२०३० सालदेखि आजपर्यन्त झण्डै ४३ वर्ष लामो पार्टी जीवनमा मैले तीन राजनीतिक पार्टीहरूमा समय व्यतित गरेको छु । विद्यार्थी राजनीति बाहेकको मेरो पार्टीगत राजनीतिक जीवनको झण्डै आधा समय क. श्यामप्रसादको नेतृत्वको कम्युनिस्ट सङ्गठनमा बितेको छ । यस लेखमा आफ्ना गतिविधिलाई केन्द्रमा राखी त्यस पार्टीबारे जानकारी गराउने जमर्को गरेको छु ।
पार्टीसँगको सम्पर्क
म २०२८ को आखिरतिर तनहुँ जिल्लाको ढोरफिर्दीस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयमा शिक्षक हुन आइपुगेँ । त्यसभन्दा अगाडि बागलुङ जिल्लाको गल्कोट माध्यमिक विद्यालयमा अध्यापन गर्दथेँ । सहर बजारमा घरबार भएको निम्न पुँजीवादी परिवेशको म युनिभर्सिटिको पढाइ बहिस्कार गरेर गाउँ पसेको थिएँ ।
२०२० को दशकको अन्तिमतिर भारतमा चर्किरहेको नक्सालवादी आन्दोलनका नेता चारु मजुमदारले “बुर्जुवा डिग्री लिनतिर नलागी गाउँ पस र किसानमाझ क्रान्तिकारी काम गर” भन्ने नारा दिएका थिए । हुन त यो नारा भारतीय बुद्धिजीविहरूका लागि थियो । तर नेपालका धेरै वामपन्थी युवा विद्यार्थीहरू समेत त्यसको प्रभावमा परे र धमाधम पढाइ छोडी गाउँ पस्ने लहर चल्यो, जुन लहरमा मिसिनेमा म पनि एक थिएँ । भूगोल विषयमा एम.ए. पहिलो खण्डको परीक्षा दिएपछि पोखरा फर्केको म फेरि पढाइ चालु गर्न काठमाडौँ जानुको साटो गाउँतर्फ लागेँ । मेरो त्यतिखेरको उद्देश्य गाउँमा कतै स्कुलतिर शिक्षक काम गरी ग्रामीण जनतामाझ राजनीतिक कार्य गर्ने थियो । यो काम मैले कुनै सङ्गठित योजनाअनुसार गरेको थिइन किनकि म कुनै राजनीतिक पार्टीमा आबद्ध थिइनँ । कम्युनिस्ट आन्दोलनमा त्यतिखेर टुटफुटको अवस्था थियो र म स्वतस्फूर्त रूपमा अघि बढिरहेको थिएँ ।

माथि नै बताई सकेँ विद्यालयको नोकरी मेरो बाहिरी पेसा थियो, भित्री उद्देश्य राजनीति नै थियो । तर त्यतिखेर मुलुकमा लागु भएको फासिष्ट पञ्चायती व्यवस्थाले हामीलाई खुलेआम राजनीति गर्ने छुट नदिँदा भूमिगत रूपमा काम गर्नुपर्थ्यो । निश्चित विश्वाशीला व्यक्तिहरूबाहेक अरुसँग खुलेआम राजनीतिक कुराकानी गर्न सकिने वातावरण थिएन । तर विद्यालयमा पढाउने प्रायजसो शिक्षक साथीहरू वामपन्थी हुनाले हामी एकआपसमा निर्धक्क कुराकानी गर्दथ्यौँ । छलफल गरिरहेका बेला यदि नयाँ नौला अथवा भिन्न विचार बोकेका मानिस आएमा प्रसङ्ग बदल्ने गर्दथ्यौँ ।
छिमेकका विद्यालयमा हामीसँग विचार मिल्ने धेरै साथीहरू हुनुहुन्थ्यो, जोसँगको भेटघाट र छलफल तनहुँ जिल्लामा मेरो सुरुको राजनीतिक गतिविधि बन्यो । मेरो सम्पर्कका साथीहरू वामपन्थी भए पनि निश्चित पार्टीको मातहतमा रही काम गर्ने कोही थिएनन् ।
हामीले लामो समयसम्म अन्तर्क्रिया र बहस चलायौँ र स्थानीय तवरमा काम गर्ने एउटा राजनीतिक संयन्त्रको निर्माण गर्यौँ । तर त्यो लामो समयसम्म रहिरहन सकेन । त्यही संयन्त्रमा सम्लग्न खैरनी माध्यमिक विद्यालयका नेपाली शिक्षक शेषमणि आचार्यसँग वैचारिक छलफलको क्रममा मेरो निकटता बढ्यो । उहाँलगायत लमजुङ र तनहुँका केही साथीहरू एउटा भित्री राजनीतिक सङ्गठनमा आबद्ध छन् भन्ने कुरा काठमाडौँमा अध्ययनरत हुँदाखेरि नै चाल पाएको थिएँ । सरसङ्गतबाट उहाँहरूका व्यवहार र आचरण मलाई राम्रै लाग्यो र उहाँहरू आबद्ध सङ्गठन के कस्तो रहेछ भनी बुझ्ने जिज्ञाशा मनमा थियो । पढाइ छाडी गाउँ पसेको डेढ दुई वर्ष बितिसक्न थालेकाले एउटा उपयुक्त पार्टी सङ्गठनमा आबद्ध भई जिम्मेवार ढङ्गले राजनीतिक काम गर्ने इच्छा मेरो थियो ।
सुरुमा लामो समयसम्म त क. शेषमणिले पार्टी सङ्गठनबारे केही बताउनु भएन । पछि बिस्तारै कुरा खोल्दै जानुभयो । उहाँहरू क. श्यामप्रसादको नेतृत्वमा गठित भूमिगत राजनीतिक सङ्गठन “नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)” मा आबद्ध हुनुहुँदो रहेछ । क. शेषमणि विचारमा परिपक्क हुनुहुन्थ्यो । यसमा आबद्ध अन्य शीर्षस्थ कमरेडहरूमा रामप्रसाद अधिकारी, छविचन्द्र ढकाल र रामबहादुर अधिकारी हुनुहुन्थ्यो । सङ्गठित हुनका लागि आश्रयको खोजीमा भड्किरहेको म आखिर यही सङ्गठनमा आबद्ध हुन पुगेँ । मेरो राजनीतिक जीवनमा यो नै पहिलो सङ्गठित पार्टी भयो ।
