National Flag of Nepal, Nepal ko Rashtriya Jhanda, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान
 

काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ ।

२०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्यरूपले सफल बनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवहरूसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सम्पूर्ण चलचित्र हलहरूलाई त्यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृह मन्त्रालयले दिएको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूबाट नेपाल सरकार र नेपाली राष्ट्रियतामाथि प्रत्यक्ष तथा परोक्षरूपमा हमला भइरहेको  सन्दर्भमा यो निर्णयलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

विगतमा २४० वर्षसम्म बन्दुकको नालको भरमा नेपाली जनतामाथि निरंकुश शासन गर्दै आएको राजतन्त्र अन्तर्गत सामन्ती राजा-महाराजाहरूका हुँदै नभएका गुणहरूको नक्कली गुणगान गर्दै चाकरी र चाप्लुसीका लागि तयार गरिएको स्तोत्रलाई नेपालको राष्ट्रिय गानको रूपमा देशभर लादिएको थियो ।

चक्रपाणि चालिसेद्वारा लिखित सो गीत एउटा निकै विवादास्पद र जनविरोधी गीतका रूपमा चिनिन पुग्यो, जसले देशको राजा र शासक वर्गलाई मात्र महिमामण्डित गर्दै सर्वसाधारण जनतालाई पछाडि पारेको थियो भने गीतका सम्पूर्ण शव्दहरू शासक वर्गको स्तुतिमा केन्द्रित थिए, जसले नेपालका साधारण जनता, विशेष गरी किसान, मजदुर, र सर्वसाधारण नागरिकहरूको संघर्ष, योगदान, र बलिदानको अपमान गरिरहेको थियो, नागरिकलाई रैतीको रूपमा प्रस्तुत गरिरहेको थियो ।

सो गीतले प्रजातन्त्र, समानता, र जनताको आवाजलाई बेवास्ता गर्दै जनविरोधी निरङ्कुश शासकलाई आदर्शको रूपमा चित्रण गर्दथ्यो,  राजतन्त्रको निरंकुशतालाई समर्थन गरेको र जनताको अधिकारलाई कमजोर पार्न सहयोग पुर्‍याएको थियो । यसको जनविरोधी चरित्रको कारण नै यो गानलाई परिवर्तन गर्न व्यापक माग उठेको थियो, र अन्ततः, गणतन्त्र स्थापनापछि नयाँ राष्ट्रिय गानको परिकल्पना गरिएको थियो, जसले जनताको गौरव, समानता, र राष्ट्रिय एकताको भावना अभिव्यक्त गरोस् ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा दश वर्षे महान्‌ जनयुद्ध र त्यसको बलमा संयुक्त जनआन्दोलनको माध्यमबाट देशमा सामन्ती राजतन्त्रलाई घोक्रेठ्याक लगाएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेपछि सो सामन्ती दासताको गीतलाई परिवर्तन गरी बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुपहिचानयुक्त नेपाली जनता र नेपालको समग्र पहिचानलाई प्रतिनिधित्व गर्ने गीतलाई राष्ट्रिय गानका रूपका लागु गरिएको छ ।

खुला प्रतिस्पर्धाको माध्यमबाट छनौट गरिएको वर्तमान राष्ट्रिय गानका रचयिता व्याकुल माइला हुनुहुन्छ भने संगीतकार अमर गुरूङ हुनुहुन्छ ।

नेपालको राष्ट्रिय गान

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी,सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल ।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो, मातृभूमि नेपाल।

बहु जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

राष्ट्रिय गानको प्रयोगसम्बन्धी व्यवस्थालाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी कार्यविधि २०६९ अनुसार नियमन गरिएको छ ।