समाजको विकासमा उत्पादन प्रणालीको प्रमुख भूमिका रहने तथ्यलाई उल्लेख गर्दै उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन सम्बन्धले समाजका सम्पूर्ण पक्षहरूको स्थिति निर्धारित गर्ने तथ्यलाई व्याख्या गर्ने आधुनिक युगको एक जबरजस्त सिद्धान्त नै मार्क्सवाद हो ।
समाज त्यहाँ विद्यमान उत्पादन सम्बन्धद्वारा पूर्णरूपमा प्रभावित रहने उल्लेख गर्दै उत्पादन सम्बन्धमा हुने परिवर्तनले समाजको संरचनामा पनि परिवर्तन आउने धारणा यस सिद्धान्तले राख्दछ । इतिहासको अध्ययनमा भौतिकवादी धारणाको प्रयोग गर्ने यो सिद्धान्तले सामाजिक वर्ग, वर्ग बिचको द्वन्द्व र त्यसको कारणले सिर्जित वर्गीय शोषणको समेत ब्याख्या गर्दछ । कार्ल मार्क्सले फ्रेडरिक एङ्गेल्सको सहयोगमा सन् १८५० को दशकमा विकास गरेको यो सिद्धान्तलाई आधुनिक दुनियाँको एक सशक्त राजनीतिक, आर्थिक र वैचारिक दृष्टिकोण समेत मानिन्छ ।
बीबीसी विश्व सेवाले सन् १९९९ मा लिएको एक विश्व सर्वेक्षणअनुसार बिसौँ शताब्दीभरिको सबैभन्दा प्रभावशाली व्यक्तित्वको रुपमा कार्ल मार्क्सलाई मानिएको थियो । उक्त सर्वेक्षणको आधारमा बीबीसीले उनलाई शताब्दी विचारकको रुपमा घोषणा गरेको थियो ।

मार्क्सको सिद्धान्त अध्ययन नगरी दर्शन र अर्थशास्त्रको अध्ययन अधुरो रहने मानिन्छ l मार्क्सलाई प्रो. म्याक्सेले भनेका छन, “मार्क्स एक त्यस्तो व्यक्तित्व हुन् जसलाई लाखौँ मानिसहरुले देवता र लाखौँ मानिसहरुले दानवको रुपमा लिने गर्दछन् । मार्क्सवादी सिद्धान्त मजदुरहरूका लागि मुक्तिको मार्ग हो भने पुँजीपति वा शोषकहरूका लागि सम्पत्तिहरणकर्ता हो ।” मार्क्सका विभिन्न कृतिहरुमध्ये पुँजी सबैभन्दा महत्त्वपूर्ण र विस्तृत ग्रन्थ हो, जसको लेखनका लागि मार्क्सले बिस वर्ष लगाउनु भएको थियो l मार्क्सले यो कृति सन् १८४६ मा लेख्न सुरु गर्नुभएको थियो र सन् १८६७ मा पहिलो भाग प्रकाशित भएको थियो l दोस्रो र तेस्रो भाग उहाँ आफैले प्रकाशित गर्न भ्याउनुभएन, जसको प्रकाशन एङ्गेल्सले क्रमशं सन् १९८५ र १८९४ मा गर्नुभएको थियो l जर्मनीदेखि बाहिर सर्वप्रथम रुसबाट सन् १८७२ मा प्रकाशित भएको थियो l