पार्टी गठनको ऐतिहासिक पृष्ठभूमि
नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी) कुन परिस्थितिमा के कति कारणले गठन भयो भन्नेबारे संक्षेपमा प्रकाश पार्दा उपयुक्त होला । मेरो जानकारीमा आएअनुसार जब देशमा राजा महेन्द्रले निर्वाचित संसदलाई भङ्ग गरी पार्टीमाथि प्रतिवन्ध लगाएर निरङ्कुश राजतन्त्रको थालनी गरे, त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलन फुट र विभाजनले ग्रस्त बन्यो । भारतको बनारसमा सन् १९६२ (२०१९) मा तेस्रो महाधिवेशन गरेर पार्टीलाई शाही तावेदारीमा लैजान खोज्ने रायमाझीलाई निष्कासन गरे पनि फेरि तुलसीलाल र पुष्पलाल दुई नेता बिच सैद्धान्तिक सवालमा मतभेद उत्पन्न भयो, जुन मतभेद नेपालभित्रकै घटनाक्रमलाई लिएर नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको विभाजनको असर थियो ।
सोभियत सङ्घको कम्युनिस्ट पार्टीले ‘शान्तिपूर्ण सङ्क्रमण’ र ‘शान्तिपूर्ण सहअस्तित्व’ को मार्गको वकालत गर्दै संसदीय बाटोबाट पनि समाजवादमा जान सकिने मार्ग अवलम्बन गरेकोमा चिनियाँ कम्युनिस्ट पार्टीले त्यसको विरोध गर्यो । सोभियत सङ्घ र चीन बिचको यस द्वन्द्वका कारण विश्वका कम्युनिस्टहरू सोभियत धुरी र चिनियाँ धुरी गरी दुई धुरीमा विभाजित भए । नेपालमा पनि महासचिव चुनिएका तुलसीलाल ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यक्रमको आवरणमा सोभियत धुरीको नजिक हुन पुगे भने पुष्पलाल चीनले अपनाएको जनवादी क्रान्तिको पक्षमा उभिन पुगे । महाधिवेशनमा तुलसीलालद्वारा प्रस्तुत विचार पारित भएकाले उनी नै महासचिव बने । नेपालको कम्युनिस्ट आन्दोलनमा यो निकै अप्ठेरो अवस्था थियो । पार्टीभित्रको राजावादी गुटलाई बढारे पनि पार्टी फेरि दुई वैचारिक समूहमा विभाजित भयो ।
पुष्पलालले नेतृत्व गरेको समूहले सन् १९६८ (वि.सं. २०२५) को मई महिनामा तेस्रो सम्मेलन गरी जनवादी कार्यक्रमको आधारमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने प्रयास गरेपछि यो कम्युनिस्ट आन्दोलनको मूलधार त बन्यो तर त्यतिखेर चारैतिर अराजकता उत्पन्न भएकाले राष्ट्रियस्तरमा पुष्पलालको नेतृत्व स्थापित हुन सकेन । उनले नेपाली काङ्ग्रेससँग सहकार्य गरी निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने कार्यनीति ल्याएकाले काङ्ग्रेसपरस्तको आरोप लाग्यो । तल्ला कमिटीहरूले केन्द्रसँग विद्रोह गरी आफूलाई स्वतन्त्र घोषणा गर्न थाले । केन्द्रबाट विद्रोह गरी अलग्गिने समूहको सङ्ख्या निकै भयो । यही परिवेशमा केन्द्रसँगको सम्पर्क तोडेको वागमती प्रान्तीय कमिटीले सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता बनाउने उद्देश्यका साथ ‘नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)’ लाई जन्म दिएको हो । यसको नेतृत्वमा श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, शान्तदास मानन्धर आदि हुनुहुन्थ्यो । यस पार्टी सङ्गठनले माओत्सेतुङ विचारलाई मार्गनिर्देशक मानी किसान समुदायको बिचमा व्यापक राजनीतिक कार्यलाई अघि बढाउने र गाउँमा आधार स्थापना गरी सशस्त्र जनयुद्ध सञ्चालन गरी जनवादी क्रान्ति पूरा गर्ने कार्यदिशा अवलम्वन गर्यो ।
पार्टीको भूमिगत कार्यशैली
जिल्लामा हाम्रो पार्टी सङ्गठनको कार्यशैली अति नै भूमिगत थियो । हामी निकै सतर्कताका साथ चल्थ्यौँ । पञ्चायती दबदबा भएको समयमा काम गर्नुपरेको र कतिपय हिजोका आफ्नो भनिएका व्यक्तिहरू सरकारलाई सूचना दिने जासूसमा परिणत भएकाले पार्टीले यस्तो कार्यशैली अवलम्वन गरेको हो ।
हामीमाझ बढीमात्रामा प्रचारित भएका लेखहरू ‘इण्डोनेसियाली कम्युनिस्ट पार्टीको स्वआलोचना’, ‘भेनेजुएलाको कम्युनिष्ट पार्टीको अठार वर्षे अनुभव’ आदिले हामीलाई पार्टी काम गर्दा निकै होशियारीपूर्वक चल्नुपर्छ भनी सचेत गराएका थिए । इण्डोनेसिया र चिलीमा संसदीय अभ्यास गर्ने कम्युनिस्ट पार्टीहरू कसरी सैनिक तानाशाहरूका सिकार भए भन्ने खालका लेख र सामग्रीले हामीलाई निकै चनाखो बनाएका थिए ।
