जुलाई १, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी जुलाई १, २०२१ मा स्थापनाको १०० वर्ष पुगेको छ । यो पार्टीले चीनमा शासन गरेको ७२ वर्ष पुगेको छ । स्थापनाको २८ वर्ष यसले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग संघर्ष गर्नुपर्यो । लामो अभियान – १९३५, जापानविरोधी युद्ध १९३७-४५ र नयाँ जनवादी क्रान्ति – १९४९ उल्लेख्य छन् । माओ शासनको २७ वर्ष १९४९-७६ समाजवाद निर्माणका निर्णायक वर्ष रहे । समाजवादी क्रान्ति १९४९-५६, अग्रगामी महान् छ्लाङ १९६२, महान् सर्वहारा सांस्कृतिक क्रान्ति १९६६-७६ विशेष उल्लेख्य मानिन्छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९४९-७६ का वर्षहरू सामाजिक समानता, जनताको जनतन्त्रको समय थियो । माओको मृत्युको दुई वर्षपछि सन १९७८ देखि चीनले अर्कै मोड लियो । लिउ साओ-ची, लिन बियाओ र देङ सियाओ-पिङका विचारहरू धनी हुनु नै गौरवान्वित हुनुलाई वैधानिकता दिइयो र आज सी जिनपिङ (सी चिनफिङ) माओको आवरणमा देङहरूका अनुयायी भएर काम गरिरहेका छन्, जसरी आज नेपालमा मार्क्सवाद र माओवादको आवरणमा पुँजीवादी, नवउदारवादी, संशोधनवादी, लम्पसारवादी, जातिवादी पार्टीहरू नेपाल र नेपाली विरुद्ध काम गरिरहेका छन् ।
जुन उद्देश्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो, आजको चिनियाँ कम्युनिस्ट पार्टी सो उद्देश्य पूरा गर्ने बाटोमा छैन । यो कुरा पुष्टिका लागि हामीले केही सैद्धान्तिक पुस्तकहरूको सहयोग लिनुपर्ने हुन्छ । एडगर स्नोको चाइना, रेड स्टार ओभर चाइना, द वाल ह्याज टु साइड्स, विलियम हिन्टनको फानसेन, लङ रोड टु रिभोल्युसन, फेलिक्स ग्रीनको डेली लाइफ इन रिभोल्युसनरी चाइना, मारिया एन्टोनिएट माकिओकिको ट्राभल इन चाइना, रेवी एल्लीको कल्चरल रिभोल्युसन इन चाइना, चार्ल्स वेटलहाइमको रिथिङ्किङ सोसिएलिज्म, रेमण्ड लोट्टाको सोसिएलिज्म इज बेटर देन क्यापिट्यालिज्म साना सन्दर्भ सामग्री हुन् सक्छन् । आशा गरौँ, चिनियाँ कम्युनिस्ट पार्टी भविष्यमा माओको नीतिबाट निर्देशित हुनेछ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । प्रस्तुत विचार लेखकका निजी हुन् ।)