जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विश्वका ८० भन्दा बढी देशका १८१ भन्दा बढी यसका सदस्य किसान संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउँदै छन् ।
ब्राजिलको एल्डोराडो डोस काराजस मा सन् १९९६ मा भूमिमाथिको किसानको अधिकार र सिमान्तीकृत कृषकहरुको मानव अधिकार रक्षा गर्न सङ्घर्ष गरेका १९ जना किसानहरूको नृशंस हत्याको विरोध र ती सहिदहरुको सम्झनामा तथा विश्वभरका किसानहरुको आफ्नो एक अन्तर्राष्ट्रिय सङ्घर्षको विशेष दिवसको रुपमा प्रत्येक वर्ष अप्रिल १७ का दिन यो दिवस मनाइन्छ ।
विश्व किसान दिवस गत वर्ष जस्तै यस वर्ष पनि विभिन्न ठाउँमा विविध कार्यक्रमहरुको आयोजना गरी मनाइने अन्तर्राष्ट्रिय किसान आन्दोलन (ला भिया क्याम्पेसिना) ले जनाएको छ । यस वर्षको मुख्य विषय भने विश्व व्यापार संगठन विरुद्धको सङ्घर्ष तथा विभिन्न स्वतन्त्र व्यापार, द्विपक्षीय र बहुपक्षीय सम्झौताबाट कृषिलाई अलग राख्ने हुनेछ ।
गत वर्ष स्पेनको म्याड्रिड, अमेरिकाको एल पासो लगायत अष्ट्रेलिया, ब्राजिलमा भएका कार्यक्रम तथा भारत, इन्डोनेसिया, होन्डुरस, तान्जानिया, र मोजाम्बिकमा सुरु भएका भूमि अतिक्रमण विरुद्ध र पर्यावरणीय कृषिको अभियान सशक्त आन्दोलनको रुपमा अगाडि बढ्यो । मुख्य विषयका साथै देश अनुसार स्थानीयस्तरका प्रमुख किसानका सवालहरु जस्तैः किसानको परम्परागत संस्कृतिको संरक्षण, प्राकृतिक स्रोतसाधन र जैविक विविधताको संरक्षण तथा व्यवस्थापन र तिनमा किसानहरुको हक अधिकार कायम राख्ने, किसानमाथि भइरहेका अनेकौँ शोषण, उत्पीडन र भेदभाव समाप्त गरी लोककल्याणकारी राज्यको स्थापना गर्ने साथै सानोस्तरको पर्यावरणीय कृषिको संरक्षण गर्न जोड दिँदै यो दिवस मनाइनेछ । नवउदारवाद र अन्तर्राष्ट्रिय निगमको कृषिमा प्रवेश विरुद्धमा र खाद्य सम्प्रभुताको पक्षमा विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले यो दिवस मनाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) विश्वका विभिन्न ४ महादेशका किसान संगठनहरुको अगुवाइमा सन् १९९३ मा बेल्जियमको मोन्स (Mons) मा जन्म भएको किसान संगठनहरुको सञ्जाल हो । यो साना किसान तथा भूमिहीन किसानहरुको संगठन हो, जसमा हाल ८१ देशका १८० भन्दा बढी संघ/संगठनका २० करोड किसान आबद्ध छन् । यो आन्दोलनमा नेपाल, भारत, बंगलादेश, श्रीलङ्का लगायतका दक्षिण एसियाली देश, ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वेडर लगायतका दक्षिण अमेरीकी देश, माली, मोजाम्बिक लगायतका अफ्रिकी देश तथा स्पेन, फ्रान्स लगायतका देशका सशक्त किसान संगठनहरु रहेका छन् । नेपालमा सन् २००२ देखि अखिल नेपाल किसान महासंघ यसको सदस्य छ ।
