Ekdev Aale, Ekdeb Aale Ekadev Aale, Ekdeb, Ale
 

नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो – कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्‍याएका छन् ।

तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका थिए आले । उनको तन्नेरी उमेर हली गोठालोमा बित्दै गर्दा गाउँका आफ्ना अरु दौंतरी जस्तै उनी पनि ब्रिटिश गोर्खा फौजमा भर्ना भएर जानी नजानी त्यस बेलाको विश्वको फासिष्ट शक्ति जर्मनीको विरुद्धको धावामा युद्ध मोर्चामा सामेल भए दोश्रो विश्व युद्धको बेला । त्यस क्रममा उनले युरोपका विभिन्न देशहरु देखे । त्यहाँको उन्नति प्रगति हेरे र आफ्नो देशको दुर्दान्त र दारुण अवस्थासँग तुलना गरे । मनमा हुटहुटी चल्यो । साँच्चै नै व्यवहारिक पाठ सिके ।

दोश्रो विश्वयुद्धपछि ब्रिटेनले ‘काम चल्दाको भाँडो, काम सकिएपछि ठाँडो’ भने जस्तैगरी गोर्खा सिपाहीहरुलाई विदा गर्‍यो । लाहुरे एकदेव पनि अरु दौँतरी नेपाली लाहुरेहरुसँगै स्वदेश फर्किए । तर आफू लाहुरे बनेर फर्कंदा उनको मनमा देशलाई राणा शासनबाट मुक्त गर्नुपर्ने छटपटी पलाइसकेको थियो । त्यसैले ब्रिटिश भारतबाट भारतीय स्वतन्त्रताको आन्दोलनको कारण ब्रिटिश शासक वर्गले विदा लिँदै गरेको बेला लाहुरबाट स्वदेश नेपाल फर्किएका एकदेव आले आफ्नो देशमा राणा शासन विरोधी आन्दोलनमा सक्रिय भए । उनको फौजी पृष्ठभूमिले गर्दा स्वभावतः उनी मुक्ति योद्धाकै भूमिकामा क्रियाशील भएर लागे ।

Lok Narayan Subedi
लेखक

जहाँनियाँ एकतन्त्री राणाशासन विरोधी आन्दोलन सम्पूर्ण सामन्ती व्यवस्थाकै विरुद्ध विकसित हुन थालेपछि ‘दिल्ली सम्झौता’ गरेर क्रान्तिलाई आधा अधूरै छाडिँदा एकदेव आले लगायतका मुक्ति योद्धाहरु भिमदत्त पन्त, डा. के आई सिंह, चित्रबहादुर गुरुङ्ग, रामप्रसाद राईहरुको मन कुँडियो । चित्त पटक्कै बुझेन । उनीहरुले हतियार बिसाउन मानेनन् । त्यसैले पक्राउ परे र थुनिए । तर क्रान्तिकारी योद्धा एकदेवले थुनछेकलाई पनि छिचोल्दै ‘जेल ब्रेक’ गरेर बाहिर निस्किए र दिल्ली सम्झौताको विरोध गरे बापत सिंहदरबार फौजी गारतमा थुनामा रहेका डा. केआई सिंहलाई पनि अर्का फौजी योद्धा रामप्रसाद राईसँग मिलेर सिंहदरबार गारतबाट मुक्त गरे । यो सानो बिद्रोह थिएन । जुन विद्रोहलाई ‘केआईसिंह काण्ड’ पनि भन्ने गरिन्छ । त्यस बेलामा उनीहरुले गठ्ठाघर (जो फौजी हातहतियार राख्ने स्थान हो त्यतिबेलाको) कब्जा गरे, ‘आकाशवाणी अफिस’ कब्जा गरे र यसरी ठूलो विद्रोहको बाटो पक्रिए ।

यो वास्तवमा नेपालको राजनीतिक इतिहासमा चानेचुने घटना थिएन । अपूर्व सैन्य–राजनीतिक विद्रोह थियो । यसरी समग्रमा जुन ‘के आई सिंह काण्ड’ भनिन्थ्यो, त्यो यथार्थमा ‘एकदेव आले र रामप्रसाद राई काण्ड’ थियो । अनि त्यसरी सैन्य गारतबाट के आई सिंहलाई बाहिर निकालेपछि केआई सिंह चीनको तिब्बततिर भागे । रामप्रसाद राई त्यहीदेखि बेपत्ता पारिए या मारिए । अहिलेसम्म अत्तोपत्तो छैन ।

