काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो ।
अखिल नेपाल किसान महासंघले विज्ञप्ति मार्फत विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न ‘लक–डाउन’ सहित विभिन्न तयारी गर्ने नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको कुरा पुनः स्मरण गराउँदै हिजो २०७६ चैत्र १६ गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरूको पनि स्वागत र समर्थन गरेको छ । महासंगले यसअघि सरकारका कोरोना भाइरस नियन्त्रणमा चालिएका सरकारी कदमहरीको समर्थन गर्दै एक नोट जारी गरेको थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध अखिल नेपाल किसान महासंघका संयोजक क. हरि पराजुली र सहसंयोजक क. चित्रबहादुर श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमा, “यो समय भौगोलिक विविधताअनुसार नेपालीहरुको तेस्रो महत्त्वपूर्ण खाद्यबालीको रुपमा रहेको गहुँका साथै, जौ, उवा र मसुरो आदि भित्राउने, चैते धान तथा ग्रीष्मकालीन तरकारीहरु रोप्ने र हिउँदे तरकारीहरू बजारमा लैजाने मौसम भएकोले ‘लक–डाउन’का कारण किसानहरुलाई ठूलो समस्या सिर्जना भएको छ,” भनिएको छ ।
किसान महासंघले कुखुरापालक, अण्डा तथा चल्ला उत्पादक, पशुपालक र त्यसमा पनि विशेषतः दुग्धउत्पादक किसानहरुको उत्पादन तथा विक्रि/वितरणका साथै चारा–दाना आपूर्तिमा अवरोध सिर्जना हुनगई दैनिक जीवनमा समेत जटिलता उत्पन्न भएको समेत दावी गरेको छ ।
“यी सबै परिस्थितिहरुलाई मध्यनजर गर्दै आफ्नो र परिवारको पेट भरेर सम्पूर्ण देशबासीको खाद्यव्यवस्थामा योगदान गर्न अहोरात्र खटिने किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न एवम् दाना–चारा आपूर्ति तथा दुध, तरकारी, अण्डा तथा अन्य तत्काल सड्ने (perishable) कृषि उपजहरुको विक्रि/वितरणमा सहज स्थिति तयार गरिदिन अखिल नेपाल किसान महासंघ नेपाल सरकारसँग जोड्दार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठः
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न ‘लक–डाउन’ सहित विभिन्न तयारी गर्ने नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको कुरा पुनःस्मरण गराउन चाहन्छौँ । यसै सन्दर्भमा हिजो २०७६ चैत्र १६ गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ८ दिन ‘लक–डाउन’ थप गर्ने, विलासिताका वस्तुहरुको आयात रोक्ने र उद्योगी/व्यवसायी लगायत विभिन्न समुदायको हितका लागि चौमासिक आर्थिक प्रतिवेदन र कर बुझाउने मिति थप गर्ने, खरीद सम्झौताहरुको म्याद थप गर्ने, विद्यार्थीहरुको एक महिनाको शुल्क मिनाहा गर्ने र आकस्मिक स्वास्थ्य सेवाका लागि ऋण सहयोग लिने लगायतका निर्णयहरु गरेकोमा ती सबै निर्णयहरुको अखिल नेपाल किसान महासंघ हार्दिक स्वागत तथा समर्थन गर्दछ ।
परन्तु यो समय भौगोलिक विविधताअनुसार नेपालीहरुको तेस्रो महत्त्वपूर्ण खाद्यान्नको रुपमा रहेको गहुँका साथै, जौ, उवा र मसुरो आदि भित्राउने, चैते धान तथा ग्रीष्मकालीन तरकारीहरु रोप्ने र हिउँदे तरकारीहरू बजारमा लैजाने मौसम भएकोले ‘लक–डाउन’का कारण किसानहरुलाई ठूलो समस्या सिर्जना भएको छ । त्यसरी नै कुखुरापालक, अण्डा तथा चल्ला उत्पादक, पशुपालक र त्यसमा पनि विशेषतः दुग्धउत्पादक किसानहरुको उत्पादन तथा विक्रि/वितरणका साथै चारा–दाना आपूर्तिमा अवरोध सिर्जना हुनगई दैनिक जीवनमा समेत जटिलता उत्पन्न भएको छ । यी सबै परिस्थितिहरुलाई मध्यनजर गर्दै आफ्नो र परिवारको पेट भरेर सम्पूर्ण देशबासीको खाद्यव्यवस्थामा योगदान गर्न अहोरात्र खटिने किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न एवम् दाना–चारा आपूर्ति तथा दुध, तरकारी, अण्डा तथा अन्य तत्काल सड्ने (perishable) कृषि उपजहरुको विक्रि/वितरणमा सहज स्थिति तयार गरिदिन अखिल नेपाल किसान महासंघ नेपाल सरकारसँग जोड्दार माग गर्दछ ।
साथै, देशका दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुको प्रतिनिधिमूलक तथा नेतृत्वदायी संगठनको रुपमा अखिल नेपाल किसान महासंघको तर्फबाट हामी पुनः एकपटक किसान महासंघ तथा घटक संघहरुका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य, समर्थक तथा शुभेच्छुकहरुका साथै सम्पूर्ण किसान दाजुभाइ–दिदीबहिनीहरु र आम जनसमुदायलाई नआत्तिइकन सरकारले घोषणा गरेको ‘लक डाउन’ सफल पार्न, कोरोना भाइरसको संक्रमणबाट आफू जोगिँदै र अरुलाई समेत जोगाउँदै नेपाल र नेपाली जनसमुदायको खाद्य आपूर्ति व्यवस्थालाई सहज बनाउन सुरक्षित रुपले आफूसक्दो भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौँ ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित ।
हरि पराजुली
संयोजक
चित्रबहादुर श्रेष्ठ
सहसंयोजक