सन् १९९६ को विश्व खाद्य सम्मेलनमा नवउदारवादी नाफामुखी योजनाका कारण विश्वमा भोकमरी बढ्दै गएको र यसले विश्वबाट गरिबी र भोकमरीको अन्त्य गर्न नसक्ने वस्तुगत निष्कर्षकासाथ La Via Campesina ले खाद्य सम्प्रभुताको अवधारणा अघि सार्यो जुन अहिले नवउदारवादी कृषि विकासको अवधारणाको विकल्पको रुपमा संसारभरी स्थापित हुँदै छ । नेपालको अन्तरिम संविधानमा खाद्य सम्प्रभुताको संवैधानीकरणमा पनि अन्तर्राष्ट्रिय आन्दोलनको महत्त्वपूर्ण योगदान छ । सन् २००५ मा अन्तर्राष्ट्रिय किसान दिवसको अवसरमा राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध पनि La Via Campesina का नेताहरुले खुल्ला सभामै राजतन्त्रको विरोध गरी जनआन्दोलनको समर्थन गरेका थिए ।
अन्तर्राष्ट्रिय किसान आन्दोलन La Via Campesina को जन्म हुनु, अन्तर्राष्ट्रिय किसान आन्दोलन सशक्त रुपमा अगाडि बढ्नु र यो किसान दिवस भव्य रुपमा मनाइनुले विश्व परिदृश्यमा अनेक विचार, बहस र तर्कहरु सृजना गरेको छ । यसले विश्वको कम्युनिस्ट आन्दोलनमा उर्जा थपेको छ । यसको कारण किसान आन्दोलनको अन्तर्राष्ट्रियकरण र यसले विश्वको समाजवादी आन्दोलनमा खेलेको भूमिका नै हो ।
कार्ल मार्क्सले साम्यवादी समाजको परिकल्पना गर्नु, वर्ग, राज्य, शोषणको अन्त्य भई मानव अन्तर्राष्ट्रिय जातिमा परिणत हुन्छ भनी उल्लेख गर्नु र विश्वका मजदुर एक हौँ भन्नु अन्तर्राष्ट्रियकरणको अवधारणा भए पनि यो मजदुर आन्दोलनसँग सम्बन्धित छ । किसान वर्गको अन्तर्राष्ट्रियकरणको बारेमा कमै व्याख्या गरियो ।
पुँजीवादी विश्वव्यापीकरणको युगमा किसान वर्गको अन्त्य हुने र सर्वहारा मजदुर वर्गको अन्तर्राष्ट्रियकरण हुने कुरा मार्क्स र मार्क्सका अनुयायीहरुको १९ औं शताब्दीको सुरुको व्याख्या हो । तर आजको विश्वमा किसान आन्दोलनको विश्वव्यापीकरण हुँदै छ । धेरै देशमा यो मजदुर आन्दोलन भन्दा शसक्त छ । यो कुराले पुँजीवादीहरु मात्र होइन स्वयं मार्क्सवादीहरु पनि आश्चर्यमा छन् । भेनेजुयला, निकारागुवा, क्युबा, वाेलिभियाकाे परिवर्तन र ती सरकारहरुको खाद्य सम्प्रभुता र अन्तर्राष्ट्रिय किसान आन्दोलनप्रतिको ऐक्यबद्वताले यो कुरा प्रष्ट पार्दछ ।
जब दोस्रो विश्वयुद्धपछि पुँजीवादी विश्वव्यापीकरण निगमीय विश्वव्यापारीकरणको चरित्रबाट विकसित हुँदै अगाडि बढ्यो र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, बहुराष्ट्रिय निगमहरु आदिले अल्पविकसीत देशको कृषि क्षेत्र – जुन ती देशको अर्थतन्त्रको मेरुदण्ड पनि हो – त्यसलाई तहसनहस र ध्वस्त पार्न थाले । संसारमा किसान आन्दोलनको जग बस्योे ।