कमरेड एकदेव आले भने पुनः पक्राउ परे । त्यसपछि नै जेलमा पक्राउ परेका अरु कम्युनिस्ट साथीहरुसँग सम्पर्कमा आले आइपुगे । उनी देशको कम्युनिस्ट आन्दोलनमा सरिक हुने वातावरण यसरी सिर्जना भयो । जेलबाट छुटेपछि कामरेड पुष्पलालको हातबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर उनी गण्डकी अञ्चलमा किसानहरुका बिचमा काम गर्ने जिम्मेवारीकासाथ सामन्तवाद विरोधी किसान आन्दोलनमा सक्रिय भएर लागे ।

किसानहरुका बिचमा काम गर्दा एकदेव आलेले बाँझो र पर्ति जग्गा गरिब सुकुम्बासी किसानहरुलाई वितरण गर्ने र उनीहरुलाई जग्गाको मालिक बनाउने आधारभूत कार्य गर्न थाले । नेपालको इतिहासमा सायद एकदेव आले नै पहिलो व्यक्ति हुनु पर्दछ, जसले व्यवहारतः ‘जग्गा जोत्नेको’ नारालाई साकार रुप दिने र व्यवहारमा खरो उतार्ने काम गरे ।

यद्यपि पश्चिम नेपालमा पनि दिल्ली सम्झौताको विरोध गर्ने किसान नेता भीमदत्त पन्त जस्ता ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब हुन्न भलो’ भनेर सामन्ती जमिन्दार वर्गलाई लल्कार्ने एक साहसी र सचेत योद्धा एकदेवकै समकालीन थिए ।

यसरी हली, गोठाला, सुकुम्बासी किसानहरुलाई सचेत र संगठित गर्ने तथा कम्युनिस्ट आन्दोलनलाई साँच्चै नै वर्ग आधारित आन्दोलनमा विकसित गर्न तल्लिन एकदेव आले ०१७ सालको प्रतिगामी शाही फौजी काण्डपछि अरु बाम तथा लोकतान्त्रिक नेताहरु जस्तै पक्राउ नपर्ने कुरै थिएन । पक्राउ परेको एक बर्षपछि उनी पुनः पाल्पाको जेलब्रेक गरेर सिधै कमरेड पुष्पलालसँग बनारसमा कम्युनिस्ट पार्टीको तत्कालीन हेडक्वार्टरको सम्पर्कमा पुगे ।

नेपाल कम्युनिस्ट पार्टीमा ०१७ सालको शाही प्रतिगामी कदमपछि त्यसै कुरालाई लिएर तीब्र मतभेद पैदा भएको थियो । कमरेड पुष्पलालले त्यसलाई प्रजातन्त्रको हत्या गर्ने प्रतिगामी कदमको रुपमा ब्याख्या गरेर बाम तथा प्रजातान्त्रिक शक्ति एकजुट भएर लड्नुपर्ने कार्यनीति अघि सारेका थिए भने डा. केशरजंग रायमाझीको नेतृत्वमा राजावादी कम्युनिस्टहरुले राजाको कदम राष्ट्रिय हितमा चालिएको प्रगतिशील कदम भनेर राजाको समर्थनमा कम्युनिस्ट आन्दोलनलाई विर्सजन गरेका थिए । मूलतः यसै कुरालाई लिएर २०१९ को तेश्रो महाधिवेशनपछि विभाजित भएको कम्युनिस्ट आन्दोलन ठूलो अलमल र अन्योलमा परेको बेला एकदेव आले जस्ता योद्धा समेतको साथ पाएर कामरेड पुष्पलाल भने ‘सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाको विकल्पः नयाँ जनवादी गणतन्त्र’को कार्यक्रम ‘नयाँ जनवादी’ कार्यक्रम मस्यौदा गर्न लागि परेका थिए ।

यस कुरामा एकदेव आलेको पूर्ण समर्थन र योगदान रहेको थियो । यसै कार्यक्रमलाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन (२०२५ सालमा) गरी क्रियाशील भइरहेको बेला कमेरड एकदेव आलेलाई गम्भीर क्यान्सर रोगले पक्रियो ।

भारतको दरभंगामा क्यान्सर रोगको उपचाररत रहेका बेला आफू बाँच्ने आशा कम भएको वास्तविकता बुझेपछि उनले आफूलाई उपचार गर्ने चिकित्सकलाई भनेका थिए, “डा.साहेब मलाई अस्पतालमा मर्नु नपरोस्, म मेरै देशको माटोमा सामन्तवादसँग लड्दै मर्न चाहन्छु ।” यद्यपि चिकित्सकहरुको अथक प्रयत्नले पनि आलेको जीवन बचाउन सकेन । जनतामाथि देशी-विदेशी शक्तिको शोषण, अन्याय र अत्याचारका विरुद्ध सँधै अलख जगाइराख्ने र समाजवादको धेय प्रति अटुट आस्था राख्ने कामरेड पुष्पलालका एक अन्यन्य सहयोद्धा आलेको २०२५ साल माघ १२ गते दुःखद देहाबसान भयो ।