आफूभन्दा बाहिरका कसैलाई पनि हामीले सङ्गठनको नाम बताउदैनथ्यौँ । कतिपय व्यक्तिहरू हामीमाझ आई राजनीतिक छलफल र भेटघाट गर्दथे, आफ्ना पार्टीका दस्तावेज दिन्थे र त्यसको बदलामा हामी कसरी चलिरहेका छौँ भनी बुझ्न खोज्दथे । तर हामी तिनलाई केही बताउन्नथ्यौँ । यद्यपि हाम्रो राजनीतिक आचरण, बोलिचाली, सैद्धान्तिक स्तरआदिको अध्ययनबाट उनीहरू हामीलाई कहीँ न कहीँबाट सञ्चालित छन् भनी लख काट्दथे । कतिपयले त हामीलाई आफ्नो पार्टीमा तान्न बल पनि गर्दथे ।
मेरो आफ्नो कुरा गर्दा बाचस्पति देवकोटा र चित्रबहादुर केसीले चौँथो महाधिवेशन समूहमा आबद्ध गराउन निकै प्रयास गरेका थिए । गण्डकी विद्यार्थी परिषद्को अध्यक्षमा हुँदादेखि नै बाचस्पतिसँग मित्रता कायम भएको थियो । चित्रबहादुरजीसँग मैले गलकोट माध्यमिक विद्यालयमा सँगै पढाएको थिएँ । कोओर्डिनेशन केन्द्रबाट विकसित भएर बनेको नेकपा (माले) को तर्फबाट गण्डकी अञ्चलको राजनीतिक काम हेर्ने वामदेव गौतमले पनि मलाई प्रभावमा लिने प्रयास गरेका रहेछन् । उनी त्यतिखेर मेरो सामु आफ्नो वास्तविक नामले परिचित थिएनन् । पछि उनीसँग एउटै पार्टीमा काम गर्न थालेपछि बेग्लै नामले परिचय भएको रहेछ र हामी बिच राजनीतिक छलफल भएको रहेछ भन्ने कुरा उनैले भनेपछि मात्र थाहा पाएँ । एउटा पार्टीमा जोडिइसकेकाले उनीहरूसँगको सहकार्यलाई मैले खासै प्राथमिकतामा राखिन । आखिर हामीबाट खासै सूचना नपाएपछि भन्दा भूमिगत भन्ने तर सतहमै गतिविधि सञ्चालन गर्ने कम्युनिस्ट दलहरूले आफ्ना दस्तावेजमा हामीलाई ‘अति गोप्यतावादी’ समूहमा राखी हाम्रो अस्तित्वबारे प्रकाश पार्ने काम गरे ।
गण्डकी अञ्चलमा हाम्रो प्रभावमा रहेका क्षेत्रहरू कास्की, तनहुँ, लमजुङ, गोरखाको पश्चिमी भेग र स्याङ्जाका पूर्वी भेग थिए, जहाँ हामीले विभिन्न तहका कमिटीहरू निर्माण गरेका थियौँ । गोपनीयता कायम रहोस् र सेल्टरहरूको विकास होस् भनी हामीले मजदुर र गरिब किसान वर्गमा सिङ्गो परिवार बिचको कामलाई प्राथमिकता दिएका थियौँ । माथि नेतृत्वसँगको सम्पर्क माध्यम क. शेषमणि हुनुहुन्थ्यो । साह्रै भूमिगत भएकाले नेतृत्वसम्बन्धी सबै कुराबारे हामीलाई जानकारी थिएन । गण्डकी अञ्चलमा काम गर्ने हाम्रो पार्टीका अन्य अगुवा कमरेडहरूमा छविचन्द्र ढकाल, रामप्रसाद अधिकारी, रामबहादुर अधिकारी, हरि श्रेष्ठ, कमलमोहन पौडेल, टेकनाथ पौडेल, शुक्रराज सापकोटा, इन्द्रबहादुर नेपाली, श्यामलाल श्रेष्ठ, शुकनारायण श्रेष्ठ, नारायण परिश्रमी, विद्या ढकाल, शिवशंकर पौडेल, रामबहादुर तामाङ आदि हुनुहुन्थ्यो । हाम्रा पार्टीका दस्तावेजहरू लिखित रूपमा आउँथे र ती बडो कडाइका साथ पार्टी सदस्यहरूमाझ मात्र वितरण गरिन्थे । वितरण गरिनुपर्ने प्रतिहरू राम्रो अक्षर भएका शिक्षक, विद्यार्थी र बुद्धिजीवीहरूलाई सार्न लगाइन्थ्यो ।
राजनीतिक तथा साङ्गठनिक कार्य
म पेसाले शिक्षक थिएँ । मैले २०२८ सालदेखि २०३२ सालसम्म गाउँ फर्कोदय मावि ढोरफिर्दीमा र २०३२ सालदेखि २०३८ सालसम्म थर्पुको मिन व्यावसायिक माध्यमिक विद्यालयमा अध्यापन कार्य गरेँ । हाम्रो क्षेत्रका पार्टी सङ्गठनमा कार्यरत अन्य नेतृत्वदायी तहका कमरेडहरू पनि यस्तै कुनै न कुनै पेसा व्यवसायमा सम्लग्न हुनुहुन्थ्यो । तर पेसा व्यवसाय हाम्रा लागि केवल बाहिरी आवरण थियो । कार्यालय समय बाहेकको हाम्रो धेरैजसो समय पार्टी कार्यमा नै बित्दथ्यो । पेसा व्यवसाय हाम्रो लागि आम्दानीको स्रोत र एक किसिमले बाहिरी सुरक्षा कवच थियो । प्रशासनको दृष्टिमा हामी शिक्षक कर्मचारी थियौँ भने पार्टीका लागि होलटाइमर कार्यकर्ता थियौँ । अक्सर विद्यालयमा बढी छुट्टी हुने हुँदा यो परिस्थिति विद्यार्थीका लागि प्रतिकूल भए पनि पार्टी कामका लागि अनुकूल थियो । जनवादी क्रान्तिका आधारभूत वर्ग भएकाले हामीले विशेष गरी मजदुर र गरिब किसानमाझको वैचारिक तथा साङ्गठनिक कामलाई बढी जोड दियौँ । तर मध्यम वर्ग र निम्न मध्यम वर्गका किसान, विद्यार्थी, शिक्षक कर्मचारी आदि बिचको कामलाई पनि छोडेनौँ ।