सोभियत संघको विघटन र पश्चिमी युरोपबाट समाजवादको पतनसँगै निगमीय विश्वव्यापारीकरण प्रकृया जति एकछत्र र तीव्र बन्दै गयो, त्यति नै गरिब देश, त्यहाँका जनता र सम्पूर्ण स्रोतसाधनहरु दोहन हुने र किसान वर्ग स्रोत–साधन विहीन भई प्रताडित हुनेक्रम पनि तीव्र वन्यो । अझ सन् १९९५ मा विश्व व्यापार संगठनको स्थापनाले साना किसान वर्ग र ग्रामीण कृषि ध्वस्त हुन थाल्यो ।
यसै परिपेक्षमा नवउदारवादी पुँजीवादी व्यवस्थाले सृजना गरेका सम्पूर्ण सङ्कटद्वारा प्रताडित किसान वर्गको संरक्षण र विस्थापित हुँदै गएको सानोस्तरको पारिवारिक ग्रामीण कृषि विकासकोे दिगो अवधारणासहित अन्तर्राष्ट्रिय किसान आन्दोलन अगाडि आयो ।
हरित क्रान्ति र अनुवांशिक क्रान्तिका नाममा गरिबलाई रोग र भोकको खाल्डोमा पार्ने र प्राकृतिक स्रोत–साधनको मनलागी दोहनले किसानलाई स्रोत–साधनविहीन बनाउने निगमीय विश्वव्यापीकरण विरुद्ध भएको किसान आन्दोलनको अन्तर्राष्ट्रियकरणले विश्व कम्युनिस्ट आन्दोलनलाई पुर्नजीवन प्रदान गरेको छ । आजको विश्वव्यापीकरण भनेको निगमीय विश्वव्यापीकरण र विश्वव्यापारीकरण मात्र हो । यसले पुँजीवादको बिस्तार र नाफाको उद्देश्य बोकेको छ । तर यही विश्वव्यापीकरणले किसान आन्दोलनको अन्तर्राष्ट्रियकरण गर्दै पनि छ । त्यसैले त किसान आन्दोलनले ‘अाशालार्इ विश्वव्यापी बनाअाैँ, सङ्घर्षलार्इ विश्वव्यापी बनाअाैँ’ भनी उल्लेख गरेको छ ।
विश्व किसान आन्दोलन सन् १९५० पछि फरक र सशक्त ढङ्गले अघि बढ्यो । चिनियाँ क्रान्ति र १९५० पछिका भियतनाम, लाओस, कम्बोडिया, क्युबा, बोलिभिया, भेनेजुयला आदिको समाजवादी क्रान्तिमा किसान वर्गकै प्रमुख भूमिका रह्यो । तर ती सबै आन्दोलन राष्ट्रिय थिए ।
किसान आन्दोलनको अन्तर्राष्ट्रियकरणको सुरुवात La Via Campesina को जन्मसँगै भयो । र यसले बोलिभिया, इक्वेडर, माली जस्ता देशमा खाद्य सम्प्रभुताको संवैधानीकरण गर्न र किसानका हक हितको संरक्षण गर्न सफल भइसकेको छ । विश्व कम्युनिस्ट आन्दोलनमा स्थिरता देखिएको समयमा किसान आन्दोलनको अन्तर्राष्ट्रियकरणले गतिशीलता ल्याओस् । हामी सबैको शुभकामना ।
याे पनि पढ्नुहाेस्ः सर्वहारा, किसान र ट्राटस्कीवाद – क. जाेसेफ स्टालिन
याे पनि पढ्नुहाेस्ः नेपाल नवनिर्माण महाअभियान – क. वामदेव गाैतम
याे पनि पढ्नुहाेस्ः नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे – क. नहेन्द्र खड्का
याे पनि पढ्नुहाेस्ः विश्वव्यापीकरणको चपेटामा कृषि – क. प्रमेश पाेखरेल
(लेखक ला भिया क्यापेसिनाका युवा किसान अभियन्ता हुन् र लेखमा प्रस्तुत विचारहरु लेखकका नीजि हुन् – सम्पादक ।)