समाजको गतिशीलता बुझ्नका लागि मार्क्सको दृष्टिकोण सबैभन्दा वैज्ञानिक मानिन्छ, जसले ऐतिहासिक द्वन्दात्मक भौतिकवादको प्रयोगमार्फत यसको विश्लेषण गर्दछ l समाजको गतिशीलता उतपादनका साधनमाथिको स्वामित्व, उत्पादक शक्ति र उत्पादनका साधन बिचको सम्बन्धले निर्धारित गर्दछ, जसलाई मार्क्सले पुँजीमा विस्तृत ढंगले ब्याख्या गर्नुभएको छ l यो कृतिले पुँजीवादको असली चरित्रको पर्दाफास गर्दछ र पुँजीपतिले मजदुरमाथि गर्ने शोषण, पुँजीपति बिचको द्वन्द, पुँजीपति र कामदार वर्ग बिचको द्वन्द, अतिरिक्त मूल्यमार्फत पुँजीपतिले आर्जन गर्ने अत्यधिक नाफा, पुँजीवादी संकट र बढ्दो बेरोजगारी ब्याख्या गर्दछ । विश्व पुँजीवादममा निरन्तर कायम रहेको संकट र वर्तमानमा कोभिडको कारणले सिर्जित संकटमा पुँजीवादको असफलता आदिको ब्याख्यामा मार्क्सको पुँजी एक मार्गदर्शक बन्न सक्दछ ।
पुँजीमा गरिएको पुँजीवादी प्रणालीको उत्पत्ति, विकास र यसको वैज्ञानिक ब्याख्याले आधुनिक समाजमा रहेको धनी र गरिब बिचको असमानता, राष्ट्रहरु बिचको द्वन्द र तेश्रो विश्वको अवस्था बुझ्न झन सघाउ पुराउने देखिन्छ l पुँजीको समग्र अध्ययन नसक्ने वा नभ्याउने पाठक वा विद्वानहरुका लागि यसको अध्ययनमा चासो जगाउन यसका एकाइहरुको केही समीक्षा गरिएको छ l
एकाइगत समीक्षा
यो लेखमा मार्क्सको पुँजीका तीन खण्डहरूको रूपमा रहेका पुस्तकहरूमध्ये पहिलो पुस्तक अर्थात् खण्ड-१ को बारेमा समीक्षा गरिएको छ l यो भागअन्तर्गत जम्मा ८ खण्डहरू रहेका छन्, जसमा जम्मा ३३ वटा एकाइहरू रहेका छन् l सबै एकाइहरुको समीक्षा गर्न सम्भव नभएकोले यसका ८ भागहरुको यहाँ चर्चा गरिएको छ l
भाग १ : माल र मुद्रा
मार्क्सको पुँजीको प्रथम भागमा वस्तु वा माल, विनिमय र मुद्राको बारेमा उल्लेख गरिएको छ l यसले वस्तु र मूल्यको धारणाको विश्लेषण गर्दछ, जसलाई पुँजीको सबैभन्दा महत्त्वपूर्ण र कठिन धारणा मानिन्छ । तीन अध्याय रहेको यो भागमा मार्क्सले वस्तुको उपयोग मूल्य र विनिमय मूल्यको उल्लेख गर्नुभएको छ । मार्क्सको विनिमय मूल्यको धारणा एक जटिल सामाजिक सम्बन्धको प्रतीक हो । जुन बाह्य र देखिने स्वरुपमा मात्र नभएर अत्यन्त गहिरो र पुँजीवादी उत्पादन स्वरुपलाई उजागर गर्ने धारणा समेत हो । त्यस्तैगरी यो भागमा विनिमय मूल्यका विविध पक्षहरुको उल्लेख गर्दै मानव श्रम र वस्तुको उत्पादनमा श्रमको भूमिकाको उल्लेख गरेको छ l त्यस्तै गरी वस्तु विनिमयमा मुद्राको भूमिका, मूल्यको मापन, र पुँजीवादमा मुद्राको भूमिकाको यहाँ विश्लेषण गरिएको छ l
भाग २: मुद्राको पुँजीमा रुपान्तरण
यो भागमा मुद्राको पुँजीमा हुने रुपान्तरणका विविध पक्षहरुको बारेमा विश्लेषण गरिएको छ l तीन अध्याय रहेको यो भागमा पुँजीवादी प्रणालीमा हुने विनिमयका विविध रुपहरु, नाफाका तरिकाहरु, वस्तु विनिमय र मुद्रा विनिमयका ढाँचाहरुको उल्लेख गरिएको छ l यो खण्डमा पुँजीको सामान्य सूत्रलाई विश्लेषण गरिएको छ l यसमा मार्क्सले वस्तु विनिमयका तरिकाहरूलाई निम्न सूत्रको आधारमा उल्लेख गर्नु भएको छ:
वस्तु – मुद्रा – वस्तु (C – M – C), यसमा वस्तु बेच्ने र फेरि किन्ने प्रक्रियाको उल्लेख गरिएको छ जुन जीविका उपार्जन पद्धतिमा आधारित छ l यसको विपरित मुद्रा – वस्तु – मुद्रा (M – C – M); सूत्रले नाफाका लागि वस्तुको किनबेचको उल्लेख गर्दछ l पुँजीवादी समाजमा यही दोश्रो सूत्रले कार्य गर्दछ र नाफाको लागि हुने कारोवारको विश्लेषण गर्दछ l मार्क्सले यो सूत्रका विभिन्न पक्षहरुको उल्लेख गर्दै यसका द्विविधाहरुको व्याख्या गर्नुभएको छ l त्यस्तै गरी श्रमशक्ति अर्थात् श्रम गर्ने सामर्थ्यको किनबेचको पनि विश्लेषण गरिएको छ l यसमा मार्क्सले मजदुरले कसरी आफ्नो श्रमशक्ति बेच्दछ र पुँजीपतिले कसरी उक्त श्रमशक्तिको खरिद गरी नाफा आर्जन गर्दछ भन्ने कुराको व्याख्या गर्नुभएको छ l
भाग ३: निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन
यो भागमा अतिरिक्त मूल्य निर्माणका दुईटा तरिकामध्ये निरपेक्ष (Absolute) अतिरिक्त मूल्यको निर्माणका सिद्धान्तहरुको विश्लेषण गरिएको छ l पाँच वटा अध्याय रहेको यो भागमा कसरी पुँजीपति वर्गले अतिरिक्त मूल्यमार्फत मजदुरको शोषण गर्दछ भन्ने कुराको उल्लेख गरिएको छ l यसमा मार्क्सले श्रम प्रक्रियाका प्राथमिक तत्त्वहरु: मानिसको व्यक्तिगत क्रियाशीलता, श्रमको विषय र श्रमका औजारको बारेमा उल्लेख गर्नुभएको छ, जसले अतिरिक्त मूल्यको सिर्जनामा खेल्ने भूमिकाको व्याख्या गरिएको छ l यसमा श्रम प्रक्रिया अर्थात् उपयोग मूल्यको निर्माण र अतिरिक्त मूल्यको निर्माणका विविध पक्षहरुको बारेमा उल्लेख गरिएको छ l त्यसै गरी यहाँ स्थिर पुँजी र गतिशील पुँजीको बारेमा चर्चा गरिएको छ, जसमा मार्क्सले उत्पादनका साधनहरु जस्तै कच्चा पदार्थ, श्रमका औजारहरु, आदिलाई स्थिर पुँजीको रुपमा र श्रमशक्तिलाई परिवर्तित पुँजीको रुपमा उल्लेख गर्नुभएको छ l यो भाग मार्क्सले अतिरिक्त मूल्यको रेट (दर) को बारेमा विस्तृत रुपमा व्याख्या गर्नुभएको छ l मार्क्सकाअनुसार, अतिरिक्त मूल्यको दरलाई निम्न सूत्रमार्फत निकाल्न सकिन्छः
अतिरिक्त मूल्यको दर = अतिरक्त श्रम /आवश्यक श्रम (SV = S÷V)