ढोरफिर्दीमा पढाउँदा शनिवार र अन्य विदाका दिनमा एक न एक साथी लिएर म राईपुर, लामागाउँ, भिमाद, किहुँ बडरभन्ज्याङ, राङरुङ, कोखे, भानुमति, उदेन ढुङ्गा, ग्यारसिंह आदि गाउँमा जान्थेँ । विद्यालय चल्दाका बखत निवास वरपर किसान र मजदुरका वस्तीमा गइन्थ्यो । दुलेगौँडा र बेलचौताराको उत्तरतिर रहेको धानखेतमा हिउँदमा ईँटा बनाउने काम हुन्थ्यो । त्यहाँका भट्टामा काम गर्ने मजदुरहरूकहाँ हामी नियमित रूपमा जाने गर्थ्यौँ । हामीले पहिले सङ्गठित गरेका अगुवा मजदुरहरूले बाहिर कुरा नचुहाउने, आचरण राम्रो भएका, साहुहरूसँग साँठगाँठ नगर्ने र लागुपदार्थको सेवन गरी नमात्ने मजदुरहरू छानी हाम्रो सम्पर्कमा ल्याउँथे र तीमाझ हामीले सुरुमा राजनीतिक कक्षा सञ्चालन गथ्यौँ र पछि कमिटीमा आबद्ध गर्थ्यौँ । हामी राति अबेरसम्म मजदुरमाझ काम गर्दथ्यौँ र उज्यालो हुनुभन्दा अगाडि नै आफ्ना वासस्थानमा फर्कन्थ्यौँ । यस क्रममा कतिपटक हाम्रो जम्काभेट वनका बाघ भालुसँग हुनेगथ्र्यो । ईँटा भट्टाका मजदुरका झोपडीलाई हामीले पार्टी दस्तावेजहरू राख्ने काममा उपयोग गर्दथ्यौँ । ती हाम्रो निम्ति माथिल्लो तहका कमरेडहरूलाई राख्ने सेल्टर पनि थिए । सेल्टरहरूमा खानपिनको व्यवस्था गर्दा लाग्ने खर्च हामी कमिटीको कोषबाट जुटाउँथ्यौँ । जनतालाई भार हुने गरी चल्न हुन्न र तिनबाट सियो र धागोसम्म पनि लिन हुन्न भन्ने हाम्रो मान्यता थियो ।
पछि थर्पुको मिन हाइस्कुलमा सरेपछि साँगे, रिसिङ, छाङ, मनपाङ, दमौली, काहुँ, भीरकोट, बन्दीपुर, डुम्रे–भन्सार आदि ठाउँहरू मेरा विचरणका क्षेत्र बने । थर्पुको म्याग्दे उपत्यकामा आएपछि म गरिब र निम्न मध्यम किसानमाझको काममा बढी लागेँ । समय समयमा हली आन्दोलन उठाउने र मुजुरी बढाउने काममा हामीले सक्रिय भूमिका खेल्यौँ र गाउँमा जग्गा नापी गर्न डोर आएका बेलामा सुकुम्वासी वस्तीका भूमिहीन किसानलाई आफू बसेको जमिन दर्ता गर्न सङ्गठित रूपमा दबाब दिन लगायौँ । सङ्घर्षका यस्ता कार्यबाट आफ्नो हकअधिकारका लागि सङ्गठित रूपमा आफैँ जुध्नु पर्ने रहेछ भन्ने चेतना किसानहरूमा पलायो ।
वैचारिक कार्य
आजभोलि पार्टीहरूमा जनतालाई भेला गरी भाषणद्वारा प्रशिक्षित गर्ने र अगुवाहरू छानेर कमिटीमा सङ्गठित गर्ने परम्परा छ । पार्टी स्कुल चलाउने भनिए पनि त्यसमा खासै ध्यान दिने गरिएको छैन । तर त्यतिखेर हामीले सम्पर्कमा आएका व्यक्तिलाई सङ्गठनमा आबद्ध गर्नुभन्दा पहिले वैचारिक खुराक प्रदान गर्ने गर्थ्यौँ । हामीले आफूले अध्यापन गर्ने विद्यालयका निम्न मध्यम र मध्यम वर्गका क्रान्तिकारी शिक्षक, विद्यार्थीहरू छानेर तिनलाई एकएक गरी भित्री कक्षा लिएर मार्क्सवादी साँचोमा ढाल्ने प्रयास गर्दथ्यौँ । तिनलाई कहिले एक्लै कहिले समूहमा राजनीतिक कक्षाहरू सञ्चालन गर्दथ्यौँ । माथिल्लो वर्गबाट आएकाहरूले वर्ग परिवर्तन गर्नुपर्छ भन्नेमा हामी सचेत थियौँ । वर्ग परिवर्तनको मतलब थियो आफ्नो जीवन पद्धतिलाई सर्वहाराकरण गर्नु । मार्क्सवादको गहिरो ज्ञान र त्यसको व्यावहारिक प्रयोगबाट मात्र यो सम्भव थियो ।
हाम्रो सम्पर्कमा आएका मजदुरहरू जो सामान्य पढ्न लेख्न जान्दथे, तिनलाई अध्ययन गर्न राजनीतिक पुस्तक र पत्रपत्रिका दिने गर्थ्यौँ । ज्ञान हासिलका निम्ति सजिलोबाट असजिलोतर्फ, सतहबाट गहिराइतर्फ र नजिकबाट टाढातर्फ शिक्षार्थीलाई डोर्याउनु पर्छ भन्ने मान्यतालाई हामीले पछ्याएका थियौँ ।
कोरा मजदुरहरूमाझ अत्यधिक प्रचारप्रसार गरिने सामग्री ‘माकुरो र झिँगा’ भन्ने सानो पुस्तिका थियो । त्यसमा माकुराले कसरी जाल थापेर निर्दोष झिँगालाई जालमा पारेर रस चुस्छ भन्ने कुरामार्फत् समाजमा कसरी शोषक सामन्त र पुँजीपतिले किसान-मजदुरको श्रम हडप्छन् भन्ने कुरा देखाइएको थियो । जनजाति समुदायबाट आएका मजदुरहरूलाई तिनकै मातृभाषामा लेखिएका क्रान्तिकारी कथा र लेखहरू पढ्न दिने गर्दथ्यौँ ।
