कोरोना भाइरस, कोभिड-१९, corona virus, covid-19
 

कोरोना भाइरसको दोस्रो लहर आइपुगेको छ । मानिसहरूमा रुघाखोकी र ज्वरो देखिएको छ । बितेका केही दिनदेखि औषधिका दोकानहरूबाट सिटामोल, कफ सिरप, एजिथ्रोमाइसिन आदि औषधिहरू ठुलो मात्रामा बिक्री भएका छन् । यी औषधिहरू डाक्टरको सिफारिसमा किनिएका होइनन्, सामाजिक सञ्जालमा गरिएको प्रचारका आधारमा नयाँ स्वरूपमा देखा परेको कोभिडबाट बच्नका लागि भनी किनिएका हुन् । कतिपयले ती औषधिहरू घरमा लगेर स्टक राखेका छन् । गत साल मानिसहरू औषधि किन्न यसरी आएका थिएनन् ।

गएको वर्ष बाहिरबाट आउने मानिसहरूलाई क्वारेन्टिनमा राखियो । मास्क, स्यानिटाइजरको वितरण भयो । मानिसहरूलाई रुघाखोकी या अन्य स्वास्थ्य समस्याले सताएन । घाटहरूमा लासहरूको उपस्थिति पातलो भएको थियो । राहत वितरण अभियान नै चलेको थियो । गत साल गन थर्मोमिटरले खुब चर्चा पाएको थियो । यसपटक त्यसको नाम कसैले लिँदैन । त्यसको स्थान अक्सिमिटरले लिएको छ । सास फेर्न कठिनाइँ हुने बित्तिकै बिरामीहरूले अक्सिजनको तह नापिदिन आग्रह गर्दछन्‌ ।

chhabi subedi, dailekh, छवि सुवेदी, छवी सुवेदी
लेखक

नेपाल सरकारले यो वर्ष नयाँ रूपमा आएको कोभिडको सामना गर्न पर्याप्त तयारी गरेन भन्दा पनि हुन्छ । सरकारले समयमै खोप मगाउने र सबैलाई खोप लगाउने काममा ढिलासुस्ती देखायो । यतिबेला कोभिड संक्रमण भुइँतहसम्म पुगेको छ । परीक्षणको अभाव छ । नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमणदर धेरै छ । छिमेकी मुलुक भारतमा यसले ठुलो आतंक सिर्जना गरेको छ ।

कोरोना भाइरस के हो ?

भाइरस आधुनिक विज्ञानका निमित्त एक चुनौती बनेको छ । व्याक्टेरियाले जस्तो भाइरसले कोषको बाहिरबाट आक्रमण गर्दैन, यो कोषभित्र प्रवेश गर्छ र उत्पात मच्चाउन सुरु गर्छ । विज्ञानले कोषभित्र पसेर भाइरसलाई तह लगाउने औषधि पत्ता लगाउन बाँकी छ । कोरोना भाइरस गत वर्षदेखि महामारीका रूपमा फैलिएको छ ।

केही प्रतिवेदनहरूअनुसार गत वर्ष कोरोनाबाट पहिलो मृत्यु चीनको वुहान सहरमा भएको थियो । मृत्यु हुने ६१ वर्षका पुरुष लामो समयदेखि धुम्रपान गर्दथे । अस्पतालमा पुग्दा उनलाई निमोनियाँ भइसकेको थियो । अस्पताल पुगेको एघारौँ दिनमा उनको मृत्यु भयो ।

कोभिड १९ भाइरसको सुरुआतका विषयमा विवाद यथावत नै छ । तर यो भाइरस मानवनिर्मित होइन भन्नेमा सबै वैज्ञानिकहरू एकमत छन् । गत वर्ष जापानका वैज्ञानिक प्रा. डा. तासुक होजाले कोरोना मानवनिर्मित भाइरस बताएको भन्दै व्यापक प्रचारबाजी भयो । उक्त प्रचारको डा. तासुकले खण्डन गरे । उनले त्यस्तो भनेका थिएनन् ।