त्यस्तै गरी यहाँ श्रमशक्तिको शोषणको स्तर, मूल्यका तत्त्वहरु, कामका अन्तिम घण्टा र अतिरिक्त उत्पादनका विभिन्न पक्षहरुको पनि यहाँ उल्लेख गरिएको छ l त्यस्तै गरी मार्क्सले यहाँ कार्य दिनको बारेमा पनि व्याख्या गर्नुभएको छ l उहाँकाअनुसार, जीवन निर्वाहका लागि आवश्यक साधन जुटाउन जति श्रम गर्नुपर्छ, त्यही नै कार्य दिन हो l पुँजीपतिले कार्य दिनको समय बढाएर अतिरिक्त मूल्यको निर्माण गर्ने धारणा राख्नुभएको छ l यसमा उहाँले कार्य दिनका सीमाहरु, आठ घण्टा श्रमका लागि भएका आन्दोलनहरु, अतिरिक्त मूल्यको दर र यसको राशीको बारेमा व्याख्या गरिएको छ l
भाग ४ : सापेक्ष अतिरिक्त मूल्यको उत्पादन
यो भागमा पुँजीपति वर्गले कसरी सापेक्ष अतिरिक्त मूल्यको निर्माण गर्दछ भन्ने कुराको व्याख्या गरिएको छ l मार्क्सकाअनुसार, सापेक्ष अतिरिक्त मूल्यले कार्य दिनलाई आवश्यक श्रम र अतिरिक्त श्रम गरी दुई कार्य दिनमा विभाजित गर्दछ l यही अतिरिक्त श्रममार्फत सापेक्ष अतिरिक्त मूल्य आर्जन गर्दछ, जसमा ज्यालादारीको रकम घटाएर, मेशिनको प्रयोगमार्फत ज्यालाको रकम घटाएर, र आधुनिक औजारको प्रयोग गरी उत्पादकत्वमा वृद्धि गरेर लगायतका तरिकाहरुको प्रयोग गरिएको हुन्छ l नवीन औजारको प्रयोगले खाद्यान्न, लत्ताकपडा, कोइला आदिको मूल्यमा गिरावट ल्याउँछ, जसले मजदुरको ज्याला बढाउनु पर्दैन र उक्त रकम पुँजीपतिले अतिरिक्त मूल्यको रुपमा लिने गर्दछन् l त्यस्तै गरी यो भागमा सहकारिता, श्रम विभाजन र ठुलोस्तरको उत्पादन, समाज र ठुलोस्तरको उत्पादनमा हुने श्रम विभाजन, ठुलोस्तरको उत्पादनको पुँजीवादी स्वरूप, मेसिनरी र यसको विकास, आधुनिक उद्योग र कृषि बिचको सम्बन्ध लगायतका पक्षहरुको विश्लेषण गरिएको छ l
भाग ५ : निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्यको उत्पादन
यो भागमा निरपेक्ष र सापेक्ष मूल्यका भिन्नताहरूको उल्लेख गरिएको छ l यसमा श्रमशक्तिको मूल्य र अतिरिक्त मूल्यका विविध पक्षहरुको विश्लेषण गर्नुका साथै कार्य दिनको समय र उत्पादकत्वमा हुने परिवर्तनको उल्लेख गरिएको छ l त्यस्तै गरि यो अध्यायले अतिरिक्त मूल्यका विभिन्न सूत्रहरुको पनि उल्लेख गर्दछ l यसमा मार्क्सले अतिरिक्त मूल्यको दर निम्न सूत्रहरुको प्रयोग गरी निकाल्न सकिने धारणा राख्नुहुन्छ:
♠ अतिरिक्त मूल्य ÷ परिवर्तित पुँजी = अतिरिक्त मूल्य ÷ श्रमशक्तिको मूल्य = अतिरिक्त श्रम ÷ आवश्यक श्रम
♠ अतिरिक्त श्रम ÷ कार्य दिन = अतिरिक्त मूल्य ÷ उत्पादनको मूल्य = अतिरिक्त उत्पादन ÷ समग्र उत्पादन
♠ अतिरिक्त मूल्य ÷ श्रम शक्तिको मूल्य = अतिरिक्त श्रम ÷ आवश्यक श्रम = अवेतन श्रम ÷ सवेतन श्रम