हामीले विभिन्न तहका पाठ्यसामग्री जम्मा गरी तहअनुसारको पाठ्यक्रम तयार पारेका थियौँ । राजनीतिमा चासो लिने प्राथमिकस्तरका महिलाहरूमाझ प्रचार गरिने सामग्रीहरू बहिनीलाई चिठी, रातो लालटिन, ल्यू हुलान, साचियापाङ, तरुनी छोरीसित आदि थिए । युवाहरूमाझ प्रचार गरिने सामग्रीहरूमा न्यूगेन भ्यान ट्रोइ, ओयाङ हाइको गीत, बोइ (गीति काव्य), पचास रुपियाँको तमसुक (नाटक), अजम्मरी गाउँ (उपन्यास), मार्क्सवादको प्रारम्भिक ज्ञान आदि थिए । राजनीतिक स्तर उठेकाहरूलाई गोर्कीको उपन्यास आमा, माओका रचनाहरू, लुशुनका निवन्धहरू, लेनिनका रचनाहरू, श्यामप्रसादको निबन्ध सङ्ग्रह ‘तँ तिमी तपाईँ हजुर’, कम्युनिस्ट पार्टीको घोषणापत्र, चे गुभाराको डायरी आदि अध्ययन गराउँथ्यौँ । म आफैले जीवन नेपालीको उपनामबाट लेखेको पुस्तक ‘मानिसको समाजका विभिन्न जुगहरू’ र दिनेश कुमालको नामबाट मेरो अनुवादित कृति ‘चीनका दुई कथा’ र क. शेषमणिले लेख्नुभएको पुस्तक ‘समाजवादबारे केही कुरा’ आदि पनि पठनीय सामग्री थिए ।
क.श्यामप्रसादबाट प्रशिक्षित हुने अवसर
पार्टी सङ्गठनमा समय समयमा श्यामप्रसादजीका निर्देशनहरू पाइए पनि अथवा उहाँका नवीनतम कृतिहरू अध्ययन गर्ने अवसर मिले पनि लामो समयसम्म उहाँसँग भेट हुन पाएको थिएन । विशेष सेल्टरको व्यवस्था गरी उहाँलाई हाम्रो कार्यक्षेत्रमा ल्याउने योजना बनाए पनि त्यो काम हुन सकेको थिएन । उहाँभन्दा तलका कमरेडहरूलाई त समयसमयमा ल्याउने लैजाने कार्य गरिएकै थियो । जब म कीर्तिपुर कलेजमा बि.एड. तालिममा काठमाडौँ गई एक वर्ष बस्नुपर्यो, त्यतिखेर मात्र क. शयामप्रसादसँग भेट गर्ने मौका मिल्यो । काठमाडौँमा सानोतिनो नोकरी गरी बस्ने भोजपुरका शिव श्रेष्ठसँग हाम्रो पार्टी सङ्गठनमा आबद्ध क. हरि श्रेष्ठको माध्यमबाट सम्पर्क भयो । हामीसँग जोडिनुपूर्व उहाँ नेकपा (माले) का कार्यकर्ताहरूको सम्पर्कमा हुनुहुन्थ्यो । तर त्यतातिर सङ्गठित भने भइसक्नु भएको थिएन । मैले उहाँसँग केही महिना राजनीतिक सहकार्य गरेँ र क. हरि र मेरो प्रयासबाट उहाँ हाम्रो सङ्गठनमा आबद्ध हुनुभयो । उहाँको ज्ञानेश्वरको दुई कोठा भएको निवासलाई नै हामीले क. श्यामप्रसादलाई राख्ने सेल्टरको रूपमा विकास गर्यौँ ।
क. श्यामप्रसादलाई ल्याउने दिन हाम्रो योजनाअनुसार क. शिवको डेरा नजिकै तोकिएको गल्लीमा साँझपख म उहाँलाई लिन गएँ । उहाँ र मेरो बिचमा परिचय हुनका लागि सम्पर्क गराइदिने कमरेडले दुई जना व्यक्तिहरू के कस्तो पोशाकमा आउँछन् र भेट्दा ‘के भनी सोध्दछन्’ भनी साङ्केतिक कोड दिनुभएको थियो । यसरी नै मैले त्यतिखेर लगाउने पोशाक र मैले दिने जवाफबारे उतापट्टि जानकारी गराइएको थियो । दिइएको कोडअनुसार दुवै पक्षले अभिनय गरेपछि एक अर्कोलाई चिन्यौँ । क. श्यामप्रसादलाई साइकलमा ल्याउने साथी त्यही ठाउँबाट फर्कनुभयो । हामी दुई जना सँगै क. शिवको कोठातिर लाग्यौँ । सुरुमा केही समय हामीले परिचयात्मक कार्यक्रम सञ्चालन गर्यौँ । बसाइ र भेटघाटबारे मोटामोटी योजना बनायौँ । त्यसपछि क. श्यामप्रसादलाई क. शिव र उहाँकी श्रीमती क. मनको जिम्मामा छोडी म आफ्नो निवासमा फर्किएँ ।
उक्त सेल्टरमा एक हप्ता बसी क. श्यामप्रसादले विभिन्न कमरेडहरूसँग भेट्नुभयो र पार्टीका कामहरू गर्नुभयो । मलाई उहाँले त्यतिखेर तीन–तीन घण्टा गरी दुई दिन भेट्ने समय दिनुभयो । मैले उहाँसँगको भेटघाटबाट धेरै जिज्ञासा मेट्ने काम गरेँ । जुनबेला मैले उहाँलाई भेटेँ, उहाँको उमेर त्यस्तै ५०–५५ को हुनुपर्छ । कपाल तिल-चामले थियो, हेर्दा न त भर्खरको युवा न त वृद्ध । उहाँ अधबैँसे उमेरको हुनुहुन्थ्यो । भूमिगत अवस्थामा पनि पुष्ट अनुहार भएको स्वस्थ देखिनुहुन्थ्यो । कुराकानी र छलफल गर्दा प्रत्येक घण्टाको अन्तरालमा उहाँले ५ मिनेट व्यायाम गर्नुहुन्थ्यो । बाहिरी संसारमा घुमफिर गर्ने जो कोहीका लागि उक्त क्रियाकलाप केही अनौठो लागे पनि लामो समयसम्म कोठामा बसी भूमिगत जीवन बिताउनेका लागि त्यो नितान्त आवश्यक थियो ।