कोभिडका लक्षणहरूः

कोभिडका लक्षणहरूमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, थकान हुने, शरीर दुख्ने, गन्ध र स्वाद थाहा नहुने, भोक नलाग्ने, आँखा पोल्ने , मुख सुक्ने, टाउको दुख्ने, पखाला लाग्ने, सास फेर्न कठिनाइ हुने, कमजोरी महसुस हुने आदि रहेका छन् । यो भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि चौध दिनपछि लक्षणहरु देखिन्छन् ।

औसतमा कोरोना भाइरसको ओथारो बस्ने समयलाई पाँच दिन मानिएको छ । कोरोना नाक मुख हुँदै बिस्तारै घाँटीमा र त्यसपछि फोक्सोमा पुग्छ । घाँटी र फोक्सोलाई कोरोना भाइरसको उद्योग मानिन्छ, जहाँ यसको असंख्य मात्रामा वृद्धि हुन्छ। यसले फोक्सोका कोषहरूमा आक्रमण सुरु गरेपछि रोग प्रतिरोधात्मक प्रणाली सक्रिय हुन्छ । त्यसपछि ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षणहरु देखा पर्दछन्‌ । यी लक्षणहरू करिब दुई हप्तासम्म रहन्छन् । संक्रमितबाट अरूलाई सर्नसक्ने अवधि पनि यही ११ दिनदेखि १४ दिन मानिन्छ ।

भाइरस र रोगप्रतिरोध प्रणाली बिच लडाइँ चर्किँदै गएपछि शरीरमा साइटोकाइन नामको रसायनको अधिक उत्पादन हुन्छ । जसका कारणले शरीर दुख्ने हुन्छ । यो रसायनले लडाइँबाट कोषलाई पुग्ने क्षति कम गर्ने प्रयास निरन्तर जारी राख्छ । यो लडाइँमा कोरोना भाइरस हावी भयो भने फोक्सोका साना थैलीहरू अत्यधिक सुनिन्छन् र ती थैलीहरूमा पानी भरिन थाल्छ । त्यो अवस्थालाई निमोनियाँ भनिन्छ। फोक्सोको काममा कमी आउन थालेपछि मृगौलाको काममा पनि व्यवधान उत्पन्न हुन्छ । अन्तमा शरीरका महत्त्वपूर्ण अङ्गहरूले काम गर्न छाड्छन् ।

कोरोना भाइरसको फैलिने दर अत्यधिक धेरै भए पनि यो एकदम बलियो भाइरस भने होइन । केही मानिसहरूमा यो भाइरस संक्रमणको कुनै लक्षण देखिँदैन । करिब ८० प्रतिशत संक्रमितहरूमा मध्यम खालका लक्षणहरू देखिन्छन् । २० प्रतिशतमा गम्भीर लक्षणहरू देखिन्छन् । तिनिहरूलाई अस्पतालको हेरविचार आवश्यक हुन्छ । ती २० प्रतिशतमध्ये ६ प्रतिशतको अवस्था नाजुक बन्दछ । जसलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्दछ ।

कोभिडको औषधिबारेः

कोभिडको कुनै औषधि छैन । यसबाट जोगिन सावधानी अपनाउनु पर्दछ । संक्रमितले स्वास फेर्दा निस्किएको भाइरस नाक र मुखमा पुग्नबाट बचाइयो भने यो भाइरस सर्ने संभावना नगण्य हुन्छ। यसका निमित्त संक्रमितबाट कम्तीमा दुई मिटरको दुरी कायम राख्ने, मास्कको सही प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । नियमित साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुनु पर्दछ । रोग प्रतिरोध प्रणालीलाई कमजोर बन्न दिनु हुँदैन ।

संक्रमित भइसकेपछि ज्वरो कम गर्न सिटामोल खान सकिन्छ । डेक्सामेथासोन, रेम्डिसिविरले केही मद्दत गर्ने कुरामा विश्वास गरिन्छ । यद्यपि यी प्रमाणित भरपर्दा औषधिहरू होइनन् । भाइरल संक्रमणपछि संभावित व्याक्टेरियाको संक्रमण रोक्न चिकित्सकहरूले एन्टिबायोटिक चलाउने गर्छन् । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन गर्नु हुँदैन। संक्रमण भइहाले पनि आत्मबल घट्न दिनु हुँदैन। सास फेर्न अप्ठ्यारो भएमा, अक्सिजनको तह घटेमा ढिला नगरीकन अस्पताल जानुपर्छ ।