मार्क्सले माथि उल्लेखित तीन विभिन्न खाले सूत्रहरुको प्रयोग गरी अतिरिक्त मूल्य निकाल्न सकिने धारणा राख्नुहुन्छ, जुन हालसम्म पनि निर्विवाद रहेको छ l
भाग ६: ज्याला वा मजदुरी
यो भागमा मार्क्सले ज्यालादारीका विभिन्न पक्षहरुको विश्लेषण गर्नुभएको छ l मार्क्सकाअनुसार, कुनै वस्तुको मूल्य त्यसको उत्पादनमा लागेको सामाजिक श्रमको वस्तुगत रुप हो र यसको मापन त्यसमा लागेको श्रमको मात्राले नापिन्छ l मजदुरले आफ्नो श्रमशक्तिको विक्रि गरी ज्याला प्राप्त गर्दछ l अर्थात यो उसको श्रमशक्तिको मूल्य हो l त्यस्तै गरी मार्क्सले श्रमको मूल्य त्यसको उत्पादनमा लागेको समयले निर्धारण गर्ने धारणा राख्नुभएको छ l मार्क्सकाअनुसार, श्रमको दाम निम्नानुसारको सूत्रको प्रयोग गरी निकाल्न सकिन्छ l
श्रमको दाम = श्रमशक्तिको दैनिक मूल्य ÷ एक निश्चित घण्टाको कामको दिन
त्यस्तै गरी मार्क्सले कामअनुसारको ज्यालालाई त्यसको तात्कालिक अवधिको आधारमा मापन गरिने धारणा राख्नु भएको छ l यसर्थ, कार्यानुसार मजदुरी समयानुसार मजदुरीकै परिवर्तित रुप हो र यो नै पुँजीवादी प्रणालीमा सबैभन्दा मेल खाने रुप पनि हो भन्ने मार्क्सको धारणा समेत रहेको छ l त्यस्तैगरी यो भागको अन्त्यमा मार्क्सले मजदुरको ज्याला राज्य वा देशअनुसार फरक-फरक हुने धारणा राख्नुभएको छ l
भाग ७: पुँजीको सञ्चय (क्यापिटल अक्युम्युलेशन)
यो भागमा मार्क्सले पुँजीपतिले अतिरिक्त मूल्यमार्फत कमाएको रकमलाई कुन कुन तरिकाले सञ्चित गर्दछ भन्ने कुराको विश्लेषण गर्नुभएको छ l उत्पादन प्रक्रियालाई नयाँ तरिकाले सुरु गर्ने कार्य नै पुनरुत्पादन हो, जसमा उत्पादनका साधनको पुनरुत्पादन गरी पुराना साधनलाई प्रतिस्थापन गरिन्छ l यसमा पुँजीपतिले आर्जन गरेको अतिरिक्त मूल्यलाई पुँजीमा रुपान्तरण गर्ने कुराको पनि व्याख्या गरिएको छ l अतिरिक्त मूल्यलाई पुँजीको रुपमा प्रयोग गर्नु र यसलाई पुँजीमा बदल्दिनु नै खासमा पुँजीको सञ्चय हो, जसलाई मार्क्सले विभिन्न ढंगले ब्याख्या गर्नुभएको छ l वस्तु वा मालको उत्पादन, त्यसको मुद्रामा रुपान्तरण र मुद्रालाई पुँजीमा रुपान्तरण पुँजीपतिले आफ्नै तरिकाले गर्दछ र उक्त पुँजीलाई सम्पत्तिको अधिकार अन्तर्गत सुरक्षित गर्दछ l मार्क्सले यहाँ अतिरिक्त मूल्यको पुँजी तथा आयमा हुने विभाजनलाई परिवारजन सिद्धान्तको रुपमा उल्लेख गर्नुभएको छ l