काठमाडौँमा रहुन्जेल फेरि दुई पटक र काठमाडौँबाट गाउँ फर्केपछि तीन पटक गरी मेरो क. श्यामप्रसादसँग भेटहरू भए । यी भेटहरूबाट मैले दर्शन, राजनीति, सङ्गठनात्मक काम आदिबारे थुप्रै कुराहरू सिक्ने मौका पाएँ र कतिपय सवालमा आफूलाई सुधार्ने मौका पनि पाएँ । कुनै कुनै सवालमा मैले उहाँसँग फरक मत पनि राख्थेँ । उहाँलाई मैले राखेका सवाल गलत छन् भन्ने लाग्दा धैर्यसाथ सम्झाउनुहुन्थ्यो भने सही भएमा स्वीकार्नुहुन्थ्यो । एक पटक म काठमाडौँमा परिवारसहित जाँदा मेरी श्रीमती इन्दु र छोराहरू सबै जनालाई भेट दिनुभयो । मानिसको जस्तो स्तर छ, त्यही अनुसारको राजनीतिक कुराकानी गर्ने उहाँको शैली थियो । इन्दुसँग उहाँले बढीमात्रामा महिला हक अधिकार र महिला आन्दोलनबारे चर्चा गरेको जानकारी भयो । त्यतिखेर मेरा छोराहरू सानो उमेरका थिए । ठुलो बाबु बिमल ६ वर्षका र सानो बाबु उत्तम ४ वर्षका थिए । मेरा छोराहरूलाई पनि आधा घण्टाको समय दिएर हाम्रै उपस्थितिमा रमाइलो पाराले के गर्न हुन्छ र के गर्न हुँदैन भनी शिक्षा दिने काम गर्नुभयो । परिवारका सबैजनालाई उनीहरूको तह र अवस्था हेरी विचारधारात्मक खुराक दिएर आफ्नो साँचोमा ढाल्नुपर्छ भन्ने उहाँको मान्यता थियो । हामी कतिपय साथीहरूलाई भेट्न जाँदा जोसँग भेट्नु पर्ने हो उससँग मात्र कुरा गर्छौँ र परिवारका अन्य सदस्यलाई बेवास्ता गर्छौँ । यो शैली गलत रहेछ भन्ने कुरा मैले क. श्यामप्रसादबाट सिकेँ ।
पार्टी कार्यमा निष्क्रियता र नेकपा (एमाले) मा प्रवेश
पार्टीमा आबद्ध भएपछि सुरुका वर्षहरूमा बडो सक्रियताका साथ मैले पार्टी कार्यमा भाग लिएँ । तर जब म तनहुँबाट पोखराको तालबाराही माध्यमिक विद्यालयमा सरुवा भई कास्की जिल्लामा कार्यरत भएँ आफ्नो पार्टी सङ्गठनको गतिप्रति चित्त बुझेन । राजनीतिमा खतरा पनि मोल्नुपर्ने हुन्छ । हामी सुरक्षित भएर मात्र चल्न खोज्दा हाम्रो काम खुम्चियो । हामीले गतिविधिलाई तीव्र गतिमा अघि बढाउन सकेनौँ ।
हामीले प्रशिक्षित गरेका गाउँका विद्यार्थी सहर बजारका कलेज र युनिभर्सिटी पढ्न जाँदा त्यहाँका खुला विद्यार्थी राजनीतिमा सक्रिय हुन खोजे । त्यहाँ नेकपा (माले) को भातृ सङ्गठनको रूपमा अखिल पाचौँ र चौँथो महाधिवेशन समूहको भातृ सङ्गठनको रूपमा अखिल छैटौँ क्रियाशील थिए । हामीले हाम्रा विद्यार्थी बिच छुट्टै सङ्गठन निर्माण गर्न सकेनौँ । त्यतिखेर चौँथो महाधिवेशन समूह अथवा त्यसबाट बनेका दुईथरी मसाल वा एकता केन्द्र भन्दा नेकपा (माले) सँग हाम्रो सामिप्यता भएकाले आफ्नो पहिचान कायम राख्दै पाचौँमा काम गर्न निर्देशन दियौँ । तर तिनमा काम गर्दा कतिपयले आफ्नो पहिचान कायम राख्न सकेनन्, तिनीहरू स्वचालित रूपमा (Automatically) नेकपा (माले) मा क्रियाशील हुन जाने परिस्थिति बन्यो ।
मैले क. श्यामप्रसादसँगको भेटमा हाम्रो कछुवाको चाल भयो, हामीले समातेका व्यक्तिलाई इमान्दार कम्युनिस्ट बनाउनेबाहेक सङ्गठनको विस्तार गर्न सकेनौँ, त्यसो भएकाले कार्यशैली फेर्नुपर्छ कि भनी कुरा राखेँ । तर त्यसबारे सन्तोषजनक प्रतिक्रिया पाइनँ । पर्खौँ र हेरौँको नीति लिँदालिँदै विस्तारै म पार्टी कामबाट टाढा हुन पुगेँ ।
पार्टीप्रतिको मेरो निराशा विद्यार्थीलाई ट्युशन पढाउने र घरको बिग्रेको आर्थिक अवस्था सुधार्नेतर्फ मोडियो । यही अवधिमा मेरा एकजना बेलायती मित्रको सहयोगमा हर्न बि ट्रष्ट नामक संस्थाबाट छात्रवृत्ति पाई म दुई वर्षका लागि पढ्न भनी बेलायत गएँ र अँग्रेजीमा एम.ए.को डिग्री हासिल गरेँ । ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ कुनै समयमा क्रान्तिका लागि उच्च शिक्षा बहिस्कार गरेको म लामो समयपछि फर्केर फेरि उच्च शिक्षाकै मार्गमा लाग्नु विचलन कै कुरा थियो । यसमा पार्टीलाई दोष दिनुभन्दा आफूभित्रको कमजोरी नै प्रमुख कारण हो भन्ने मलाई लागेको छ । कठिनाइको अवस्थामा धरमर हुने र क्रान्तिको भविष्य नदेख्ने मेरो मध्यम वर्गीय संस्कार नै यसमा जिम्मेवार थियो ।
