइमा कसैलाई विश्वास छैन । तर जब मलाई अथवा तपाईँलाई लाग्छ कि अब मलाई ज्ञान चाहिएको छ, त्यो कागजको खोस्टोको कुनै अर्थ हुँदैन । शिक्षा प्राप्ताङ्कभन्दा धेरै परको कुरा हो । शिक्षा श्रेणी (ग्रेड)भन्दा धेरै पर छ । शिक्षा भनेको, त्यो हो जो तपाईँ सिक्नुहुन्छ ।
त्यसपछि मैले उहाँलाई प्रतिउत्तरमा दुईवटा प्रश्न गरेँ । सोधेँ – दाजु के तपाईँलाई म राम्रो कलाकार अथवा अभिनेता हुँ भन्ने लाग्छ ? उहाँले भन्नुभयो – लाग्छ । र देशैभरि तपाईँलाई सबैले निकै राम्रो कलाकार हो भन्छन् । अनि मैले भनेँ, दाजु मलाई जसले राम्रो कलाकार, अभिनेता हो भन्छन् । उनीहरूलाई देखाउन मसँग कुनै प्रमाणपत्र छैन । मसँग त्यस्तो कुनै कागजको चिर्कटो छैन, जसका आधारमा मैले म राम्रो कलाकार, अभिनेता भएको देखाउन सकूँ ।
त्यसपछि मैले दोस्रो प्रश्न गरेँ । सोधेँ – दाजु तपाईँ निकै राम्रो ‘कटर’ हो भन्ने सुनेको छु । तपाईँका मालिकले भनेअनुसार तपाईँ उहाँको मुख्य मान्छे हो र तपाईँलाई उहाँले निकै सम्मान गर्नुहुन्छ । के तपाईँसँग कुनै कागज, प्रमाणपत्र छ, जसका आधारमा मलाई थाहा होस् कि तपाईँ साँच्चै राम्रो ‘कटर’ हो । उहाँले भन्नुभयो – छैन सर । मसँग त्यस्तो केही पनि छैन । त्यसपछि मैले भनेँ, तपाईँले सोधेको कुराको उत्तर यहीँ छ ।
शिक्षा अंकहरूभन्दा धेरै परको कुरा हो । शिक्षा ग्रेडहरू भन्दा धेरै पर्को कुरा हो । शिक्षा त्यो हो, जे तपाईँ सिक्नुहुन्छ । मेरो एउटा चाहना छ कि हामीले शिक्षालाई त्यो दृष्टिकोणका साथ हेर्न सकौँ । हामीले हाम्रा बालबालिकालाई वास्तविक शिक्षा दिन सकौँ र त्यो शिक्षा पनि हामीले खुसीका साथ दिन सकौँ । किनभने शिक्षामा ज्ञान मात्र हुँदैन । शिक्षामा अर्को कुरा पनि मिसिएको हुन्छ । हामीले हाम्रा बालबालिकाको निर्माण गरिरहेका हुन्छौँ, मानव जातिको रूपमा ।
हामीले एउटा त्यस्तो मानिसको निर्माण गरिरहेका हुन्छौँ, जो भविष्यमा असल मानिस बनोस् । भविष्यमा उनीहरू आफ्नो खुट्टामा उभिन सकून् । भविष्यमा उनीहरू सम्मानपूर्वक जीवन जिउन सकून् । भविष्यमा उनीहरूले आफू जस्तै सबैको ध्यान दिन सकून् । भविष्यमा उनीहरूले अरुको मुहारमा खुसी ल्याउन सकून् । भविष्यमा उनीहरूले कोही न कोहीलाई सहयोग गर्न सकून् । हामीले हाम्रा बालबालिकामा यो कुराको विकास गर्न सकौँ । यही मेरो भावना हो । यही मेरो सपना हो ।
तर मैले जताततै के देख्ने गरेको छु, जुन मैले मेरो बाल्यकालमा पनि बेहोरेँ । घरमा आउने बित्तिकै हामीले सोध्छौँ – कति अङ्क ल्याइस् ? कुन स्थान हासिल गरिस् ? पहिलो श्रेणी कि दोस्रो ? ती बालबालिकाले दोस्रो आएँ भन्दा किन दोस्रो, कसरी दोस्रो ? मैले यतिका गरेको के भयो भन्ने सुनेरै हैरान । जसले म दशौँ श्रेणी भन्छ उसको त हालत झन् खराब हुन्छ ।