महामारी व्यवस्थापन र सरकारः

महामारी व्यवस्थापनले कुनै पनि राज्यको क्षमता प्रदर्शित हुन्छ । गत साल नै यो महामारीविरुद्ध राष्ट्रिय संकल्प पारित गर्नु पर्थ्यो । तर नेपाल सरकारले यसका विरुद्ध सर्वदलीय संयन्त्र बनाउन पनि आवश्यक ठानेन । राजनीतिक दलहरू पनि महामारी व्यवस्थापनमा हुनुपर्ने जति सक्रिय भएनन् । राजनीतिक दलहरूले विपद्‌ व्यवस्थापनका निमित्त छुट्टै विभाग बनाएर काममा लगाउनुपर्छ । लकडाउन गरेर कोरोना नियन्त्रणको जिम्मा प्रहरीलाई दिने कामले असलमा महामारी नियन्त्रण हुन सक्दैन ।

केही क्षणका लागि खोलिएका तरकारी र खाद्यान्नका पसलहरूमा भिड हुन्छ । बिक्री वितरण प्रणालीमा परिवर्तन गर्ने बारे सोच पुगेको छैन । लकडाउनको अवधिभर विपन्न जनतालाई चाहिने खाद्य सामाग्री सरकारले टोलटोलमा पुगेर वितरण गर्नु पर्ने हो ।

संक्रमितहरूको उद्धारका निमित्त आवश्यक परे सरकारी सुविधाका गाडीहरू प्रयोगमा ल्याइनु पर्दछ । प्रत्येक प्रदेशमा सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना हुनुपर्छ । विकृत बन्दै गएको दलाल पुँजीवादले त नागरिकका हरेक कठिनाइँहरूमा कमिसन खोज्छ । अक्सिजन प्लान्ट जडान होस् या अक्सिजन सिलिन्डरको आपूर्ति होस्, हरेकमा कमिसनको जोडघटाउ हुन्छ । सरकार र यसका अङ्गहरू सेवाप्रदायक भन्दा अरुको सामान बेचेर कमिसन बटुल्ने व्यापारी जस्ता भएपछि सर्वसाधारण जनताले अपेक्षा गर्ने ठाउँ केही पनि बच्दैन । महामारीसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदमा गत साल सरकार नराम्रोसँग विवादमा तानिएको थियो । अहिले पनि त्यस्तै कुरा सुन्नमा आएको छ । कमिसनमोह कोरोनाभन्दा धेरै डरलाग्दो भाइरस हो ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनका निम्ति सामुदायिकस्तरमा स-साना समूह निर्माण गरेर तापक्रम लिने, अक्सिजनको तह मापन गर्ने आदि कामहरू सहज रूपमा गर्न सकिन्छ । कठिनाइ देखिएमा मात्र अस्पताल पठाउने काम भयो भने अस्पतालमा अनावश्यक भिड हुँदैन । आज सरकारी अस्पतालहरूमा चाप धेरै छ । बिरामीले अक्सिजन पनि पाउन गार्हो भएको छ ।

बेसार पानी या अम्बाको पातले कोरोना ठिक गर्छ भन्ने तर यससम्बन्धी अनुसन्धानमा कुनै रुचि नराख्ने सरकारको नेतृत्वबाट महामारीसम्बन्धी आफू गम्भीर नभएको कुरा बारम्बार अभिव्यक्त भएको छ । कोभिडको खोप निर्माण या रोकथामका अन्य उपायहरूसम्बन्धी अनुसन्धानमा कम्तीमा अनुसन्धानको जिम्मेवारी पाएका निकायहरूले सुरुआत गर्नुपर्छ ।

(लेखक नेकपा (माओवादी केन्द्र) का युवा नेता हुनुहुन्छ।)