म बेलायतबाट २०४६ को परिवर्तनपछि स्वदेश फर्केँ । त्यसबेला मुलुक राजनीतमय बनेको थियो । हिजो क्रान्तिकारी क्रियाकलापप्रति बेवास्ता गर्नेहरूका नशानशामा पनि राजनीति प्रवाहित भएको देख्दा मलाई अचम्म लाग्यो । यस्तो परिस्थितिमा हिजो कठीन अवस्थामा राजनीतिक गतिविधिमा लागेको म चुप लागेर बस्न सक्ने कुरा थिएन । वरिपरिका जनताले मबाट नेतृत्वको अपेक्षा पनि गरे । म फेरि राजनीतिक क्रियाकलापमा सक्रिय हुन थालेँ । तर राजनीतिक गतिविधि गर्न छुट भएको त्यस अवस्थामा पनि हाम्रो पार्टी सङ्गठनले आफ्ना गतिविधि बाहिर प्रकट गरेन । राजनीतिक स्वतन्त्रता भएको त्यस अवस्थामा पनि पार्टी कार्यलाई वैधानिक रूप दिने काम नेतृत्वले गरेन । परिणामस्वरूप २०४८ सालको आम निर्वाचनमा म आफू एमालेको पार्टी सदस्य नभए पनि त्यसका उमेदवारलाई जिताउनपट्टि लागेँ । अन्य ठाउँमा पनि हाम्रा पार्टी सङ्गठनका साथीहरू स्वेच्छाले विभिन्न वाम पार्टीका गतिविधिमा भाग लिन पुगे ।
यस्तैमा नेपाली काँग्रेसको सरकारले सरकारी विद्यालयमा आफ्नो एकतर्फी व्यवस्थापन समिति बनाउँदा म प्रधानाध्यापक रहेको तालबाराही माध्यमिक विद्यालयमा मेरै नेतृत्वमा त्यस विरुद्ध आन्दोलन भयो, जसमा मैले एमालेसँग सहकार्य गर्नुपर्यो । एमालेको सदस्य नभए पनि म बाहिरफेर त्यसको कार्यकर्ताको रूपमा प्रचारित भएँ । यस्तो परिस्थितिमा मैले एमालेमा प्रवेश गरेरै काम गर्ने मनस्थिति बनाएँ र यो जानकारी क. शेषमणिलाई दिएँ । तर उहाँले ‘केही दिन नहतारिनोस् हाम्रा अन्य साथीको पनि त्यस्तै चाहना देखिन्छ, सल्लाहले जानपरे सबै सँगै जाउँला’ भन्नुभयो र नेतृत्वसँग सल्लाह गरेर त्यतिखेरका एमालेका अञ्चल इन्चार्ज वाचस्पति देवकोटासँग एकताबारे छलफल चलाउनुभयो । हामी क. श्यामप्रसादको नेतृत्वमा सञ्चालित नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी) का कास्की, तनहुँ, लमजुङका कार्यकर्ताहरू क. शेषमणिको नेतृत्वमा ‘किसान मजदुर सभा’ को आवरणमा बिना सर्त एमालेमा प्रवेश गर्यौँ । त्यतिखेर एमालेलाई सच्चा कम्युनिष्ट पार्टी मानेर र त्यसका कार्यक्रम मन पराएर हामी प्रवेश गरेका थिएनौँ । भित्री रूपमा आफ्नो पहिचान कायम राख्दै त्यस पार्टीलाई बाहिरी गतिविधिको थलो बनाउने सामूहिक सोच हामीमा थियो । जसरी साउथ अफ्रिकामा नेलशन मण्डेलाको अफ्रिकन नेशनल काङ्ग्रेस पार्टीलाई त्यहाँको प्रतिबन्धित कम्युनिस्ट पार्टीले बाहिरी मञ्चको रूपमा प्रयोग गरेको थियो, त्यसरी नै एमालेलाई आश्रय स्थलको रूपमा प्रयोग गर्ने र विशेष छुट्टै गतिविधि सञ्चालन गर्ने हाम्रो विचार थियो । हामीले पोखराबाट लगातार ३ अङ्कसम्म प्रकाशन गरेको वैचारिक पत्रिका ‘संचेतना’ यही उद्देश्यको परिणाम थियो । तर एमालेमा आ-आफ्ना ढङ्गले काम गर्दा हामी आज विभिन्न बाटा लागेका छौँ । एमालेमा कार्यरत हाम्रा कमरेडहरूमध्ये कोही त्यहीँ हुनुहुन्छ, कोही बाहिर निस्केर स्वतन्त्र वामपन्थी बन्नुभएको छ, कोही माओवादीमा पुग्नुभएको छ त कोही माओवादीमा केही समय रहेपछि फेरि स्वतन्त्र बन्नुभएको छ । म भने यतिखेर नेकपा (माओवादी केन्द्र) मा आवद्ध छु ।
क. श्यामप्रसादसँगको नियमित सम्पर्क र पत्राचार
एक पार्टीबाट अर्को पार्टीमा जाने सवालमा हामीले उदाहरणीय सर्वहारा संस्कृतिको नमूना प्रस्तुत गर्यौँ । त्यो के हो भने हामीले छुट्टिने काम खुशीराजीसँग आपसी सल्लाहमा गर्यौँ । कुनै व्यक्ति आफूसँग हुँदा त्यसको बखान गर्ने र छुट्टिएर जाँदा दक्षिणपन्थी, संशोधनवादी, गद्दार आदि पगरी गुथाएर तथानाम गाली गर्ने आम प्रवृत्ति कम्युनिस्ट आन्दोलनको नियति बनेको छ । अपवादस्वरूप हामीमा त्यस्तो कुरा रहेन । हामी एमालेमा कार्यरत रहँदा पनि क. श्यामप्रसादसँग हाम्रो भेट नियमित रूपमा भइरह्यो । खुला भएपछि तीन पटक उहाँ पोखरा आउनुभयो र मकहाँ बस्नुभयो । एक पटक गण्डकी साहित्य सङ्गमको कार्यक्रममा निनुजीसँगै आउनुभयो र दुई दिन बस्नुभयो । हामी फरक ठाउँमा क्रियाशील हुँदा पनि उहाँले समय समयमा हामीलाई पत्र लेखी सल्लाह सुझाव दिने गर्नुहुन्थ्यो । पत्र अक्सर छोटा हुन्थे । भूमिगतकालमा उहाँले मलाई पठाएका पत्रहरू त नष्ट गरेकाले ती उपलब्ध छैनन् । उहाँले २०५२/५३ तिर वैधानिक कालमा मलाई पठाएका तीनवटा पत्रहरू भने सुरक्षित राखेको छु । तीमध्येको एउटा पत्र यहाँ प्रस्तुत गर्दा सान्दर्भिक हुने ठान्दछु ।
