शिव अधिकारी, shiv adhikari darhi, leftist economist
 

के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी
होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि
लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम
मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम ।

बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी
भन्दैछन् जनता अपूर्व छ यही पाएर मौका पनि
गर्दैनौ जब व्यर्थ हुन्छ बुझ लौ जन्मेर के अर्थ भो
नेतामा मतिभ्रष्ट भो अब यहाँ लाग्दैन कोही उँभो ।

पेवा हो पगरी गुथेर पदको बस्छौ कति के गरी
कसले गर्छ र के भनी भुवनमा बन्दैछु देउता सरी
यस्तै सोच बनाई डाँकुसँग पो नाता लगायौ किन
कस्तो हालतमा छ आज दुनियाँ थाहा छ कि क्यै भन ।

हस्ताक्षर गरेर आफू बलियो भन्ने कति तुक छ
कोरोना विकराल भो भुवनामा मान्छे आतंकित छ
लाग्ने यो घडी एक भई सबजना विर्सेर पार्टी पनि
यस्तो आपत्ति पूर्ण यो समयमा मै हुँ बलियो भनी ।

सिंगौरी किन खेल्नु साथीसँग ख्वै खोजेर जोरी जब
जुध्छौ त सिङ भाँचिने छ सहजै जोड्छौ कसोरी अब
सल्लाह गर साथीकासँग सँधै विद्रोह छाडिकन
कोरोनासँग लड्नु एकजुट भई सक्छौ विजेता हुन ।

हाम्रो देश छ स्वर्गको मधुरिमा सानन्दको कुञ्जन
बज्छन् शंख र घण्ट फेरि तवला मन्दिरमा दिनदिन
केही आपत्तिले छुँदैन सहजै नेपाल हो मन्दिर
समृद्धि अब खेतीमा छ बुझी यही उद्योगी बन्ने गर ।

देऊ साथ किसानलाई अब लौ बिर्सी पुराना कुरा
देशै हुन्छ समृद्ध एकजुट भई खनेर आफ्नै गरा
मौका यो छ सुवर्ण इज्जत जति कमाऊ छाडी अरु
सारा दौलत जे जुट्यो पद मिल्यो बिर्सेर जाऊ बरु ।

देशै बन्दछ भ्रष्ट हेरु नभए बानी सुधारे अब
खेती गर्नु गरा गरा लहलहै होलान् बिरुवा जब
तराईतिर धान झुल्छ सुनको आभा छरेझैँ गरी
देशै हुन्छ सुरम्य स्वच्छ हिउँको माला लगाए सरी ।

बाबाधाम, १८ बैशाख २०७७