त्यस्तैगरी यो एकाइमा मार्क्सले पुँजीवादी सञ्चयका सामान्य नियमहरुको पनि उल्लेख गर्नुभएको छ l उहाँकाअनुसार, श्रमशक्तिको माग बढ्नु, सञ्चय गरिएको रकम देखावटी रुपमा कम हुनु, जनसंख्या वा औद्योगिक रिजर्भ सेनाको संख्या बढ्नु जस्ता केही नियमहरु हुन्, जसले पुँजीवादी सञ्चितीकरणको बारेमा बुझ्न र पुँजीवादी उत्पादनको विरोधाभास मात्र नभएर वास्तविक दुनियाँको विरोधाभास बुझ्न समेत सहयोग गर्दछ ।
भाग ८: आदिम सञ्चय (प्रिमिटिभ अक्युम्युलेशन)
यो खण्ड १ को अन्तिम भाग हो जसमा मार्क्सले तथाकथित आदिम सञ्चयको बारेमा उल्लेख गर्नुभएको छ l मार्क्सले यहाँ पुँजीवादपूर्व पनि सञ्चय अर्थात् “पूर्वाकालिक सञ्चय” भन्ने एडम स्मिथको भनाइलाई खण्डन गर्नुभएको छ l यसलाई मार्क्सले पुँजीवादी सञ्चयको प्रस्थान विन्दुको रुपमा चित्रित गर्नुभएको छ l त्यस्तै गरी मार्क्सले पुँजीवादको सुरुवातमा कसरी खेतीहर जमिनको अपहरण गरी कृषिमा आधारित जनसंख्यालाई भूमिहीन बनाइयो भन्ने बारेमा विश्लेषण गर्नुभएको छ l यो प्रक्रियाका लागि बनाइएका कानुनहरुले कसरी पुँजीवादको रक्षा गरे र किसानको पक्षमा कुनै आवाज बोलेनन् भन्ने कुराको चर्चा गर्दै उद्योगमा भएको कृषि क्रान्ति तथा पुँजीपति किसानको उत्पति, कृषि क्रान्तिले उद्योगमा ल्याएको रुपान्तरण र औद्योगिक पुँजीपति वर्गको उत्पति लगायत पुँजीवादी सञ्चयको ऐतिहासिक पृष्ठभूमिका सम्पूर्ण पक्षहरुको विश्लेषण गर्नुभएको छ l त्यस्तै गरी यो खण्डको अन्त्यमा मार्क्सले उपनिवेशीकरणको प्रक्रिया, यसको उद्भव र विकासका साथै उपनिवेशीकरणको आधुनिक सिद्धान्तको बारेमा चर्चा गर्नुभएको छ ।
माथिको एकाइगत सारांशमा के भन्न सकिन्छ भने मार्क्सको पुँजीका सम्पूर्ण एकाइहरु यति महत्त्वपूर्ण छन् कि प्रत्येकले एकाइ र भाग तथा उपभागहरुले विगत र वर्तमान दुनियाँको यथार्थतालाई व्याख्या गरेको आभास मिल्दछ । तत्कालीन तत्थ्याङ्कलाई प्रयोग गरेको हुनाले अहिलेको दुनियाँसँग मेल नखान सक्छ तर सैद्धान्तिक हिसाबले मार्क्सको यो कृति सदाका लागि अमूल्य कृति हो भन्न सकिन्छ । उहाँले विभिन्न साहित्य र तत्कालीन समयका दार्शनिक विचारहरु एडम स्मिथ, डेभिड रिकार्डो, जे.एस. मिल, माल्थस, डार्विन आदिको धारणालाई समेत यथास्थानमा प्रयोग गर्नुभएको छ । त्यसैले पुँजीको विस्तृत अध्ययनले हाम्रो ज्ञानको क्षितिज फराकिलो हुने भएकोले यसको सम्भव भएसम्म अध्ययन गर्नुहोस् l
र, यो पनिः
कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरूः प्रा. वैंकटेश आत्रेय
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत मानवशास्त्री हुनुहुन्छ । पुँजी खण्ड २ र ३ को समीक्षा पछि प्रकाशित गरिनेछ ।)