काठमाडौं
२०५३/१२/२१
प्रिय रामराजजी,
तपाईँहरूले लामो समयदेखि मप्रति जुन सद्भावपूर्ण व्यवहार गर्दै आउनुभएको छ, त्यसबाट म सधैँ सारै प्रभावित रहँदै आएको छु । गत भेट पनि अत्यन्त उपयोगी लागेको छ । बेलाबेलामा हाम्रो यसै गरी भेटघाट भइरहन पाओस् । परिवारका प्रत्येक व्यक्तिलाई मेरो धेरै धेरै सम्झना सुनाइदिनुहुनेछ ।
टेकनाथजी मार्फत् मार्क्सवादी आश्रमको निम्ति संयोजक समिति आउँदो लेनिन जयन्तीको अवसर पारेर बनाउन लाउन पाए बेस होला । राम्रो काममा किन बियाँलो भइरहन दिने ? सबै साथीहरूबाट उहाँलाई प्रोत्साहित गर्नाका साथै हाम्रोतर्फबाट गर्न सकिने सहयोग पनि गर्दै जाऔँ ।
‘संचेतना’ को निम्ति अनेक अप्ठ्याराहरूसँग जुझ्दै हाम्रो विचारलाई व्यापक पार्दै लैजानेतर्फ जुन प्रयत्न तपाईँहरू मार्फत भइरहेछ, त्यो अत्यन्त महत्त्वपूर्ण छ । यसलाई यसै गरी अगाडि बढाउन हामी सबैले सकेको सघाउ अवश्य पुर्याउनुपर्छ । अहिले २ रचना साथै पठाइरहेछु । हृदयचन्द्रसम्बन्धी किताबको २ प्रति पनि समीक्षार्थ पठाएको छु ।
तपाईँले संचेतनामा प्रकाशित आफ्नो लेखमा अरु मुलुकको मात्र उदाहरण नदिएर नेपालको समेत प्रशस्त उदाहरण दिनुभएको सारै राम्रो हो । यस्तो शैलीबारे साथीहरूलाई पनि सजग पारिरहने गर्नुपर्छ । माओको रचनाको अनुवाद पनि निकै राम्रो छ । तर अनुवादकको नाउँ किन नदिनुभएको होला ? पहिलेका नेताहरू जति सबै वा कार्यकर्ताहरू पनि सबै अब बिग्रिसके वा बिग्रँदैछन् भन्ने भावना जनतामा नपरोस् भनेर पनि हामीले सावधान रहनै पर्ला । जनतालाई एक पक्ष मात्र कहिल्यै हुँदैन, सधैँ दुई पक्ष रहेको हुन्छ भन्ने कुरा बुझाउन सकियो भने उनीहरू भ्रममा पर्ने गर्दैनन् । असल र खराब दुवै थरी तत्त्व सधैँ रहने गर्छन् भन्ने कुरा बुझाउनु पर्छ । त्यसो भए नेता र कार्यकर्ताबारे पनि उनीहरू प्रष्ट रहनेछन् ।
साहित्य-सन्ध्या (पर्सा जिल्ला) ले आउँदो २९ र ३० गते बिरगन्जमा समारोह गर्दैछन् । म पनि निम्तालुहरूमध्ये परेको छु । त्यसैले चाँडै उतातिर जाँदैछु ।
२०५४ सालको निमित्त तपाईँहरूमा सुस्वास्थ्य र कार्यसफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।
तपाईँहरूको
श्यामप्रसाद
यस पत्रमा उल्लेखित टेकनाथ बराल कास्कीका पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । पोखरामा आउँदा हामीले क. श्यामप्रसादसँग उहाँको भेटघाटको व्यवस्था मिलाइदिएका थियौँ र एक रात उहाँकै घरमा रात बिताउनुभएको थियो । कुनै पार्टीमा नलागी स्वतन्त्र रहनुभएकाले मार्क्सवादी आश्रम उहाँको नेतृत्वमा सञ्चालित भएमा राम्रो हुन्छ भन्ने क. श्यामप्रसादको विचार हो । सायद टेकनाथजीले यस्तै आश्रमको प्रस्ताव राख्नुभएको थियो होला । जहाँसम्म ‘संचेतना’ पत्रिकाको सवाल छ, एमालेमा कार्यरत भएकै अवस्थामा हामी हिजो ‘नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)’ मा कार्यरत केही व्यक्ति मिलेर त्यसलाई त्रैमासिक वैचारिक पत्रिकाको रूपमा प्रकाशन गरेका थियौँ । क. श्यामप्रसादले गर्नुभएको टिप्पणी तेस्रो अङ्कका बारेमा हो ।
क. रामराज रेग।मीका यी लेखहरू पनि पढ्नुहोस्ः
अक्टोबर समाजवादी क्रान्ति र वैज्ञानिक समाजवाद
गौरा पर्वः एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण
दशैँको सम्बन्धमा एक ऐतिहासिक तथा भौतिकवादी दृष्टिकोण
नेपाली समाजमा धार्मिक नियतिवाद
(लोक भावना त्रैमासिक (वर्ष १०, अङ्क ३, पूर्णाङ्क ३६, २०७३ पुस-फागुन) मा प्रकाशित)