शिव अधिकारी, shiv adhikari darhi, leftist economist
 

सफा सुग्घर भै आफू बस्नुपर्छ सँधैभरि
बिहान उठ्नु सबेरै नुहाउनू सफा गरी
हातमुख धुनू फेरी ध्यान योग गरी वरी
खाजा नास्ता लिई खाऊँ बनाएर मीठो गरी ।

धुनुपर्छ सधै आफ्ना लुगाफाटाहरु पनि
फोहोर रोगको बस्ती पखाल्नुपर्छ है भनी
घर करेसी सफा होस् सँधै सुन्दर राख्नू
बाहिरबाट आउँदा हात मुख सधै धुनू ।

चुलो चौका सधै सफा खानु ताजा कुराहरु
मान्छेको साथमा बस्दा होसियार भइरहूँ
भन्ने कुरा कुनै नौलो होइन आज मात्रको
फोहोरसँग होस् त्रास त्यो नै हो बीज रोगको ।

भन्ने कुरा सँधैको हो अहिले मात्र के छ र
किन यो कुर्लिने बाटो बनेको छ सरावर
कोरोना मात्र होइन फोहोरी यदि भो भने
अरु अनेक लाग्नेछन् रोगको घर भइरहने ।

यसैले यो कोरोनाको मात्र हल्ला पछि किन
आऊ सफा र सुग्घरी हुनु पर्दछ दिनदिन
यो लाग्छ व्यापारी हल्ला यसैको भरमा अब
धनी देश धनी हुन्छन् औषधी बेचिँदा सब ।

औषधी प्रविधि सारा उनैको भर पर्नुछ
साग मात्रै लगाउन अल्छी आएर गाँज्दछ
बाँझा छन् बारी ती खेत कति अन्न रऔषधी
फल्दथे बेच्दथ्यौँ त्यही खान्थ्यौँ हामी कुटी पिँधी ।

आज छैन सबै मान्छे खाडी र देश देशमा
बारी करेसा बाँझै छन् फल्दैन मुठी यसमा
यसैले रोगको त्राश कहिले गरिबीको पनि
हामीले भोग्नु भोग्दैछौँ सबै छौँ दुःखमा भनी ।

अहिले बन्द भो सारा कतै चल्न नपाइने
जान आउन क्यै छैन सवारी गड्गडाउने
यस्तो अचम्म भो विश्व ठिकै भो प्रकृति पनि
खुसीले स्वास लिइन्छ धुलो धुँवा हट्यो भनी ।

यसैले भई होसियार आफ्नो काम गरिरहूँ
त्राशमा बस्नु बेकार सफा सुग्घर भैरहूँ
कोरोना जान्छ धोएर हातमुख सँधै भरी
यस्तो संकट आउँछ जीवनमा घरी-घरी ।

काठमाडौँ, नेपाल ।