कमरेड पुष्पलाल आफ्ना एक अनन्य एवं निष्ठावान योद्धा नेपाली कम्युनिस्ट आन्दोलनले असमयमा गुमाएकोमा अत्यन्तै चिन्तित र खिन्न भएका थिए । उनले आले जस्ता देश र जनताप्रति सतत समर्पित, सिद्धान्तनिष्ठ र संघर्षशील अग्रज योद्धा गुमाएकोले कम्युनिस्ट आन्दोलनले एक होनहार नेताबाट बिमुख हुन परेको अत्यन्तै पीडादायक अवस्थाको उल्लेख गर्दै र कामरेड आलेको असल क्रान्तिकारी जीवन तथा कर्मबाट शिक्षा लिएर अघि बढ्न सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई सामन्तवाद र साम्राज्यवादका विरुद्ध सम्झौताहीन र निर्णायक संघर्षमा लाग्न आह्वान गर्दै यसो गर्न सकेमा मात्र कमरेड एकदेव आलेले नेपालको जनवादी आन्दोलनमा पुर्‍याएको महत्त्वपूर्ण योगदान र कमरेड आलेको पनि उचित सम्मान हुने कुरा औंल्याएका थिए ।

हुन पनि कामरेड आले सादा जीवन र उच्च विचारका एक कर्मशील र उच्च क्रान्तिकारी नैतिकताका धनी व्यक्तित्व थिए । उनी सामान्य पढालेखा मात्र भए पनि पार्टी राजनीति प्रतिबन्धित रहेको अवस्थामा मूलतः भारतको गोरखपुर, कुँडाघाटमा बसेर नेपालबाट भारतको बनारस र अन्यत्र उच्च शिक्षा लिन र कामको खोजीमा जाने युवा विद्यार्थीहरुलाई सम्झाएर सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाका विरुद्ध क्रान्तिकारी बाटोमा लाग्न निरन्तर उत्प्रेरित गर्ने गर्दथे । उनको तर्कपूर्ण प्रष्ट र विश्वासिलो किसिमको सम्झाउने शैली, सर्वसाधारणसँगको मृदु व्यवहार र सादा जीवन देखेर युवा विद्यार्थीहरु उनीबाट प्रभावित हुन्थे र कम्युनिस्ट पार्टीमा सरिक हुने अठोट गर्दथे । यो कम महत्त्वपूर्ण कुरा थिएन त्यतिबेला ।

आफ्ना एक इमान्दार, क्रान्तिप्रति समर्पित तथा निष्ठावान सहयोद्धा एकदेव आलेको असामयिक दुःखद निधनले मर्माहत भएका कमरेड पुष्पलालले कमरेड आलेको समग्र जीवन र कर्मप्रति समर्पित एउटा निक्कै लामो लेख ‘कामरेड आले र साधु कामी’ शीर्षकमा लेखेका थिए । जुन लेख तत्काल प्रकाशित हुने गरेको ‘भुकभुको’ पत्रिकामा प्रकाशित र सुरक्षित छ । त्यो लेख अहिले पनि क्रान्तिकारीहरुमा उत्साह जगाउने खालको र अत्यन्तै पठनीय एवं कार्यनीतिक महत्त्वको छ । त्यस लेखमा कमरेड पुष्पलालले एउटा हली, गोठालो र लाहुरे कसरी सिद्धान्तनिष्ठ, क्रान्तिकारी कम्युनिस्ट योद्धा र नेपाली जनताको अविस्मरणीय नेता बन्न सक्तछ भन्ने कुरामा यथेष्ठ प्रकाश पारेका छन् ।

आजको विचलित र विश्रृंखलित भएको नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिने हो भने सबै क्रान्तिकारी जनवादी तथा कम्युनिस्टहरुले कमरेड एकदेवबाट सिक्नै पर्दछ । उनको अनुसरण गर्नै पर्दछ । यो आजको महत्त्वपूर्ण राष्ट्रिय आवश्यकता नै हो – स्वाधीन नयाँ विकसित नेपाल निर्माणका निम्ति । यिनै शब्दकासाथ कमरेड आलेप्रति उच्च सम्मानपूर्वक हार्दिक शब्द श्रद्धाञ्जली !

यो पनि पढ्नुहोस्ः

एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान विजुक्छे ‘रोहित’

(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)