त्यहीँबाट ती बालबालिकालाई लाग्न थाल्छ कि पहिलो हनु अति नै आवश्यक रहेछ । यसको अर्थ हामीले उसलाई एलकेजी जस्तो सानो क्लासबाटै पहिलो हुनुपर्छ भन्ने सिकाउँछौँ । त्यहाँ उसले चम्चामा कागती राखेर दौडिनुपर्छ र त्यसमा पनि पहिलो नै हुनुपर्छ । त्यति सानो बाल मानसिकताबाटै पहिलो हुन घोकाएपछि बालबालिकालाई के लाग्छ भने पहिलो भन्ने कुरा निकै आवश्यक कुरा रहेछ । भन्नुको अर्थ जसरी भए पनि पहिलो हुने ।
त्यसपछि उसको अन्तरआत्मामा अब्बल हुने कुराले छाप बनाउँछ । यसले कुन मानसिकताको विकास गर्छ भने अरुलाई छोडेर जसरी भए पनि अगाडि नै हुनु पर्छ । शिक्षकले पनि पटक पटक यही कुरा सोधिरहेका हुन्छन् । जुन आम रूपमा हाम्रो समाजमा हुने गरेको छ र मसँग पनि भयो ।
त्यसरी हुर्किएका बालबालिका युवा भएसँगै निकै आत्मकेन्द्रित स्वार्थी भइसक्छन् । उनीहरूलाई आत्मकेन्द्रित र स्वार्थी हामीले हाम्रो व्यवस्थाले बनाएको हो । त्यस्ता युवाहरूले आफ्नो बारेमा मात्र सोच्छन्, अरु कसैको बारेमा सोच्दैनन् किनभने हामीले उनीहरूलाई त्यसरी नै प्रशिक्षित गरेका हुन्छौँ । सानैदेखि हामीले उनीहरूलाई त्यही प्रशिक्षण दिइरहेका हुन्छौँ कि हेर तिमी जसरी भए पनि अगाडि हुनु, अरुको मतलब, वास्ता नगर्नू । त्यस्ता युवाको सामाजिक दृष्टिकोण कसरी निर्माण भइसकेको हुन्छ भने जसरी भए पनि म अगाडि जानुपर्नेछ । म सफल बन्नु पर्छ । र, मैले अरु कसैको बारेमा मतलब गर्नु हुँदैन ।
मेरो अन्तरआत्माले के चाहन्छ भने हामी जति पनि अभिभावकहरू छौँ, युवाहरू जो भोलि आफै अभिभावक बन्नुहुनेछ, उहाँहरूले सोच्नुपर्छ कि हामीले हाम्रो बालबालिकालाई यो प्रशिक्षण दिन सक्यौँ भने, यो प्रश्न गर्न सक्यौँ भने, आज तिमीले कसलाई सहयोग गर्यौ? आज कसको मुहारमा तिमीले खुसी ल्यायौ ? आज तिमीले आफ्नो होइन कि अरुको कसरी ख्याल राख्यौ ? उनीहरूलाई के लाग्न थाल्छ भने महत्त्वपूर्ण त यो पो रहेछ, न कि परीक्षामा अङ्क ल्याउनु ।
उनीहरूलाई पनि लागोस्, मलाई त मेरा अभिभावकहरूले कहिल्यै पनि तैँले अङ्क कति ल्याइस् भनेर सोध्दैनन् । उनीहरूले त आज तैँले कसलाई कसरी सहयोग गरिस् भनेर सोध्छन् भन्ने भावनाका साथ उनीहरूको विकास भयो भने विद्यालयमा पढ्न पनि उनीहरूले नै पढ्नेछन् र समाजलाई हेर्ने उनीहरूको दृष्टिकोणमा निकै ठुलो परिवर्तन आउनेछ ।
तपाईँ आफै कल्पना गर्नुस् त आजका सबै बालबालिकाले यसै गरी सोच्न थाले भने आजको २०-२२ वर्षपछिको हाम्रो समाज पूरै परिवर्तन भइसकेको हुनेछ । त्यतिबेला त्यस्ता युवाहरू हाम्रो समाजमा हुन्छन्, जसले आफ्नो बारेमा होइन, अरुको बारेमा सोचिरहेका हुनेछन् ।
त्यसैले मलाई के लाग्छ भने सबैभन्दा ठुलो कुरा हाम्रो शिक्षा प्रणालीमा छ । म त्यो देख्न चाहन्छु, जुन मैले मेरो विद्यार्थीकालमा देख्न सकिनँ । मैले मेरो अङ्कको होइन कि समाजको विकासका लागि समाजका मानिसहरूका निम्ति सहयोगी बन्न सकूँ । यस किसिमको परिवर्तन आयो भने मलाई लाग्छ हाम्रो देश, हाम्रो समाज निकै बदलिनेछ ।
(चलचित्रकर्मी अमिर खानले शिक्षासम्बन्धी एउटा गोष्ठीमा दिएको मन्तव्यको नेपाली भआवानुवाद । अनुवादः नहेन्द्र खड्का ।)