काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपाका नेताहहरूमा पुँजीवादी नैतिकता पनि ह्रास हुँदै गएकाे बताउनु भएको छ । नेकपाकाे स्थायी समिति बैठकमा आफ्नाे धारणा राख्दै उहाँले आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन नसक्ने बताउनु भयो ।
नाम नलिईकन तर स्थायी समितिका अर्का सदस्य क. विष्णु रिमालप्रति लक्षित गर्दै आफ्नाे मन्तव्यमा भन्नुभयो, “एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो । त्यस्तो अभिव्यक्ति गलत छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन ।’
सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिनु भएको थियो ।
क.प्रकाशले “कम्युनिस्ट-समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको” भन्दै “बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको ” कुरा बैठकमा राख्नुभयो ।
बैठकमा नेताहरू क. सुवास नेम्वाङ, क. ईश्वर पोखरेल, क. नारायणकाजी श्रेष्ठ’प्रकाश’, क. छबिलाल विश्वकर्मा, क. गोकर्ण विष्ट, क. मणि थापा, क. अमिक शेरचनसहित सातजनाले राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नु भएको थियो । बैठकमा बोल्नेमध्ये श्रेष्ठ, थापा र शेरचनले आलोचनात्मक टिप्पणी गर्नु भएको थियो ।